Comments Add Comment

नसुध्रिएका ट्याक्सी : भाडा बढाइदिए रोकिएला त ठगी ?

२६ माघ, काठमाडौं । शनिबार बानेश्वर क्षेत्रमा ट्याक्सी चालक र व्यवसायीहरुले नाराबाजी गरे । उनीहरुले बन्दहड्तालमा चल्दा सरकारले सुरक्षा दिनुपर्ने लगायतका माग २ वर्षयता गरिरहेका छन् ।

भाडादरको वैज्ञानिक समायोजन गर्नुपर्ने उनीहरुको मुख्य माग छ । २०६९ सालदेखि भाडाको वैज्ञानिक समायोजन नभएकाले घाटामा ट्याक्सी चलाउनुपर्ने नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम बताउँछन् ।

‘यत्रो समय भाडा समायोजन नहुँदा कतिपय ट्याक्सीले बढी असुलेका पनि हुसक्छन्,’ उनी भन्छन्, ‘सरकारले व्यवहारिक तवरले भाडा समायोजन गर्‍यो भने मिटरमा चलेर सेवा दिन कठीनाइ हुँदैन ।’

त्यसबाहेक टुटल, पठाओजस्ता निजी सवारीले भाडामा यात्रु बोक्न बन्द गर्नुपर्ने संघको माग छ । ट्याक्सी धनी र चालकहरुले एपमा आधारित यस्तो सेवालाई यातायात व्यवस्था ऐन विपरित भन्दै आएका छन् । लोकप्रिय बन्दै गएको यस्तो सेवा तत्काल रोक्नपर्ने उनीहरुको माग छ ।

‘२५-३० हजारका थोत्रा मोटरसाइकलसँग २० लाख रुपैयाँभन्दामाथि लगानी रहेका ट्याक्सीले प्रतिस्पर्धा गर्नु परेको छ,’ संघका अध्यक्ष गौतम भन्छन्, ‘सरकारले कानून बमोजिम नै तिनीहरुलाई भाडामा यात्रु बोक्न रोक लगाउनुपर्छ ।’

यात्रु ठगीमा बद्नाम भएका कारण ट्याक्सी चालक र व्यवसायीका मागमा सरकार उदाशीन छ । यात्रुहरु पनि उनीहरुको माग पुरा गर्न आवश्यक देख्दैनन् ।

तर, संघका अध्यक्ष गौतम भन्छन्, ‘निजी सवारीले कानून विपरित यात्रु बोक्दा पनि सरकारले वास्ता गरेको छैन, त्यसमाथि हामीलाई नै अनेक तवरले प्रताडित गर्ने काम भइरहेको छ ।’

संघले प्रदेशतिर पन्छायो

ट्याक्सी व्यावसायिहरुले २०६९ यता भाडा समायोजन नभएको बताएपनि सरकार मान्न तयार छैन । यातायात व्यवस्था विभागका अनुसार पछिल्लोपटक २०७५  असोज ७ गते पनि ट्याक्सीको भाडा समायोजन भएको थियो ।

तेलको मूल्यदेखि ट्याक्सी सञ्चालन र मर्मत खर्चसम्म जोडेर भाडा निर्धारण गरेको बिभाग बताउँछ । महानिर्देशक गोगनबहादुर हमाल ट्याक्सीहरुले सरकारले तोकेको भाडादरमै यात्रुलाई सेवा दिनुपर्ने बताउँछन् ।

‘फेरी अहिले त ट्याक्सीको भाडा तोक्ने अधिकार प्रदेश सरकारमा छ, भाडामा असन्तुष्टि छ भने उहाँहरुले उतै कुरा गर्नुपर्छ,’ उनी भन्छन्, ‘स्थानीय सरकार, स्थानीय प्रशासन र ट्राफिक प्रहरीले २०७५ सालको भाडादर कार्यान्वयन भए/नभएको हेर्छ, हामी अनुगमन गरिरहेका छौं ।’

उता, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल निजी सवारीलाई पनि निश्चित मापदण्ड तोकेर भाडामा यात्रु बोक्न दिने गरी यातायात ऐन बनाइसकेको बताउँछन् ।

‘व्यवसाय दर्ता, बिमा लगायतका मापदण्ड अनिवार्य गरेर नियमावली बनाउँदैछौं,’ उनले भने, ‘ट्याक्सीको भाडा वृद्धिको माग पनि भएको छ, यात्रु र व्यवसायीलाई न्याय हुने गरी भाडा समायोजन गर्न अध्ययन गर्दैछौं ।’

अब नियमावलीमार्फत अनुगमन दरिलो बनाएर अघि बढ्ने उनले बताए । यात्रु नठगिने वातावरण तयार गर्न प्रदेश सरकार प्रतिवद्ध रहेकाले अबको अढाई महिनामा त्यसको नतिजा देखिने बताउँदै मन्त्री फुँयालले भने, ‘कसरी हुन्छ ट्याक्सीले गरिखान पाउने र यात्रु पनि नठगिने बनाउने प्रयासमा छौं ।

उपभोक्ता अधिकारकर्मी रामबहादुर थापा भाडा बढाएर ठगी नियन्त्रण नहुने बताउँछन् । ‘यात्रु ठग्ने ट्याक्सीलाई कठोर कारवाही हुनपर्छ,’ उनी भन्छन्, ‘भाडा मात्र बढाए ठगीको दर अझै बढ्छ ।’

संघ र प्रदेश सरकार जिम्मेवारीबाट पन्छिरहँदा ट्याक्सीको ठगी मौलाएको उनी बताउँछन् । उनले काठमाडौंका ट्याक्सीहरुमा मिटर जोडिएका भएपनि अधिकांश मिटरमा नचल्ने अनुभव उनले सुनाए ।

ट्राफिक प्रहरीका अनुसार मिटरको दाँती बिगारेर वा मिटरमा अर्थिङ  गरेर बढी भाडा उठाउने ट्याक्सी प्रशस्तै छन् । शहरवासीभन्दा कामको सिलसिलामा बाहिरबाट सहर आउनेहरु बढी ट्याक्सीमा हुने ठगीको शिकार बन्छन् । विदेशबाट आउँदा ट्याक्सीको ठगीबाट जोगिनेहरु बिरलै हुन्छन् ।

अप्ठ्यारोमा बढी ठगी

यही माघ २३ गते नेकपा ओली पक्षको जनसभाका लागि हेटौंडाबाट काठमाडौंको बल्खु झरेका राजेन्द्र लामाले त्रिपरेश्वर पुग्न ४०० रुपैयाँ तिरे । ‘बल्खुमा रोकिएका कुनै ट्याक्सी ५०० भन्दा घटीमा जान मानेनन्’, उनले भने, ‘बल्ल-तल्ल एउटाले ४०० मा त्रिपुरेश्वर ल्यायो ।’

यात्रुलाई जति अप्ठ्यारो परेको छ, ट्याक्सी चालकलाई त्यती नै ‘मौका’ जुर्छ । यात्रु अप्ठ्यारो परिस्थिति र ठाउँमा छन् भन्ने बुभ\mनासाथ ट्याक्सीले झन चर्को गरी ठग्छन् । अस्पताल अघि रोकिएका ट्याक्सीले बिरामी र कुरुवालाई ‘मुर्गा’ बनाउँछन् ।

भक्तपुरको जगातीबाट सिभिल अस्पताल आउन एकहजार तिरेकी रामकुमारी बस्नेत कोटेश्वरको जामको कारण देखाएर ट्याक्सीले थप ५०० मागेको सुनाउँछिन् ।

‘घाटा पर्छ भन्दै मिटरमा जान मानेन,’ घुँडा दुख्ने रोगले सताएर आएकी बस्नेत भन्छिन्, ‘बसमा जाउँ भने अस्पतालमा टिकट काट्नै भ्याउँदिनथेँ ।’

ट्याक्सीहरुले साँझ बस पाइन छाडेपछि र पानी परेको बेला पनि धेरै यात्रु ठग्छन् । शनिबार थानकोटबाट ट्याक्सीमा बानेश्वर आएको एक परिवारले १५ सय रुपैयाँ तिर्‍यो । पानी परेको बेलामा मिटरमा जान नसक्ने भन्दै बल्ल-तल्ल १५ सयमा ल्याउन मनाएको सञ्जय शाहीले बताए ।

‘सामानका पोका र हजुरबा-हजुरआमा देखेपछि यिनीहरुलाई जानैपर्छ भन्ने भएर पानी परेको बहानामा मिटर चलाउन मान्दै मानेन,’ उनी भन्छन्, ‘साँझ परिसक्यो, नतिरी सुखै भएन ।’

ट्राफिक प्रहरीका अनुसार साँझपख काठमाडौंका विभिन्न चोकमा यात्रु कुरिरहेका अधिकांश ट्याक्सीको सिसा भित्रबाट बन्द हुन्छ । यात्रु सीधै ट्याक्सीभित्र पसेर गनगन गर्न नपाउन् भनेर बाहिरै उभाएर ‘बार्गेनिङ’ गर्न ढोका खोल्दैनन् ।

बेलुका ८ बजे सार्वजनिक गाडी ठप्प हुन थालेपछि ट्याक्सीको ठग्ने दरको पारो धेरै माथि चढ्छ । न्युनतम ५०० रुपैयाँ कबुल नगरी ट्याक्सी डेग चल्दैनन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रहेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार सार्वजनिक बस चढ्न नसक्ने अशक्त, बिरामी तथा वृद्धवृद्धालाई सडकमा चर्को समस्या पर्ने गरेको छ । र, उनीहरु ट्याक्सी चालकले मागेजति पैसा तिर्न बाध्य हुन्छन् ।

सुध्रिएनन् ट्याक्सी

ट्याक्सीमा हुने ठगी रोक्न सरकारले २०७३ पुसदेखि कम्प्युटराइज्ड बिलिङ मेसिन जोड्न सुरु गरेको थियो । मिटरमा बदमासी गर्ने र अंकअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्तिमा नियन्त्रण हुने सरकारको दावी थियो । तर, यो मिटर प्रिन्टर सिस्टम प्रयोग गर्न ट्याक्सीहरु अझै तयार भएका छैनन् ।

धेरै यात्रुहरु यसबारे जानकारी पनि छैन । थाहा भएकाहरुलाई ठग्न चालकहरुले मेसिन बिगि्रएको बताउँछन् । ट्याक्सी व्यवसायीले यो सिस्टम असफल भइसकेको भन्दै प्रभावकारी नहुने दाबी गरेका थिए । नभन्दै, प्रयोगमै नल्याएर यो प्रणालीलाई काम नलाग्ने बनाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीको ठगी रोक्न प्रयत्न नगरेको होइन । अहिले पनि ‘हाउ मच’ अभियान चलाइरहेको छ । यो अभियान अन्तरगत सादा पोशाकमा खटिएका प्रहरीले ट्याक्सीसँग बार्गेनिङ गर्छन् र ठग्नेलाई महाशाखामा पुर्‍याएर ५ हजार रुपैयाँसम्म जरिवानाको रसिद थमाउँछन् ।

एसपी अधिकारी दैनिक औसत २०-२५ वटालाई यसरी कारवाही गर्दा पनि सु”ने छाँटकाँट नदेखिएको बताउँछन् ।

उनका अनुसार, पाँच पटकभन्दा बढी यस्तो कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने गरिएको उनले बताए ।

मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा नजाने, बढी भाडा माग्ने समस्या भए तत्काल ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न एसपि अधिकारीको आग्रह छ । उनी भन्छन्, ‘त्यसरी जानकारी आए हामी तत्काल कारवाहीमा सकृय हुन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment