+
+

कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्तासम्ममा लगाउन विज्ञ समितिको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते २०:०५

३ फागुन, काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई  सुझाव दिएको छ ।

सल्लाहकार समितिको बैठकले दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए ।

यसअघि मन्त्रालयले  खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि  दोस्रो मात्रा दिइने बताएको थियो ।  डा. गौतमको अनुसार विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज) को निर्णयको आधारमा उक्त प्रस्ताव गरिएको हो । सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको छ ।

खोपको दोस्रो मात्रा जति ढिला लगायो उति नै शरीरमा एन्टिबडी प्रभावकारी हुने कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती बताउँछन् । ‘हामीले २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्छ भन्दा सेजले यस्तो निर्णय गरेको थिएन, पछिल्लो परिमार्जित निर्णय अनुसार हामीले मन्त्रालयलाई यस्तो सिफारिस गरेका हौं’ उनले भने ।

खोप विज्ञसमेत रहेका डा. उप्रेतीका अनुसार  खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिने प्रतिअसरहरु दोस्रो मात्रा लगाउँदा कम देखिन्छ । त्यसैगरि कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलतालाई घटाउने समेत उनले बताए । उनले भने,  ‘खोप लिइसकेका व्यक्तिलाई संक्रमण भएर गम्भीर असर नगरेतापनि सार्ने सम्भावना भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।’

खोप समितिको प्रस्तावलाई स्वास्थ्य मन्त्रालयले भने स्वीकृत गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?