Comments Add Comment

सरकारको दोहोरो नीतिले हिमाल आरोही नआउने जोखिम !

फाइल तस्वीर

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण मापदण्डमा सरकारले दोहोरो नीति लिँदा यो वर्ष पनि हिमाल आरोहीहरुले गन्तव्य परिवर्तन गर्न सक्ने जोखिम बढेको छ ।

मुलुक भित्र सरकारकै आह्वानमा सामाजिक दूरी कायम नगरी जुलुसहरु आयोजना भइरहेका छन् । विदेशीले भने आफूलाई कोरोना नभएको प्रमाणित गरेर मात्र नेपाल आउन पाउने व्यवस्था लागू गरिएको छ । विदेशी नागरिक नेपाल प्रवेश गरेपछि ७ दिन क्वारेन्टिनमा बस्नै पर्ने प्रावधान छ । उता, पाकिस्तानले पर्वतारोहीलाई क्वारेन्टिन बस्नु पर्ने नियम हटाएको छ ।

नेपालले कोरोना प्रोटोकल परिमार्जन नगरे यो वर्ष आरोहीहरुले विश्वको दोस्रो अग्लो हिमाल (माउण्ट के टु) रहेको पाकिस्तानलाई गन्तव्य बनाउने अवस्था देखिएको पर्यटन व्यवसायीहरु बताउँछन् । हरेक दिनजसो यस्तो गुनासो आइरहेको पर्यटन विभागकी निर्देशक मिरा आचार्य बताउँछिन् ।

‘ट्राभल एजेन्सिहरुबाट आउने गुनासामध्ये अधिकांश क्वारेन्टिनसँग सम्बन्धित छन्,’ उनी भन्छिन्, ‘सबैले आगामी सिजनमा पनि पर्वतारोही अन्तै भड्किन सक्ने बताइरहेका छन् ।’

वसन्त ऋतु सगरमाथा आरोहणको सिजन हो । यो बेला सर्वाधिक खर्चालु पर्यटक नेपाल आउँछन् । करिब २ महिना बस्ने गरी हजारौं पर्यटक आउँदा नेपालमा औसतः पर्यटकको बसाइ अवधि पनि १३ दिन हाराहारी पुग्छ ।

तर, कोरोनाका कारण सन् २०२० को वसन्तु ऋतुयता पर्यटक आगमन ओरालो लागेको छ । यसको प्रभाव समग्र अर्थतन्त्रमा देखिएको छ । व्यवसायीहरुका अनुसार पर्वतारोही अहिले मुख्यतः दुईवटा झण्झटका कारण नेपाल आउन डराइरहेका छन्– क्वारेन्टिनको झण्झट र चर्को कोरोना बिमा नीति ।

पर्वतारोहीले नेपाल आउँदा ट्राभल बिमा भन्दा छुट्टै ५ हजार डलरको बिमा गर्नुपर्छ । २०१९ मा करिब डेढ दर्जन आरोहीको मृत्युका कारण नकारात्मक प्रचार भएको र २०२० पछि ठप्प भएको सगरमाथामा आरोही आकर्षित गर्न सरकारको तर्फबाट कुनै ठोस नीति आओस् भन्ने अपेक्षा छ ।

अनुमति दुई वर्ष थप्न प्रस्ताव

कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष आरोहण अनुमति लिएर पनि आरोही हिमाल जान पाएनन् । यसरी रोकिएका आरोहीको आरोहण अनुमति दुई वर्ष लम्ब्याउने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाइएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ बताउँछन् ।

विभागकी निर्देशक आचार्यका अनुसार गत वर्ष वसन्त ऋतुमा आरोहण खोल्ने सम्बन्धमा अन्यौल थियो । विभाग समेत पर्ख र हेरको अवस्थामा थियो । यसैकारण सगरमाथा आरोहणका लागि एउटा पनि अनुमति जारी भएन ।

आमादब्लम र अन्य साना हिमाल आरोहणका लागि अनुमति लिएका कुल पाँच समूह (१३ जना) पनि हिमालतिर जान पाएका थिएनन् । उनीहरुलाई यो वर्ष पनि सोही अनुमति कायम गर्ने प्रस्ताव विभागले गरेको छ ।

यो वसन्तु ऋतुमा सगरमाथासहितका हिमाल चढ्न आरोहीहरु आउने कुरालाई ध्यानमा राखेर आन्तरिक तयारी थालेको निर्देशक आचार्यले बताइन् । ‘सम्पर्क अधिकृत खटिने विभिन्न सरकारी कार्यालयलाई पत्राचार गरेका छौं’, उनी भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment