Comments Add Comment

कोरोनाविरुद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयलाई एक अर्ब बजेट स्वीकृत

५ फागुन, काठमाडौं । कोरोना खोप खरिद गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थले कोरोना खोप खरिद गर्न यसअघि ५० करोड स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको थियो ।

थप ५० करोड रुपैयाँ मंगलबार स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले सरकारद्वारा कोरोना खोप खरिद गर्न खोलिएको कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको थियो । यो रकम सवास्थ्य मन्त्रालयले खोप खरिदमा प्रयोग गर्न सक्नेछ ।

यसअघि मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । सो प्रयोजनका लागि स्वास्थ्यबाट अग्रिम रकम माग भएको थियो ।

सोहीअनुसार अर्थले बजेट स्वीकृत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिना भित्र सबै नागरिकलाई खोप दिइसक्ने प्रतिवद्धता गरेका थिए । त्यसलाई संशोधन गर्दै प्रधानमन्त्री स्वयमले तीन महिनाभित्र प्राथमिकतामा रहेका नागरिक र एक वर्षभित्र सबै नागरिकलाई निःशुल्क कोरोना खोप दिइसक्ने जानकारी गराएका छन् ।

खोपका लागि ४८ अर्ब चाहिने अनुमान

भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । यसबाहेक चीनले ५ लाख डोज खोप दिने बताएको छ । यसबाहेक अन्य आवश्यक खोप भने सरकारले खरिद गर्नुपर्नेछ ।

खोप किन्न मात्र ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । यो र्खा चालु आर्थिक वर्षको विनियोजन बजेट भन्दा बाहेकबाट उत्पन्न भएको खर्च हो ।

यो वर्ष आमनिर्वाचन र खोपका लागि मात्र अतिरिक्त खर्चको जोहो गर्नुपर्ने चापमा अर्थ मन्त्रालय रहेको छ । यो वर्ष चालु खर्च बढाउन समेत यी दुई शीर्षकमा हुने खर्चमै सरकारले प्राथमिकता दिएको छ ।

कसरी जोहो गरिनेछ बजेट ?

अर्थ मन्त्रालयका अनुसार कोरोना खोप र निर्वाचनका लागि चाहिने रकमको जोहो गर्न दातृ निकायबाट प्राप्त हुने स्रोतको अधिकतम उपयोग हुनेछ । यसबाहेक खर्च नहुने कार्यक्रम तथा आयोजनाबाट बजेट समर्पण गराउन लगाउने नीति अर्थ मन्त्रालयले लिएको छ ।

यसबाहेक स्रोतान्तरण, रकमान्तरबाट समेत रकमको जोहो गर्ने तयारी सरकारको छ ।

निर्वाचन आयोगलाई ७ अर्ब स्रोत सुनिश्चित

अर्थले निर्वाचन आयोगका लागि भने ७ अर्बको स्रोत सुनिश्चितता दिइसकेको छ । यद्दपी निर्वाचन खर्चको कुल रकमको टुंगो भने लागिसकेको छैन ।

आवश्यकताका आधारमा निर्वाचन आयोगलाई समेत रकम दिने प्रतिवद्धता भने अर्थ मन्त्रालयले गरेको छ ।

चालु आवमा अहिलेसम्म कोरोना खोप र महामारी व्यवस्थापनमा भएको खर्च

  • कोभिड १९बाट प्रभावित व्यवसाय संचालन गर्न राष्ट्र बैंकबाट खडा गरिएको कोष : १ अर्ब
  • कोभिड १९ व्यवस्थापन : ५३ करोड ४४ लाख
  • कोभिड खोप कोष : ५० करोड
  • स्वास्थ्य मन्त्रालयलाई खोप खरीद गर्न दिइएको स्वीकृति : ५० करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment