Comments Add Comment

अतिक्रमण गरी जग खन्दा मन्दिरको संरचना भेटियो

३० माघ, काठमाडौं । बनेपा नगरपालिका वडा नं ५ र ७ को सिमानामा पर्ने तीनधारा क्षेत्रमा अतिक्रमणमा पर्न लागेको सार्वजनिक जग्गामा मन्दिरको संरचना भेटिएको छ ।

तीनधारामा खाली रहेको सार्वजनिक जग्गामा व्यक्तिले अतिक्रमण गरी टहरा बनाउन जग खन्दा मन्दिरको बसाह भेटिएपछि सो ठाउँमा नगरपालिका र पूरातत्व विभागले खोजी सुरु गरेको हो ।

एक साताअघि बसाह भेटिएपछि स्थानीयले निर्माण कार्य रोकेर त्यसको थप खोजी गर्न ध्यानाकर्षण गरेका थिए । स्थानीय ज्येष्ठ नागरिकहरूले सो ठाउँमा तलेजु भवानीको मन्दिर रहेको बताएका छन् । नगरपालिकाका ७ नं का वडाध्यक्ष वर्ण शाक्यले भेटिएको संरचनाले त्यो ठाउँमा कुनै बहाल वा चोक थियो भन्ने देखिएको जानकारी दिए । शाक्यहरूको गुठीमा रहेको ताडपत्रमा सो मन्दिरको विषय उल्लेख भएको भन्दै त्यसको खोजी सुरु गरिएको वडाध्यक्ष शाक्यले जानकारी दिए ।

कस्तो र के संरचना थियो भन्ने यकिन नहुँदा सो क्षेत्रलाई सार्वजनिक जग्गाको रुपमा छाडिएको थियो । तर बेवास्तामा पर्दा लामो समयदेखि अतिक्रमणको चपेटामा पर्दै आएको स्थानीय बताउँछन् । तर पछिल्लो समय मन्दिरको संरचना भेटिएपछि निर्माण रोकेर त्यसको ऐतिहासिकता एवं सांस्कृतिक महत्वको खोजी सुरु गरिएको वडाध्यक्ष शाक्यले जानकारी दिए । खोजीको क्रममा बहालको चोकमा राखिने चन्द्राकार संरचना समेत भेटिएको छ ।

अहिले बनेपामा तलेजु मन्दिर अन्यत्र कतै नरहेको शाक्य बताउँछन् । बुढापाकाले यही ठाउँमा तलेजु मन्दिर थियो भनेर किटान गरेको आधारमा यो मन्दिर तलेजुकै संरचना भएको अनुमान गरिएको उनले बताए । सो क्षेत्रमा अहिले पुरातत्व विभागको प्रतिनिधि समेत अध्ययनको लागि पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment