Comments Add Comment

तीनदिने तीर्थयात्रापछि माधवनारायणका व्रतालु शालीनदीमै

१ फागुन, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले तीन दिने तीर्थयात्रा समाप्त गरी फर्किएपछि आज बिहानदेखि शालीनदीमै स्नानसहित व्रत विधिलाई निरन्तरता दिएका छन् ।

तीर्थयात्राका लागि व्रतालुु माघकृष्ण चतुर्दशीका दिन शालीनदीबाट हिँडेका थिए । व्रतालु पहिलो दिन पशुपतिमा बास बसे । माधवनारायण व्रतालुलाई राख्न पशुपति क्षेत्रमा प्राचीनकालदेखि नै भवनको व्यवस्था गरिएको छ । त्यो भवनमा पराल ओछ्याएर व्रतालु सुत्छन् । दोस्रो दिन शेषनारायणमा बास बसेपछि तेस्रो रात बास बस्न शालीनदी पुग्ने परम्परा छ । जस अनुसार तीन दिने तीर्थयात्रा सकी शुक्रबार बेलुकी बास बस्न व्रतालु शालीनदी पुगेका थिए ।

माघकृष्ण औँसीका दिन बिहान पशुपतिस्थित आर्यघाटमा स्नान, पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं जयवागेश्वरीसम्म जल चढाउने विधि पूरा गरेपछि बिहीबार दिउँसोको भोजन व्रतालुले सानो गौचरणमा गरेको साँखुका पवनलाल श्रेष्ठले बताए । नारायणहिटीमा माधवनारायणलाई राजतन्त्र हुञ्जेल राजाले दर्शन गर्ने गरेकामा हाल माधवनारायणको कलश राष्ट्रपतिलाई दर्शन गराइन्छ ।

पशुपतिमा माधवनारायण व्रतालुु आउने भएकाले माघकृष्ण चतुर्दशीको दिउँसोदेखि नै आर्यातीर्थसमेत भनिने आर्यघाटमा शव नजलाउने गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । बिहीबार व्रतालुुले पशुपति नछोडेसम्म आर्यघाटमा शव नजलाउने व्यवस्था मिलाइएको थियो ।

व्रतालुले माघशुक्ल प्रतिपदाका दिन बिहान दक्षिणकालीस्थित शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन गरेका छन् । सो अवसरमा माधवनारायणलाई शेषनारायणमुनिको सूर्यकुण्डमा स्नान गराइएको थियो । माधवनारायणलाई स्नान गराइसकेपछि सूर्यकुण्डबाट शेषनारायणसम्म व्रतालुले जल चढाउने प्राचीनकालदेखिको विधि रहेको छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन माधवनारायणका व्रतालुले शेषनारायणमा पूजा आराधना गर्ने विधि रहेको छ । शेषनारायणमा पूजा आराधनाका लागि माघकृष्ण औँसीकै बेलुकी बिहीबार व्रतालुु त्यहाँ पुगेका थिए । माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ । पूजा आराधना सकेर पैदल आई व्रतालुुले दिउँसोको भोजन शङ्खमूल क्षेत्रमा गरेका थिए ।

व्रतालुु पैदल आए पनि सामान बोक्न भने विगत २० वर्षदेखि यातायातको व्यवस्था हुन थालेको छ । माघशुक्ल प्रतिपदाको राति शङ्खमूलबाट पैदलयात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने परम्परा छ ।

आज शालीनदीमै बसेपछि माघ शुक्ल तृतीयाका दिन फेरि व्रतालुु तीर्थयात्राका लागि पनौती जाने परम्परा छ । पनौतीबाट चौँथीका दिन फेरि साँखु फर्कने गरिन्छ । पनौती पनि व्रतालु पैदल यात्रा गरी पुग्छन् । विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए ।

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमाजस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी विनाहिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ ।

माधवनारायण मेलामा विगत वर्षको भन्दा पनि बढी भक्तजनको भीड लागेको छ । माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ । अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिएको छ । माधवनारायण मेलाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर साँखुमा चहलपहल बढेको छ ।

साँखु एवं शालीनदी आउने सार्वजनिक यातायातमा भीड छ । भक्तजन बढी आउने भएपछि यातायातमा दूरी कायम हुने अवस्था छैन । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment