Comments Add Comment

जनताको विश्वासमा तातो पानी खन्याउने काम भयो : मुख्यमन्त्री राई

३ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गरेका छन् ।

प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले प्रदेशमा अस्थिरता सिर्जना गरी जनताको विश्वासमा तातो पानी खन्याउने काम बताएका हुन् । अविश्वासको प्रस्तावलाई मुख्यमन्त्री राईले जनविरोधी हर्कतको संज्ञा दिँदै यसविरुद्ध एकजुट हुनुपर्ने पनि बताए ।

‘प्रदेशमा जनातामा पैदा भएको विश्वास, उत्साह र आशामा तातो पानी खन्याउदै संविधान र संघीयतालाई नै कमजोर बनाउने गलत प्रयास भएको छ’ उनले भने ‘मुख्यमन्त्रीको विरुद्व आएको अविश्वासको प्रस्तावलाई हामीले सामना गर्नुपर्ने भएको छ ।’

प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । यद्यपि उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन ।

संसदीय व्यवस्थाको प्रचलित नियम विपरीत अविश्वासको प्रस्ताव आएकाले वैधानिकता प्रश्नको निरुपण गरी प्रस्तावको सामना गर्ने मुख्यमन्त्री राईले बताए ।

प्रदेशसभाले राजधानीको टुङ्गो लगाएको र नामको पनि चाडै टुङ्गो लगाउने उनले बताए ।

सत्तारुढ दलभित्रैबाट सरकार ढालेर, प्रधानमन्त्री, राष्ट्रअध्यक्ष, अनि क्रमश प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखहरुलाई अपदस्त गरेर ६ महिने, ९ महिने सरकार बनाउने खेल सुरु भएपछि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्रीले संसद भङ्ग गरेको मुख्यमन्त्री राईले बताए ।

शून्यबाट सुरु भएको प्रदेश सरकारले तीन वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गरेको उनले बताए । आफ्नो वार्षिक उत्सवका अवसरमा प्रदेश सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण कामको सूचीसहितको गोजी पुस्तिका सार्वजनिक गरेको छ ।

सरकार सफल रह्यो

प्रदेश १ का प्रमुख सोमथान अधिकारी प्यासीले प्रदेश सरकार सफल भएको बताएका छन् । तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले प्रदेश सरकार सफल भएको बताएका हुन् ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका बेला प्रदेश सरकारले महत्वपूर्ण योगदान गरेको बताउँदै उनले तीन वर्षमा सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment