३० माघ, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । सैनामैनाले स्टार क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको हो ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको स्टारले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा सबै विकेट गुमाई १९२ रनको योगफल बनायो । उसका लागि निश्चल ज्ञवालीले ४२, विवश खातीले ३४, करण घर्ती मगर र महेश पटेलले १७/१७ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेलले ४, बसन्त खड्काले ३ तथा प्रदीप भण्डारी र उदय पन्तले समान १/१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको सैनामैनाले ४४ ओभरमा ८ विकेट गुमाई लक्ष्य भेट्टायो । उसका लागि प्रदीप सुवेदीले ४८, बसन्त खड्काले ४३ र सुवास चौधरीले ११ रन बनाए । बलिङमा स्टारका महेश पटेल र रोहन अर्यालले ३/३ विकेट लिए ।
बसन्त खड्का म्यान अफ दी म्याच घोषित भई पुरस्कृत भए । शनिबार बुटवल राइनोज र ज्ञानोदय क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङले बताए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रतिक्रिया 4