Comments Add Comment

एपीएफको नवौं जितमा सावित्राको ५ गोल

१ फागुन, काठमाडौं । सावित्रा भण्डारीको ५ गोलको मद्दतमा सशस्त्र प्रहरी (एपीएफ) क्लबले राष्ट्रिय महिला लिगमा लगातार नवौं जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा सावित्राले ५ गोल गरेपछि विभागीय टोली एपीएफले वालिङ नगरपालिकालाई ६-० ले पराजित गरेको हो ।

सावित्राले खेलको सातौं १६औं र २०औं मिनेटमा गोल गर्दै १४ मिनेटमै ह्याट्रिक पूरा गरेकी हुन् । यस्तै ६४औं र इन्जुरी टाइमको दोस्रो मिनेटमा सावित्राले गोल थपिन् ।

एपीएफका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी प्रिती राईले पहिलो हाफको इन्जुरी टाइममा गोल गरिन् ।

शतप्रतिशत जित निकालेको एपिएफले ९ खेलबाट २९ अंक जोड्दै दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबसँग ५ अंकको दुरी बनाएको छ ।

एपीएफले अब नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका र त्रिभुवन आर्मीसँग खेल्न बाँकी छ । वालिङ १० खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । पुलिसको समान अंक भएपनि वलिङ हेड टु हेडमा अघि रहेको हो ।

एपीएफकी प्रशिक्षक भगवती थापाले वालिङको विदेशी खेलाडीले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिइन् । विपक्षी टिममा विदेशी खेलाडी हुँदा डिफेन्स र गोलकिपरमा दबाब परेको भन्दै उनले भनिन्, ‘वालिङको विदेशी खेलाडीले व्यक्तिगत रुपमा राम्रो खेले । किपर पनि राम्रो प्रदर्शन गरे ।’

वालिङका प्रशिक्षक दिलिप थापा मगरले आजको खेल भन्दा पनि बाँकी रहेको दुई खेललाई ध्यानमा दिएर खेलेको बताए । वालिङले अब लिगमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकासंग खेल्न बाँकी छ ।

‘हार्दा नमज्जा भएपनि खेलाडीले सकेको खेलेका हुन् । हाम्रो लागि अबको दुई खेल महत्वपूर्ण छ त्यसैले कार्ड पाएका खेलाडीलाई सुरक्षित रहेर खेलाएका थियौँ’ दिलिपले भने, ‘हाम्रो लक्ष्य तेस्रो बन्ने हो । त्यसैले अबको २ खेल जित्नुपर्छ ।’

 सावित्राको ९ खेलमा ४३ गोल

एपीएफकी फरवार्ड जारी लिगमा सर्वाधिक गोलकर्तामा अघि छन् । उनले ९ खेल खेल्दा ४३ गोल गरिसकेकी छिन् । वालिङविरुद्ध ५ गोल गरेपछि उनको गोल संख्या ४३ पुगेको हो ।

एक खेलमा मात्र गोल गर्न नसकेकी सावित्राले ७ खेल ३ वा त्यो भन्दा माथिको संख्या गोल गरेकी छिन् ।

उनले लिगको पहिलो चरणको खेलमा वालिङ विरुद्ध २ गोल गरेकी थिइन् भने आर्मी विरुद्ध गोल गर्न सकिनन् । यस्तै चौदण्डी विरुद्ध पहिलो चरणमा १२ र दोस्रो चरणमा ८ गोल गरेकी थिइन् ।

यस्तै चन्द्रपुर विरुद्ध पहिलो चरणमा ३ र दोस्रो चरणमा ६ गोल गरिन् । विराटनगर विरुद्ध पहिलो चरणमा ४ गोल गरेकी थिइन् । यस्तै पुलिस विरुद्ध पहिलो चरणमा ३ गोल गरेकी थिइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment