Comments Add Comment

व्यायाममा बाहना किन ?

व्यायाम गर्नु शारीरिक र मानसिक स्वास्थ्यको लागि सर्वोत्तम विकल्प हो भन्ने सामान्य ज्ञान सबैलाई छ । व्यायामले शरीर फुर्तिलो, चुस्त, छरितो र स्वस्थ हुन्छ भन्ने कुरा पनि अब दोहो¥याउनु पर्ने विषय भएन । तर, यति हुँदाहुँदै पनि धेरैजसोले व्यायाम गर्दैनन् ।

व्यायाम गर्न धेरैलाई जाँगर नै चल्दैन । त्यसैले ‘भोलिदेखि गर्छु’ भन्दै उनीहरु टार्ने गर्छन् । कुनै दिन कामको चाप छ भनेर त कुनैदिन मुड ठीक छैन भनेर व्यायाम गर्दैनन् । कुनैदिन मौसमलाई दोष दिएर उम्कन्छन् । उनीहरु भन्छन्, अहिले जाडो मौसम छ अब गर्मी लागेपछि सुरु गर्छु । उनीहरु भन्छन्, यो बर्ष यस्तै भइहाल्यो आगमी बर्षदेखि गर्छु । यसरी अनेक बाहना गरेर व्यायाम गर्दैनन् ।

जरुरी छ व्यायाम

शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा एक सय पचास मिनेट शारीरिक गतिविधि गर्न जरुरी छ । शारीरिक व्यायाम गर्नका लागि योग, एरोविक्स लगायतका अन्य शारीरिक गतिविध गर्न सकिन्छ । तथापि जुनसुकै गतिविधि सुरु गर्दा पनि विस्तारै-विस्तारै तथा थोरैबाट सुरु गरेर क्रमशः समय बढाउँदै लैजानुपर्छ । त्यसको लागि निश्चित लक्षण निर्धारण गर्नुका साथै आफूलाई उत्प्रेरित गर्न जरुरी छ ।

केही नगर्नुभन्दा केही गर्नु राम्रो भने झै कम्तीमा पाँच मिनेट शारीरिक गतिविधिबाट पनि व्यायाम सुरु गर्न सकिन्छ । यसलाई पछि विस्तारै बढाउन सकिन्छ । व्यायाम गर्दा एरोविक  तथा शरीर सुगठित बनाउने व्यायाम गर्न सकिन्छ । कुनै व्यक्ति विकलाङ्ग भएमा चिकित्सकको सल्लाह अनुसार सक्रिय जीवन जिउन सकिन्छ । त्यसबाहेक, मुटु रोग, उच्च रक्तचाप, मधुमेह तथा अन्य कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले पनि चिकित्सकको सल्लाह अनुसार नै व्यायाम गर्न सक्दछन् ।

सातामा कम्तीमा साढे दुई घण्टा मुटुको धड्कन बढ्ने, पसिना आउने किसिमको व्यायाम गर्न जरुरी छ । यसको लागि फटाफट हिँड्ने, बास्केटबल, फुटबल लगायतको खेल खेल्ने, डान्स गर्ने लगायतका गतिविधि गर्न सकिन्छ । त्यसबाहेक यस्ता प्रत्येक गतिविधिलाई दश-दश मिनेटको गतिविधिमा बाँडेर दश मिनेट फटाफट हिँड्ने, दश मिनेट डान्स गर्नेजस्ता गतिविधि गर्न सकिन्छ ।

शरीरको तौल कम गर्न चाहनेहरूका लागि दिनमा कम्तीमा पनि तीस मिनेटभन्दा बढी व्यायाम गर्न जरुरी छ । यस्ता एक्सरसाइज बिहान मात्र गर्नुपर्छ भन्ने पनि छैन । त्यस्तै हड्डी तथा मांसपेशीलाई बलियो बनाउन तथा तागतिलो बनाउन सातामा कम्तीमा दुई पटक  व्यायाम गर्न सकिन्छ ।

विशेषगरी हातखुट्टा, ढाड, पेट, छाती, कुम लगायतका शरीरको विभिन्न अंग बलियो बनाउन सातामा कम्तीमा दुईदेखि तीन पटक वेट लिफ्टिङ्गजस्ता व्यायाम गर्न सकिन्छ । यसका लागि कुनै पनि प्रकारको सामान्य व्यायाम वा गतिविधिबाट दिनको सुरुवात गर्न सकिन्छ । फिटनेस ट्रेनरको सल्लाह अनुसार पनि घुम्ने, टहल्ने, टेनिस, फुटबल आदि गेम खेल्ने तथा अन्य विभिन्न गतिविधि अपनाउन सकिन्छ ।

कुनै पनि गतिविधिको समयावधि बढाउन आफूलाई मन लागेको कुनै एक व्यायाम गर्न सकिन्छ । ताकि उक्त गतिविधि गर्न कुनै अफ्ठेरो महसुस नहोस् ।

दैनिक आधा घण्टादेखि  एक घण्टा व्यायाम गर्न सुरुसुरुमा जोसुकैका लागि कठिन हुनसक्छ । त्यसैले, कुनै पनि एक्सरसाइज सुरु गर्दा सुरुका दिनमा दश मिनेटबाट सुरु गरेर  त्यसलाई कम्तीमा पाँच दिन नियमित गर्दै लैजानुपर्छ । त्यसपश्चात् प्रत्येक साता  पाँच , दश मिनेट जोड्दै लगेर दिनमा ३० देखि ६० मिनेट सक्रिय रहन सकिन्छ । त्यति मात्र हैन, स्वस्थ रहनका लागि वयष्कहरुलाई मध्यम तथा तीव्र किसिमको एक्सरसाइज सातामा १ सय ५० मिनेट देखि साढे दुई घण्टासम्म गर्नु आवश्यक छ । यस्ता एक्सरसाइजले मुटुलाई स्वस्थ राख्नुका साथै श्वासप्रश्वास सम्बन्धी गतिविधि सुचारु बनाउन सहयोग गर्छ । कहिलेकाही यस्ता गतिविधि गर्दा ३० मिनेट एकै पटक एक्सरसाइज गर्न नसकेको खण्डमा १० दश मिनेटको ब्रेक लिएर पनि त्यस्ता एक्सरसाइजलाई पूरा गर्न सकिन्छ ।

व्यायाम गर्नका लागि टिभी हेर्ने, भिडियो गेम खेल्ने तथा इन्टरनेट चलाउने समयमा कटौती गर्न सकिन्छ ।  त्यसबाहेक, परिवारको साथमा कतै घुम्न गएर, व्याडमिन्टन खेलेर तथा पार्कमा घुम्न गएर आफूलाई सक्रिय राख्न सकिन्छ ।

धेरै जसो मानिस गर्मी तथा वर्षातको वहाना बनाएर व्यायाम गर्न  हच्किन्छन् । जबकि निश्चित लक्ष्य लिएको खण्डमा जुनसुकै मौसममा पनि उत्तिकै सक्रिय रहेर व्यायामलाई निरन्तरता दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment