Comments Add Comment

वीर गणेशमान सिंह टेन के रोड रेस चैतमा

२७ माघ, काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह दोश्रो १० के रोड रेस चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत ७ गते हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

रेस डाइरेक्टर सुशिल नरसिंह राणाले प्रतियोगितामा ४–५ सय खेलाडीको सहभागिता रहने जानकारी दिए । उनले एक हप्तापछि खेलाडी दर्ता प्रकृया सुरु हुने बताए ।

पुरुष/महिला दुवैमा शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । छैठौंदेखि दसौं स्थान हात पार्नेलाई ४ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने छ । १० किलोमिटर दूरीको दौड दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भइ पुनः सोही ठाउँमा आएर टुंगिने छ ।

रुट्स फेसन प्रालि (एडीडास) को प्रायोजनमा हुन लागेको दौडको अनुमानित बजेट करिब १२ लाख रुपैयाँ रहेको छ । रुट्सका राजीव श्रेष्ठले नेपाली खेलकुदको विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रायोजन गरिएको बताए ।

कोर्ष रेकर्ड ब्रेक गर्ने पुरुष-महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ । गोपीचन्द्र पार्कीको नाममा ३२ मिनेट ०१.२ सेकेन्ड तथा सन्तोषी श्रेष्ठको नाममा ३९ मिनेट १०.९८ सेकेन्डको कोर्ष रेकर्ड रहेको छ । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेताद्वय पहिलो संस्करणका विजेता पनि हुन् ।

पत्रकार सम्मेलनमा संयोजक तुलाधरले आगामी वैशाखमा कमिटीले राष्ट्रिय फेन्सिङ प्रतियोगिता पनि आयोजना गर्न लागेको अवगत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment