Comments Add Comment

मार्क्सवाद र साहित्य

प्राज्ञिक पुस्तकको आयु तत्काल मूल्याङ्कन गर्नु गलत हुन्छ

मार्क्सवाद प्रकृतिका नियमलाई बुझ्ने सबैभन्दा वैज्ञानिक दर्शन हो । द्वन्द्वात्मक भौतिकवादले पदार्थ र चेतनाका निर्मितिको सबैभन्दा तथ्यपूर्ण व्याख्या गर्दछ । समाज विकासको गतिलाई यसले विश्वसनीय र तथ्यपूर्ण ढङ्गले विमर्श गर्दछ । सारा प्रकृतिको विकासयात्रा, मानवजातिको विकासयात्रा र उक्त विकासयात्राका सङ्घर्षपूर्ण परिस्थितिको सबैभन्दा उपयुक्त व्याख्या गर्दछ ।

समाजभित्रका अनेक अन्तर्सम्बन्ध र अन्तर्द्वन्द्वको व्याख्याका सम्बन्धमा मार्क्सवाद सबैभन्दा अब्बल र सत्य तथ्यपरक छ । मार्क्सवादले गतिको सुन्दर व्याख्या गर्दछ । यसले व्यक्तिको होइन, वर्गको कुरा गर्दछ, विचारको भन्दा बढी विचारधाराको कुरा गर्दछ जुन व्याख्यामा मानवीय चेतनाका सबै पक्षले अपनत्व र सामूहिकताको महसुस गर्दछन् ।

मार्क्सवादको मिति सिद्धियो भन्नेहरू पनि छन् । ती तिनका दृष्टिमा, तिनका सापेक्षमा ठिकै छन् । ऐतिहासिक भौतिकवादले इतिहासको गतिशीलतालाई जुन ढङ्गले व्याख्या-विश्लेषण गर्दछ, त्यसले समाजविकासको गतिलाई यथार्थपरक ढङ्गले बुझ्न-बुझाउन सक्षम छ । यस्ता अन्य अनेकौँ कारण छन्, जसले मलाई मार्क्सवाद रोज्नका लागि अभिप्रेरित गरेका छन् ।

नेपाली साहित्य तिहास लेखनमा मार्क्सवादी विचारधारा र पद्दतिको प्रयोग कमजोर छ । मार्क्सवादी साहित्य तिहास सिद्धान्त र दर्शनका बारेमा विमर्श नहुनु नै यसको सबैभन्दा मुख्य कारण हो । वैज्ञानिक हुँदाहुँदै पनि किन प्रयोग गरिएन त ? यसका अनेक अन्य कारण हुन सक्छन् ।

मार्क्सवादी हुन कुनै अमूक नामको कम्युनिस्ट पार्टीको सदस्य हुनैपर्ने हाम्रो दृष्टिकोण, मार्क्सवादका बारेमा प्रतिध्रुवबाट गरिएका कुप्रचार र गलत व्याख्या, युरोपेली तथा अमेरिकाली ज्ञानसङ्कथनको मार्क्सवादविरोधी अभियान, हाम्रै मौलिक संस्कृतिमा विद्यमान अवतारवादी अन्ध परम्परा आदि कारणहरू पनि यसमा जिम्मेवार छन् ।

अधिकांश मान्छे विशेष गरी प्राज्ञिक मान्छे सत्ताका पछि दौडिने गर्दछन् । सच्चा मार्क्सवादीहरूले सधैँ सत्तासीनहरूका भन्दा सत्ता, शक्ति र सम्पत्तिका कारण शोषण-दमनमा परेका आम मान्छे (जो इतिहासका सच्चा निर्माता हुन्) का अधिकारका कुरा गर्दछन् । त्यसैले यिनीहरू जहिले पनि नियोजित सत्ताका कोपभाजनमा पर्दछन् । अनेक रूपमा तिनको विद्रुपीकरण गर्ने सत्ता र त्यसका ज्ञानसङ्कथनको स्वभावका कारण अध्येताहरूले मार्क्सवादलाई सबैभन्दा उत्तम सिद्धान्त र दर्शन माने पनि त्यसका अनुयायी बन्न सकेका छैनन् ।

उदाहरणका रूपमा प्रदीप गिरीलाई लिन सकिन्छ । उनले धेरै पटक आफूलाई मार्क्सवादका अनुयायी र व्याख्याता मानेका छन् । तर, नेपालको पार्टी राजनीतिको स्वभावका कारण उनी गैरमार्क्सवादी कित्तामा उभिएका छन् ।

पुस्तक समाज परिवर्तनको आधार हो

पुस्तक समाजको ऐना मात्र होइन, समाज परिवर्तनको एउटा मुख्य कारक हो । पुस्तकमा ज्ञान हुन्छ र त्यसले मान्छेलाई समाजका अनन्त अन्तर्सम्बन्धका बारेमा सचेत बनाउँछ । के पुस्तकको काम सकियो त ! होइन, यति त ‘स्वान्तसुखाय’ का लागि लेख्नेहरूका पुस्तकमा पनि त हुन्छन् नि !

मार्क्सवादीहरूका पुस्तक के यतिले मात्र पूर्ण हुन्छन् त ? पक्कै हुँदैनन् । मार्क्सले भनेजस्तै समाजको व्याख्या-विश्लेषण गर्ने अनेक विद्वान् र तिनका पुस्तक आएका छन् तर मार्क्सवादीहरूले लेख्ने पुस्तकको मुख्य लक्ष्य समाजको परिवर्तन हो ।

नेपाली समाजमा अझै पनि अध्यात्मवादी दर्शनको गहिरो प्रभाव छ । अझै भन्दा ईश्वरवाद वा अवतारवाद हावी छ । ‘मेरो कर्ममा यस्तै लेखेको’, ‘दैवले हेर्छ’, ‘पाप कुर्लिन्छ’, ‘दुःखीलाई ईश्वरको साथ हुन्छ’ आदि कथन आम रूपमा सुन्न पाइन्छ । गरिबी, अभाव, अव्यवस्था, निर्धोपन, शोषण, दमन, अन्याय, अत्याचार आदिको उपचार ईश्वरले गर्ने भए अहिलेसम्म संसारमा ती कुनै पनि अवस्था रहने थिएनन् ।

इतिहासमा कार्यकारण सम्बन्धको ठूलो भूमिका हुन्छ । कारण ईश्वर होइन, सत्ता हो, सामन्तवादी सोच हो, व्यक्तिकेन्द्रित /आत्मकेन्द्रित सोच हो । हामीले जसलाई ईश्वर मानिरहेका छौँ, त्यो सामन्तवादी सत्ताको सिर्जना हो । निमुखाहरूलाई ईश्वर, इहलोक, परलोक, पापपुण्य आदिको जन्जालमा फसाएर सत्तामा टिकिराख्नु यिनको मूल अभीष्ट हो ।

प्राध्यापन र लेखन

म लेखक बन्नका लागि जन्मेको होइन । जन्मेपछि मान्छेको कर्म लेखिने संस्कारमा म विश्वास गर्दिनँ । म लेखक किन बनेँ भने मैले मेरो दिक-कालबाट जे प्रेरणा प्राप्त गरेँ, मैले जीवन र जगत्बाट जे सिकेँ, मैले आफ्नो विषयक्षेत्रको अध्ययन गर्दा जे कुराको अभाव महसुस गरेँ, त्यसैबाट लेख्ने हौसला प्राप्त गरेँ र म लेखक भएँ । प्राध्यापक नभएको भए म केही पनि बन्ने थिइनँ, लेखक नभएको भए म केही पनि बन्ने थिइनँ । मैले मेरो दिक-कालबाट अनुभूति गरेको कुरा यही हो । फेरि पनि म आफूलाई लेखक भन्न तयार छैन ।

लेखक बन्नु र हुनुमा धेरै फरक छ । म लेखक बनेको होइन भएको हुँ । मैले अभावको जीवन धेरै देखेको छु । अभावले मलाई धेरै सताएको छ । ज्ञानको अभाव, ज्ञानसङ्कथनको अभाव, आफू हुनुको अस्तित्वको अभाव । मभित्रको मले मलाई त्यही अभावको झस्को दिइरहृयो कि तेरो भाषामा साहित्येतिहास दर्शन, त्यसमाथि पनि मार्क्सवादी साहित्येतिहास दर्शनको अभाव छ र त्यस अभावलाई भावमा परिवर्तन गर्न तैँले पहिलो डेग चाल्नैपर्छ । मैले त्यस अभावलाई भावमा परिवर्तन गर्नका लागि यस पुस्तकमार्फत पहिलो डेग चालेको हुँ ।

मरिहत्ते गरेर लेखक बन्न सकिँदैन भन्ने कुरामा सदैव मेरो विश्वास रहेको छ । म लेखक बनेको हुँ भन्न चाहन्न तर मलाई मभित्रको बोधले अभावमा भावको सृष्टि गर्नुपर्छ भन्ने चेतना दियो र मैले त्यसलाई लिपिबद्ध गर्न प्रयत्न गरेँ । त्यही नै वास्तविकता हो । भित्र (ऊर्जाहरूको प्रतिफलन) ले चेतनलाई उद्वेलित गर्‍यो र मैले लेख्ने निर्णय गरेँ । यसको पछि पनि म भौतिक कारणलाई नै मुख्य मान्दछु । मेरो चेतनले मलाई नउक्साएको भए यो जटिल र अनन्त विषयमा मैले हात हाल्ने थिइनँ । जे गरेँ मैले मेरो फाइदाका लागि भन्दा मेरो वर्ग, अभावमा रहेको मार्क्सवादी सौन्दर्यको एउटा पाटोलाई, ऐतिहासिक भौतिकवादी दर्शनको एउटा महवपूर्ण पक्षलाई मैले जिस्काउने दुस्साहस गरेको छु । यसलाई मैले कम्तिमा अरू एक दशक साधना गर्ने विषय बनाएको छु ।

नेपाली साहित्यमा पुस्तक प्रकाशनको ट्रेन्ड

सबैले नयाँ कर्ममा साधना गर्नुभएको ठान्छु । किनभने म पनि त्यही कर्ममा छु । यसभन्दा पर गएर मैले अन्य लेखकका बारेमा टिप्पणी गर्नु हुँदैन भन्ने मलाई लाग्छ । नेपाली साहित्यको सुन्दर भविष्य छ । तर, त्यस भविष्यका लागि जगको निर्माण गर्ने भनेकै वर्तमान हो । वर्तमान जति क्षणभङ्गुर छ, त्यति नै महत्त्वपूर्ण छ ।

नेपाली साहित्य लेखन, समालोचना लेखन र साहित्येतिहास लेखनमा जेजस्ता कार्यहरू हुँदै आएका छन्, ती सबै स्तुत्य छन् । यसको अर्थ पूर्ण छन् वा उच्च स्तरीय छन् भन्न खोजेको होइन । लेखन आजका लागि मात्र हुनु हुँदैन । रातारात नाम र दाम कमाउने होडमा लेखिएका पुस्तकका सन्दर्भमा तपाईँको प्रश्न उचित होला । तर ‘कर्म गर्दै जाउँ त्यसको मूल्याङ्कन हुँदै जाला’ भन्ने सोचले अभिनव कार्यमा लाग्ने सम्पूर्ण लेखकहरू मेरा प्रेरणाका स्रोत हुन् । यसर्थ किताबको आयु कति हुन्छ भन्ने कुरासँग मेरो कुनै सरोकार छैन । किताब छापिएपछि अनन्त कालसम्मका लागि त्यो लोक/पाठकको सम्पत्ति हुन्छ ।

कुनै किताबलाई लोकले तत्कालै प्रतिक्रिया दिन्छन् र कुनै किताबका लागि लोकले धेरै पछि मात्र प्रतिक्रिया दिन्छन् । जुन किताबको प्रतिक्रिया नियोजित जस्तै हुन्छ, ती किताब तत्काल चम्किन्छन् र तत्कालै धिमा हुन्छन् । जुन किताबको पाठक प्रतिक्रिया पछि हुन्छ वा हुँदै हुँदैन, ती किताब असफल भए भन्ने बुझ्नु हुँदैन भन्ने मेरो सुझाव छ ।

जर्मन लेखक फ्रान्ज काफ्काले सन् १९२४ मा प्रकाशन गरेको द मेटामोर्फोसिस लेखकको मृत्युको तीसौँ वर्षपछि मात्र विश्वप्रसिद्ध हुन सकेको हो । इतिहासमा यस्ता सयौँ उदाहरण छन् । त्यसैले तत्काल प्रसिद्ध भएन, तत्काल पढिएन, तत्काल पाठक प्रतिक्रिया, समीक्षा र समालोचना भएन भनेर प्राज्ञिक इमानदारीपूर्वक लेखिएका/छापिएका पुस्तकको आयु वा प्रभावको मूल्याङ्कन गर्नु गलत हुन्छ ।

सुब्बा कृष्णलाल अधिकारीको मकैको खेती (१९७७) को महत्त्व नेपालमा प्रजातन्त्र आएपछि मात्र स्थापित भएको हो र त्यस कृतिको महत्त्व अहिले पनि कम छैन । गुणस्तर भन्ने कुरा सापेक्षिक हुन्छ । कसका लागि, कहिलेका लागि, कुन प्रयोजनका लागि गुणस्तरीय हुने भन्ने कुराको कुनै प्रायोजन हुँदैन ।

आफ्नो प्राज्ञिक कर्ममा इमानदार पुस्तक नै गुणस्तरीय हुन् । एक हप्तामा कति बिके, कतिओटा संस्करण प्रकाशन भए भन्ने कुराले पुस्तकको गुणस्तरीयता निर्धारण हुन सक्दैन ।

नेपाली विषय, नेपाली भाषा र साहित्यका विषयमा स्थापित ज्ञानसङ्कथनभन्दा फरक कोणबाट गर्नुपर्ने धेरै काम छन् ।

आफ्नै पुस्तकबारे

‘मार्क्र्सवाद र साहित्येतिहास दर्शन’ नेपाली पाठकका लागि नयाँ विषय हो । त्यसमा पनि मार्क्सवादी सिद्धान्तका आधारमा साहित्येतिहास दर्शनका बारेमा पुस्तकै लेख्नु मेरा लागि निकै चुनौतीको विषय हो । यो मेरा लागि एक प्रकारले धृष्टता पनि हो । यसलाई सफलतापूर्वक पूरा गर्न मैले मेरा आदरणीय पाठकसमक्ष पहिले नै भने जस्तै एक दशकजतिको समय मागेको छु । म के कुरामा विश्वस्त गराउन चाहन्छु भने मैले मागेको समयभित्र मैले यस विषयलाई आधिकारिक रूप दिन सक्नेछु । यो पुस्तक त्यसै यात्राको पहिलो पाइलो हो । यसमा धेरै त्रुटि, कमजोरी, आलाकाँचा प्रसङ्ग, सन्दर्भ पक्कै छन् । विज्ञ पाठकहरूले यसको भाव बुझेर पढिदिएमा र त्यसलाई बुझी स्वस्थ सुझाव र आलोचना गरेमा म आफूलाई धन्य सम्झनेछु । पाठकहरूलाई मेरो के आग्रह छ भने तपाईँहरू नै मेरा सबैभन्दा बलिया आधार हुनुहुन्छ । तपाईँहरू मलाई आधार दिनुहोस् म बलियो अधिरचना निर्माणमा दत्तचित्त रहिरहने छु ।

मैले लेखेको ‘मार्क्र्सवाद र साहित्येतिहास दर्शन’मा इतिहासको अवधारणा, साहित्यको इतिहाससम्बद्ध मार्क्सवादी आयाम, सिद्धान्त र पद्धतिको विमर्श गरिएको छ । सम्बद्ध विषयमा पूर्वअध्येताको निष्कर्ष, आफ्नै लगभग दुई दशकको एकाग्रता र मार्क्सवादी दर्शनको संश्लेषणबाट यो कृति निर्माण गरिएको हो ।

नेपाली भाषासाहित्यमा यस प्रकारको कृति अहिलेसम्म प्रकाशित भएको छैन । यसको अर्थ यो कृति विषयक्षेत्रका दृष्टिले नयाँ छ । विशेष गरी साहित्यिक परम्परा, त्यसको निरन्तरता र गतिशीलतालाई बोध गर्न चाहने, त्यसका अन्तःसम्बन्धको विश्लेषण गर्न चाहने, समयको दर्शन र त्यसको गतिलाई बुझ्न चाहने साथै विचारधारा र त्यसको निर्माण प्रक्रिया, साहित्यिक कालप्रवर्तनमा स्रष्टाको भूमिका, इतिहासलाई बुझ्ने गहिरो दृष्टि निर्माण गर्न चाहने र इतिहासका घटना, पात्र र पृष्ठभूमिका आधारमा साहित्यका इतिहासको मूल्याङ्कन गर्ने प्रगतिवादी र वैज्ञानिक दृष्टिकोण निर्माण गर्न चाहने पाठकका लागि यो पुस्तक उपयोगी हुने अपेक्षा गरेको छु ।

यसको अर्थ यो पुस्तक भाषासाहित्य, राजनीति, कलासंस्कृति, सामाजिक शास्त्र, दर्शन, इतिहास आदि हरेक विषयक्षेत्रका पाठकका लागि हो । संसारका सबैजसो विषयक्षेत्रको इतिहास हुने भएकाले ती विषयक्षेत्रका गतिशील विकासयात्रा एवं वर्तमानमा बसेर तिनका अतीतको वस्तुसङ्गत पर्यवलोकन र भविष्यको सही मार्गदिशा निर्धारण गर्ने समृद्ध चेतना निर्माण गर्न चाहने पाठकका लागि हो ।

मार्क्सवाद र साहित्येतिहास दर्शन नामबारे थोरै बुझाउनु आवश्यक ठान्दछु । सामान्यतः यसको शीर्षकले मार्क्सवादी अवधारणाको विश्लेषण र साहित्येतिहास दर्शनको विमर्श छुट्टाछुट्टै गरिनुपर्ने अपेक्षा राखेको छ । तर, स्पष्ट पार्नुपर्ने कुरा के छ भने यसमा मार्क्सवादी सिद्धान्तको पृथक् विमर्श गरिएको छैन । मार्क्सवादका बारेमा धेरै पहिलेदेखि अहिलेसम्म संसारभरका विशिष्ट विद्वान्हरूले अत्यन्त स्पष्ट र विस्तृत व्याख्या गरिसक्नुभएको छ । नेपाली विद्वान्हरूले पनि यसबारेमा निकै गहिरो विमर्श गरिसक्नुभएको छ ।

म मार्क्सवादको विद्यार्थी हुँ, व्याख्याता बन्न सक्ने योग्यता मैले आर्जन गरिसकेको छैन । यस पुस्तकमा मार्क्सवादी दर्शन, सिद्धान्त र अवधारणालाई आधारका रूपमा मात्र प्रयोग गरिएको छ । मुख्य कुरा त साहित्येतिहास (लिटरेरी हिस्टोरियोग्राफी) का सम्बन्धमा मार्क्सवादका आधारभूत मान्यता र सिद्धान्तको विमर्शबाट सामान्यीकरण गरी त्यसको अध्ययन-विश्लेषण पद्धतिको पुनर्निर्माण गरिएको छ । त्यसैले यसको शीर्षक र यसभित्र गरिएको विमर्शलाई पाठकले यही रूपमा बुझिदिनुभए म धन्य हुनेछु ।

पुस्तकको शीर्षकमा ‘दर्शन’ शब्द पनि परेको छ । दर्शनका बारेमा मेरो केही फरक दृष्टिकोण छ । दर्शन जीवन र जगतप्रतिको गहन विमर्श मात्र होइन । मेरा विचारमा दर्शन भनेको सिद्धान्त र व्यवहारपद्धतिको संश्लेषण हो । यसमा साहित्येतिहासका सिद्धान्त र अध्ययन/विश्लेषण पद्धतिको संश्लेषण गरिएको छ । त्यसैले ‘दर्शन’ शब्द अपेक्षित हुने ठानेर उक्त शब्द राखिएको हो ।

कतिपयले यसको शीर्षकका बारेमा के तर्क गर्न सक्नुहुन्छ भने मार्क्सवाद आफैंमा दर्शन हो, साहित्येतिहास स्वयंममा सिद्धान्त हो भने यसमा दर्शन जोडिराख्नुको के औचित्य ? यस्तो तर्क एक दृष्टिले जायज पनि छ । प्रकृति, मानव, ज्ञानविज्ञान, पदार्थ, जीवन र चेतनाको गहन प्रज्ञा दर्शन हो र उपयुक्त आयामकै सापेक्षमा साहित्येतिहास सिद्धान्त र अध्ययन पद्दति निर्माण हुने भएकाले यस पुस्तकमा दर्शन जोडिएको हो ।

यस पुस्तकमा नेपाली साहित्यको अध्ययन गरिएको नभएर साहित्येतिहास कसरी लेख्ने, साहित्येतिहासमा अन्तर्वस्तु र रूपको द्वन्द्वात्मक संश्लेषण कसरी गर्ने भन्ने कुराको विमर्श गरिएको छ । पक्कै म नेपाली साहित्यका इतिहासको विद्यार्थी हुँ । यस नाताले नेपाली साहित्य आरम्भदेखि वर्तमान अवस्थासम्म नित्य गतिशील हुँदै व्यापक परिधिमा पुगेको छ भन्दा अत्युक्ति हुँदैन ।

नेपाली साहित्य विश्वसाहित्यको समस्तरमा पुग्न नसके पनि संसारभर छरिएर रहेका नेपालीहरूको भाषासाहित्यप्रतिको प्रेम, स्रष्टाहरूको अध्यवसायका कारण नेपाली साहित्य पनि विश्वसाहित्यको एउटा महत्त्वपूर्ण हिस्सा बन्न सक्षम भएको छ ।

हाम्रो ‘विदेशी’ प्रतिको अचम्मलाग्दो मोहका कारण नेपाली भाषासाहित्य अवहेलनाको शिकार भने पक्कै भएको छ । अरूका भाषा नजान्दा आफूलाई कमजोर मान्ने अरूहरूले हाम्रो भाषा नजान्दा पनि र हाम्रो साहित्यका बारेमा नजान्दा पनि उनीहरूलाई महान् ठान्ने कमजोर मानसिकता हामीमा छ ।

हाम्रो भाषा निरन्तर समृद्धशाली बनिरहेको छ र हाम्रो साहित्य पनि सोही गतिमा विश्वस्तरमा पुग्नका लागि सङ्घर्ष गरिरहेको छ । आवश्यकता छ त हाम्रो स्वाभिमानी सोचको र हाम्रा ज्ञानसङ्कथनलाई विश्वस्तरमा पुर्‍याउने सशक्त अभियानको । गर्न बाँकी नै छ तर जे छ, हाम्रा गौरवको विषय बन्नु आवश्यक छ । यस सम्बन्धमा यति नै भनेँ ।

(‘मार्क्सवाद र साहित्येतिहास दर्शन’ पुस्तकका लेखक एवं नेपाल प्रज्ञा प्रतिष्ठानको अर्धवार्षिक शोधपत्रिका (जर्नल) ‘प्रज्ञा’ का कार्यकारी सम्पादक अधिकारीसँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment