
२९ माघ, काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयको प्रतिरक्षामा बहस गर्ने वकिलले प्रधानमन्त्रीले काम गर्न नपाएकाले संसद विघटन गरेको बताएका छन् ।
बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्न आएका अधिवक्ता बाबुराम दाहालले नेपालमा प्रधानमन्त्रीय शासन पद्धति रहेको भन्दै प्रधानमन्त्रीले आफुखुशी सरकार चलाउने बताए ।
‘यो प्राइमिनिस्टरियल व्यवस्था हो । प्रधानमन्त्रीले सरकार चलाउने हो । यो चाइनाको जस्तो व्यवस्था होइन, सरकार पार्टीले चलाउनलाई’ उनले भने ।
उनलाई न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्न गरे ‘एकपटक प्रधानमन्त्री भएपछि पार्टीको विधान ख्याल गर्नु पर्दैन भन्ने हो ? जवाफमा अधिवक्ता दाहालले प्रधानमन्त्रीले काम गर्न नपाएका कारण विघटन गरेको बताए । सिन्हाले फेरि सोधे ‘चुनाव भयो, दुई तिहाइ आएन भने के हुन्छ ? फेरि विघटन गरिदिने ?’
दाहालले विघटन भन्नेबित्तिकै डराउन नपर्ने बताए । न्यायाधीश सिन्हाले फेरि सोधे ‘चुनाव भयो, बहुमत आयो तर दुई तिहाई आएन भने म दुई तिहाईको लागि चुनावमा गएको आएन भनेर गर्नुभयो भने त्यो संबैधानिक हुन्छ ? वा अर्को पार्टीले बहुमत ल्यायो र विघटन गरेर चुनाव गर्छु भन्यो भने देश कतारित जान्छ ? संविधानको अन्तिम निश्कर्ष दुई दुई महिनामा चुनाव गर्ने भन्ने हो ?’
दाहालले फेरि पनि प्रधानमन्त्रीले काम गर्न नपाएर विघटन गरेको बताए । सिन्हाको प्रश्नको प्रष्ट जवाफ दिएनन् । दाहालपछि बहसमा आएका अधिवक्ता धर्मराज रेग्मीलाई पनि न्यायाधीश सिन्हाले सोधे, ‘प्रधानमन्त्री आफू विश्वासको मत लिन किन जानुभएन ? संविधान राजनीतिक सहमतिमा आधारित छ कि संविधानवादको सिद्धान्तमा आधारित छ ?’
प्रतिक्रिया 4