+

नेपाली खेलाडीको खेल कौशल नियाल्दै डेभ वाटमोर

२०७७ माघ  २६ गते २०:१० २०७७ माघ २६ गते २०:१०
नेपाली खेलाडीको खेल कौशल नियाल्दै डेभ वाटमोर

२६ माघ, काठमाडौं । आगामी मार्चमा ओमान हुने आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपालले शनिबारदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज मार्च १९ देखि २८ सम्म ओमानमा हुँदैछ ।

नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाए पनि पहिलो चरणमा २१ खेलाडीको मात्र प्रशिक्षण भइरहेको छ । क्यानले बाँकी ११ खेलाडीलाई भने दोस्रो चरणमा सहभागी गराउनेछ । यसअघि छनोट गरिएका सबै खेलाडीले एकै चरणमा प्रशिक्षण गरे पनि यस पटक दुई चरणमा गर्न लागिएको हो ।

दुई चरणमा प्रशिक्षण गर्नुको कारण हो नयाँ मुख्य प्रशिक्षक डेभ वाटमोरको आगमन । श्रीलंकालाई विश्वकप जिताइसकेका र पाकिस्तान, बंगलादेश, जिम्बावेजस्ता टेष्ट मान्यताप्राप्त राष्ट्रको प्रशिक्षक रहिसकेका अष्ट्रेलियन वाटमोर अहिले नेपालको मुख्य प्रशिक्षकको रुपमा छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाटमोरले पहिलो पटक राष्ट्रिय टिममा परेका चार खेलाडी र पुनरागमन गर्न सक्ने सम्भावना भएका खेलाडीको क्षमता हेर्न पहिलो चरणमा २१ खेलाडीलाई मात्र प्रशिक्षणमा राखेका हुन् ।

यो चरणमा प्रधानमन्त्री कप क्रिकेटमा राम्रो प्रदर्शन गरेका प्रदेश २ का विवेक यादव, गण्डकी प्रदेशका अर्जुन कुमाल, कर्णाली प्रदेशका अनुज चुनारा र सुदूरपश्चिमका खड्ग बोहरा पनि सहभागी छन् ।

यस्तै राष्ट्रिय टिमबाट विगतमा खेलिसकेका पृथु बास्कोटा, राजेश पुलामी मगर, सुशन भारी, पवन सर्राफ, कुशल भुर्तेल, कमल सिंह ऐरि, सन्दीप जोरालगायत खेलाडी पनि पहिलो चरणको प्रशिक्षणमा छन् ।

क्यानले बाँकी खेलाडीलाई कहिले प्रशिक्षणमा सामेल गराउने भन्ने जानकारी दिएको छैन । तर पहिलो चरणको प्रशिक्षणबाट उत्कृष्ट खेलाडी छनोट गर्ने र दोस्रो चरणमा बाँकी ११ खेलाडीसहित प्रशिक्षण गराउने सम्भावना रहेको क्यानका एक अधिकारीले जानकारी दिए ।

मुख्य प्रशिक्षक वाटमोरले पहिलो चरणबाट उत्कृष्ट खेलाडी छनोट गर्न अहिले खेलाडीलाई खेल कला सिकाइरहेका छन् । त्रिवि क्रिकेट मैदानमा खेलाडीहरुले नेटमा बलिङ र ब्याटिङको अभ्यास गरिरहेका छन् ।

नेपाली खेलाडीको उत्साह देखेर प्रशिक्षक वाटमोर उत्साहित छन् । ‘यो तेस्रो स्किल सेसन हो । राम्रो भइरहेको छ ।खेलाडीहरुसंग अन्तर्क्रिया गर्नु राम्रो हो । केही खेलाडीले यसअघि नै राष्ट्रिय टिममा खेलिसकेका छन् र उनीहरु फेरि छनोट हुन प्रयासरत छन्’ तेस्रो दिनको प्रशिक्षण सकिएपछि वाटमोरले अनलाइनखबरसँग भने ।

वाटमोरले पहिलो चरणमा खेलाडीको खेल कलामा ध्यान दिएका छन् । ‘अहिले फोकस स्किलमा छ । हामीले प्राक्टिसमा स्किललाई ध्यान दिइरहेका छौँ । खेलाडीहरु केही कलामा निखारिनु आवश्यक छ । ब्याटिङ र बलिङको टेक्निकमा सुधार गर्नु छ’  उनले भने ।

वाटमोरले यी खेलाडीलाई थप दुई दिन प्रशिक्षण दिने बताए । त्यसपछि अन्य खेलाडी पनि प्रशिक्षणमा समावेश हुने वाटमोरले बताए ।

युवा खेलाडीको प्रशिक्षण उत्साहजनक रहेको भन्दै वाटमोरले उनीहरु निखारिनु जरुरी रहेको बताए । ‘अर्जुन कुमाल १५ वर्षीय खेलाडी क्रिकेटको भविष्य हुन् । ३ वर्षपछि उनी अझ राम्रो हुनेछन्’ वाटमोरले भने ।

पहिलो पटक बन्द प्रशिक्षणमा समावेश युवा फास्ट बलर अनुज चुनाराले प्रशिक्षणबाट धेरै कुरा सिक्न पाएको बताए । ‘वाटमोर र अन्य सिनियर खेलाडीबाट धेरै कुरा सिक्न पाएको छु । बलिङ गर्दा पहिला मेरो खुट्टा सिधा हुन्थेन । अहिले त्यसमा सुधार गरेको छु’ उनले भने ।

अब बन्ने राष्ट्रिय टिममा केही परिवर्तन हुन्छ ? प्रश्नमा प्रशिक्षक वाटमोरले त्यस्तो सम्भावना रहेको बताए । यद्यपि कुटनीतिक जवाफ दिए । ‘यो सम्भावना छ । यो मेरो डिसिजन होइन । अहिले जवाफ दिन सकिन्न’ वाटमोरले भने, ‘युवा खेलाडीहरुसंग क्षमता छ ।’

उनले हरेक पोजिसनका खेलाडीलाई आफूले विशेष भूमिका दिने बताए । ‘अलराउण्डर इज लाइक गड । धेरै अलराउण्डर टिममा हुनु नेपालको लागि राम्रो हो । करण, सोमपाल आरिफ टिममा छन् । अरु केही टिममा पर्न ढोका ढक्ढकाइरहेका छन्’ उनले भने ।

वाटमोरले नेपालको ब्याटिङमा देखिएको समस्यालाई ठूलो मान्न नहुने पनि बताए ।  ‘यदि टिममा समस्या छ भने ब्याटिङ कुनै एक्सक्लुसिभ समस्या होइन’ उनले भने ।

नेपालले गत वर्ष फेब्रुअरीमा घरेलु मैदानमा लिग २ अन्तर्गत नै पहिलो सिरिज खेलेको थियो । त्यसपछि पहिलो पटक ५० ओभरमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

उक्त सिरिजमा शरद भेषावकर घाइते भएपछि खेलेका सुवास खकुरेल अहिले बन्द प्रशिक्षणमा समावेश छैनन् । यस्तै सिरिजमा नखेलेका सोमपाल अहिले बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।

पहिलो चरणमा प्रशिक्षणमा रहेका २१ खेलाडी

पृथु बास्कोटा, रामनरेश गिरी, रोहितकुमार पौडेल, पवन सर्राफ राजेश पुलामी मगर, विक्रम सोब, सुनील धमला, शाहाब आलम, सौरभ खनाल, कृष्ण कार्की, हरिशंकर शाह, सुशन भारी, ललित राजवंशी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कमल सिंह ऐरी, विवेक यादव, अर्जुन कुमाल, अनुज चुनारा, खड्ग बोहरा ।

दोस्रो चरणमा प्रशिक्षणमा समावेश हुने ११ खेलाडी

ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, पारस खड्का, शरद भेषावकर, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

क्रिकेट डेभ वाटमोर
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय