Comments Add Comment

रामकुमारी पक्रेर सरकारले देखाएको जंगी तागत

२९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले घोषणा गरेको आन्दोलनको दौडधुपका बीच बैवाहिक जीवन सुरु गरेको ११औं वर्ष पुगेको दिन बिहीबार नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री घरमा आराम गर्ने योजनामा थिइन् । श्रीमान् कार्यालय गएपछि झाँक्री छोरासँग घरमै थिइन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) दीपक थापाको फोन आयो– ‘तपाईँ हाम्रोमा आउनुपर्‍यो, सोधपुछ गर्नुछ ।’

१६ माघमा गोरखामा आयोजित राजनीतिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर ‘प्रहरीले पक्राउ गर्दैछ रे’ भन्ने चर्चा सुनेकी उनले भनिन्, ‘यो राजनीतिक मुद्दा हो, पक्राउ पूर्जी बिना जान्न ।’

त्यतिबेलासम्म शंखमुलस्थित उनको निवास वरिपरि सादा पोशाकका प्रहरीहरु पुगिसकेका थिए । थप सुरक्षाकर्मी पनि आएपछि रामकुमारीले बुझिन्, प्रहरीले पक्राउ गर्नै खोजेका रहेछन् । त्यही सूचनाका आाधारमा सञ्चारकर्मीहरु पनि उनको निवास पुगे । पार्टीसम्बद्ध विद्यार्थी नेताहरु पनि भेला भए र सकरारविरुद्ध नाराबाजी गरे । घरको गेटभित्र छिर्न खोज्ने प्रहरीलाई रोके ।

एकातिर विद्यार्थीहरुको लगातारको प्रदर्शन र अर्कातिर झाँक्रीको अडानका कारण प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमायो, जसमा राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को असरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नु परेको उल्लेख छ ।

पक्राउ पूर्जी बुझेपछि गिरफ्तारी दिन तयार भइन् र प्रहरीले विद्यार्थीहरुको नाराबाजीका बीच उनलाई भ्यानमा राखेर मिनभवनस्थित महाशाखामा लगेर साढे ५ घण्टा राख्यो ।

यो पनि पढ्नुहोस ‘प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, हामी जित्दैछौं’

झाँक्री पक्राउको राजनीतिक अर्थ

प्रहरीले नेतृ रामकुमारीलाई पक्राउ गर्दा शहीद दिवसका दिन (माघ १६) गोरखा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिबारे सोधपुछका लागि भनेको छ ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई राष्ट्रपतिले सदर गरेकोमा आपत्ति जनाएकी झाँक्रीले राष्ट्रपति आफैं नै चुनाव हुन्छ भन्दै हिँड्ने हो भने चुनाव लड्न चुनौती दिएकी थिइन् । उनले चुनाव लड्न कोटेश्वर, चाबहिल वा बालकोट गए पनि हुन्छ भनेकी थिइन् ।

त्यही अभिव्यक्तिलाई लिएर ओली समूहसम्बद्ध अनेम संघले माघ २१ मा प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो र, झाँक्रीलाई पक्राउ गरेर कानूनी कारबाही चलाउन माग गरेको थियो । यही ज्ञापनपत्रका आधारमा झाँक्रीलाई पक्राउ गर्न गृह प्रशासनले प्रहरीलाई निर्देशन दिएको थियो ।

त्यही बेलादेखि ओली समूहले झाँक्री पक्राउ गर्ने र माफी माग्न लगाएर छाड्ने प्रचार गर्दै आएको थियो । यो सूचना झाँक्रीले पनि पाइसकेकी थिइन् । बुधबार पनि प्रहरीले झाँक्रीलाई सोधपुछका लागि आउन भन्यो तर उनी आफ्नो अभिव्यक्तिमा अडिग रहिन् । बुधबार काठमाडौंमा आयोजित जनसभामा उनले राष्ट्रपति संस्थाको नभई व्यक्तिको गलत प्रवृत्तिको आलोचना गरेको बताइन् । त्यसको भोलिपल्ट प्रहरीले उनलाई घरबाटै पक्राउ गर्‍यो ।

राजनीतिक विश्लेषक कृष्ण खनाल, रामकुमारीको गिरफ्तारीलाई व्यक्तिगत घटनाको रुपमा लिन नहुने बताउँछन् ।

उनको विश्लेषणमा राजनीति नै दुर्घटनातिर बढेको परिणाम दिने संकेत हो यो । ‘व्यक्तिगत रुपमा के कारणले को पक्राउ पर्‍यो भन्दा पनि राजनीति नै अनिष्टको बाटोमा जाँदैछ, रामकुमारी समातिनु कज होइन, इफेक्ट हो’, खनाल भन्छन् ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवका सल्लाहकार रहिसकेका पत्रकार राजेन्द्र दाहाल पनि रामकुमारी पक्राउ गरिएको शैलीलाई देश, लोकतन्त्र र पुस्ताकै लागि दुर्भाग्य भएको बताउँछन् । ‘हामीसँग नागरिक अदालत, नागरिक शासन प्रशासनको प्रक्रिया छन् । त्यसको काँही पनि प्रयोग नगरी यो जंगी पारा देखाउने काम गरियो’, दाहाल थप्छन्, ‘आदिम कालमा जे गर्थे, चन्द्र शमशेरको पुलिसले के गथ्र्यो ? आज केपी ओली प्रधानमन्त्री भएको बेलामा पनि प्रहरीले त्यही गरेको छ ।’

पत्रकार दाहाल, गोरखामा रामकुमारीले दिएको अभिव्यक्ति राजनीतिक असन्तुष्टि मात्र भएको बताउँछन् । ‘मैले पनि रामकुमारीले बोलेको सुनेँ, त्यहाँ राजनीतिक असन्तुष्टि पोख्ने बाहेक अर्थोक केही पनि पाइनँ’ उनले भने, ‘सार्वजनिक पदमा बसेका व्यक्ति र उसका कामकारबाहीबारे असन्तुष्टि पोखेकै भरमा पक्रेर थुन्ने हो भने र त्यसलाई राज्यविरुद्धको द्रोह ठान्ने हो भने अब बाँकी के रह्यो ?’

यो पनि पढ्नुहोस तस्वीरमा रामकुमारी झाँक्रीको गिरफ्तारी

चिन्ता, रामकुमारी पक्रिइन भन्ने होइन

विद्यार्थी राजनीतिबाट उदाएकी रामकुमारी नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य हुन् । जुझारी नेतृका रुपमा स्थापित उनले प्रहरीलाई बोलाउँदा पक्राउ पूर्जी खोजिन् । जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेपछि देशभर विरोध सुरु भयो ।

नेकपा प्रचण्ड–माधव समूह र नेपाली काँग्रेसले बक्तव्य जारी गरेरै रिहाइ मागे भने अन्य दलका नेताहरुले पनि प्रहरी प्रशासनको यो कदमप्रति आपत्ति जनाए । राष्ट्रिय मानवअधिकार आयोगको टोली अपराध महाशाखा पुग्यो । पक्राउको विरोधमा युवा तथा विद्यार्थीहरुले माइतीघरबाट निस्किएको प्रदर्शन बानेश्वरमा पुग्दा प्रहरीसँग झडप नै भयो । चौतर्फी विरोध पछि अन्ततः दिउँसो एक बजे पक्राउ परेकी झाँक्री साढे पाँच घण्टा पछि रिहा भइन् ।

तर यो घटनाले पार्टीमा राम्रै हैसियत बनाएकी युवा नेतृलाई त पक्राउ गरेर सरकारले तागत देखायो भने अरुको हालत के होला भन्ने प्रश्न जन्माएको छ ।

राजनीतिक विश्लेषक खनाल रामकुमारीको पक्राउ सुरुवात मात्रै भएको बताउँछन् । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने २०६२÷६३ को आन्दोलनमा युवापुस्ताको नेतृत्वको प्रतिक बनेकी रामकुमारी मात्रै नभएर भोलि गगन थापाहरू समेत समातिने खतरा देख्छन्, उनी ।

प्रतिनिधिसभा विघटनपछि मुलुक संवैधानिक र राजनैतिक संकटतिर धकेलिँदै गर्दा गरिएको यो गिरफ्तारीले सरकारको गन्तव्यप्रति शंका जन्माएको विश्लेषकहरु बताउँछन् ।

लेखक तथा पत्रकार नारायण वाग्ले नागरिकको मुख थुन्ने प्रयास अन्तर्गत नै रामकुमारी समातिएको बताउँछन् । उनी भन्छन्, ‘सामाजिक सञ्जालमा अंकुश लगाउने निर्देशिका ल्याउने जानकारी केही दिन अगाडि दिइनु र अभिव्यक्तिकै कारण रामकुमारी समातिनुको पछाडि सरकार स्वच्छेचारी बाटोमा हिड्न खोजेकै पुष्टि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment