Comments Add Comment

कांग्रेसको विरोध प्रदर्शन : नेतैपिच्छे फरक राजनीतिक लाइन

४ फागुन, काठमाडौं । राजनीतिक दलले किन विरोध प्रदर्शनका कार्यक्रम आयोजना गर्छन् ? सामान्यतया कुनै पनि विषयमा राज्य र गैरराज्यले पक्षले लिएका कुनै निर्णय वा गतिविधिको विरोध गर्न । जनतालाई आफ्नो कुरा भनेर आफ्नो पक्षमा समर्थन जुटाउन अनि आवश्यक परेमा आन्दोलनका लागि जनतालाई उत्प्रेरित गर्न । अनि कुनै पनि राजनीतिक घटनाक्रमको बारेमा पार्टीको राजनीतिक लाइन के हो भनी जनता र कार्यकर्तालाई स्पष्ट पार्न ।

यतिबेला संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा राजनीतिक दलहरुले आन्दोलन गरिरहेका छन् । नेकपाको प्रचण्ड-नेपाल समूहजस्तै नेपाली कांग्रेस पनि पुस ५ गतेदेखि नै आन्दोलित छ । कांग्रेसको विरोध प्रदर्शन त झन् तल्लो तहसम्म नै पुगेको छ ।

पुस ५ देखि नै ओलीको कदमको विरोध भन्दै कांग्रेसका शीर्षदेखि युवा नेता देश दौडाहामा छन् तर यस संवैधानिक र राजनीतिक संकटमा पार्टीको लाइन के हो जनतालाई बताउन सकेका छैनन् । उनीहरु पार्टीको होइन, आफ्नो बुझाइ र राजनीतिक लाइन कायकर्तालाई बताइरहेका छन ।

सोमबार मात्रै नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्‍यो । तर यस अगाडि झै सोमबारको प्रदर्शनलाई सम्बोधन गर्ने कांग्रेसका नेताहरुले एकापसमा फरक र विरोधाभाष अभिव्यक्ति दिए ।

विशेषत पार्टीका शीर्ष नेताहरुको मात्र होइन, युवा नेताहरुको विचमा नै कार्यकर्ता र जनतालाई दिने राजनीतिक सन्देशमा नै भिन्नता देखियो ।

यसले नेपाली कांग्रेसका कार्यकर्तामा ठूलो अन्योल सिर्जना गर्ने देखिन्छ- चुनावको तयारी गर्ने कि आन्दोलनको ? किनभने कुनै नेताले स्पष्ट रुपमा चुनावको तयारी गर्न र कोहीले आन्दोलन गर्नुपर्ने बताइरहेका छन् ।

संसद विघटनको सवालमा मात्र होइन अदालत, निर्वाचन आयोग, विभिन्न संवैधानिक आयोगमा भएका नियुक्ति लगायतका विषयलाई हेर्ने विषयमा पनि कांग्रेस नेताहरुले फरक र विरोधाभाष अभिव्यक्ति दिइरहेका छन् ।

प्ाार्टी सभापति शेरबहादुर देउवाको भाषणलाई हेर्ने हो भने उनी जसरी पनि निर्वाचनको पक्षमा रहेको देखिन्छ । उनले निर्वाचनको तयारी अगाडि नबढाएको निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘निर्वाचन आयोगलाई मतलब नै छैन । यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।’ देउवाले संसद विघटनको विषयमा सर्वाेच्च अदालतले जे निर्णय गर्छ, त्यही मान्ने पनि बताएका छन् ।

तर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजनीतिक लाइन भने अलिक पृथक छ । उनले धादिङमा आयोजना गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै मध्यावधि निर्वाचनले कुनै पनि हालतमा स्थायित्व नल्याउने बताए । पौडेलले भने, ‘झण्डै दुई तिहाइको सरकार चलाइरहेको ओलीले पार्टीभित्रको विवादका कारण संसद भंग गरे, भएको स्थायित्वलाई कायम राख्न नसक्ने, स्थायित्वको लागि चुनाव भनेर मात्रै हुन्छ ?’

देउवा र पौडेल मात्र होइन, सोमबार ७७ वटा जिल्लामा आयोजना गरिएका विरोध प्रदर्शनमा कांग्रेस नेताहरुले गरेको भाषणलाई हेर्दा नेताहरुले आफ्नो राजनीतिक लाइन व्यक्त गरेको पाइन्छ । अर्काे उदाहरण संवैधानिक निकाय र आयोगहरुमा भएको राजनीतिक नियुक्ति हो । यस विषयमा पार्टीको धारणा के हो स्पष्ट छैन । तर, पार्टीका वरिष्ठ नेता शेखर कोइरालाले अब बन्ने सरकारले यस विचमा भएका संवैधानिक आयोगहरु खारेज गर्ने बताए ।

धरानमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘संवैधानिक परिषदका सबै नियुक्तिहरुलाई अब बन्ने सरकारले पक्कै पनि खारेज गर्नेछ ।’

नेताहरुको यो विरोधाभाष अभिव्यक्तिको विचमा सामान्य कार्यकर्ताले नेपाली कांग्रेसको संस्थागत धारणा के हो भनी कसरी बुझ्ने ? कम्तीमा सर्वाेच्च अदालतको फैसला नआउँदासम्म कांग्रेसको राजनीतिक लाइन स्पष्ट हुने देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

चर्चामा मलिका

Advertisment