Comments Add Comment

घुँडाको चोटका कारण सावित्रा करिब एक वर्ष मैदान बाहिर हुने

फाइल तस्वीर

४ फागुन, काठमाडौं । नेपाली महिला फुटबलकी गोल मेसिनको रुपमा चिनिने सावित्रा भण्डारी साम्बा करिब एक वर्ष मेदान बाहिर रहने भएकी छन् ।

अहिले भइरहेको राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत सोमबार नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएकी सावित्रा घुँडाको चोटका कारण लामो समय मैदान बाहिर रहने भएकी हुन् ।

एपीएफले पुलिसाई २-१ ले पराजित गरेको खेलमा सावित्रा ६९औं मिनेटमा घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन् ।

सोमबारै उनको एमआरआई गरिएको थियो । र मंगलबार आएको रिपोर्टमा सावित्राको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएकोले लामो समय मैदान बाहिर बस्नुपर्ने भएको हो । घुँडाको शल्यक्रिया नै गर्नुपर्ने भएको उनले बताइन् । उनले फेरि एक पटक डक्टरसँग सल्लाह गरेपछि सबै विस्तृत थाहा हुने बताइन् ।

नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक ३८ गोल गरेकी सावित्रा घरेलु फुटबलमा एपीएफमा आबद्ध भएर खेल्दै आएकी छन् ।

उनले जारी महिला लिगमा १० खेलबाट ४३ गोल गरेकी छन् र सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छिन् ।

सावित्राकै उत्कृष्ट प्रदर्शनमा एपीएफले लिगमा लगातार १० खेल जित्दै ३० अंक जोडेको छ । एपीएफले लिगमा अब २ खेल खेल्न बाँकी छ । बुधबार हुने विराटनगर विरुद्धकव खेल जितेमा एपीएफ एक खेल अघि नै लिग च्याम्पियन बन्नेछ । आर्मी समान खेलबाट २५ अंकसहित दोस्रो स्थानमा छ ।

तर विराटनगर विरुद्धको खेलमा एपीएफलाई सावित्राको अभाव भने हुनेछ ।

एपीएफकी प्रशिक्षक भगवती थापाले सावित्रा टिमको महत्वपूर्ण खेलाडी भएको बताउँदै उनी नहुँदा टिममा असर पर्ने बताएकी थिइन् ।

चोटका कारण सावित्राले बाँकी खेल गुमाउने

‘उनी नहुँदा असर त गर्छ । हरेक म्याच भाइटल हुन्छ,’ थापाले भनिन्, ‘सावित्रा जसरी स्ट्राइकरको रुपमा छिन् । स्कोर गरिराछ भने हाम्रो अर्को स्ट्राइकरमा त्यो क्वालिटी छैन । उनी एपीएफको लागि महत्वपूर्ण छिन् । एपीएफमा मात्र होइन नेपालमै उनी जस्तो क्वालिटीको अर्को स्ट्राइकर देखिदैन ।’

थापाले विराटनगर विरुद्धको खेल जित्नुपर्ने वा बराबरी गर्नुपर्ने बताइन् ।  ‘विराटनगरको गेम पनि हाम्रो लागि भाइटल नै छ । उपाधि जित्न अब विराटनगरलाई जित्यो भने हुन्छ । त्यो म्याच जित्नुपर्‍यो वा ड्र हुनुपर्‍यो, हार्नु भएन ।’

एपीएफले बुधबार विराटनगरसँग खेल्नुअघि दुई विभागीय टोली आर्मी र पुलिसबीच त्यही दिन खेल हुनेछ । उक्त खेलमा आर्मी पराजित भएमा एपीएफले विराटनगरसँग खेल्नुअघि नै उपाधि पक्का गर्नेछ ।

एपीएफ र आर्मीबीचको अन्तिम लिग खेल फागुन ७ गते दशरथ रंगशालमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment