Comments Add Comment

रेसुंगा घटनाको सत्य तथ्य पत्ता लगाउन माग गर्दै गुल्मीमा प्रदर्शन

६ फागुन, गुल्मी । गुल्मीको रेसुंगामा एक महिला वेपत्ता र उनकी सासु मृत भेटिएको विषयलाई लिएर स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

रेसुङ्गा नगरपालिका–३ भाडगाउँकी २२ वर्षीया सम्झना बोहोरा खत्री माघ २९ गते देखि वेपत्ता छिन् भने उनकी सासु फागुन १ गते घरनजिकै मृत भेटिएकी छिन् ।

वेपत्ताको खोजीका लागि भन्दै सम्झनाको परिवारले माघ ३० गते प्रहरीमा निवेदन दिए पनि सम्झनाको माइती पक्षले श्रीमान र सासूसँग पहिलेदेखि बेमेल रहेको आरोपसहित प्रहरीमा निवेदन दिएको थियो । सोही घटनाको अनुसन्धानका लागि प्रहरीले सम्झनाका श्रीमान नेत्रबहादुर खत्रीलाई हिरासतमा राखेको छ भने सासु तोमकला खत्रीलाई सोधपुछ गरी घर पठाएको थियो ।

तर फागुन १ गते तोमकला झुण्डिएको अवस्थामा मृत फेला परिन । त्यसअघि तोमकलाले २९ गते राति घरमा सासू, बुहारी र सानो बच्चा मात्र भएको अवस्थामा तीन जना अपरिचित व्यक्ति घरमा प्रवेश गरेको बताएको स्थानीय पूर्ण केसीले बताए ।

अहिले सासूको मृत्यु भइसकेको र बुहारी बेपत्ता भएको भन्दै घरपरिवार र सम्झनाका माइती पक्षले दुवै घटनाको न्यायिक छानविनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । तर प्रहरीले यस बिषयमा छानविनमा ढिलासुस्ती गरेको भन्दै जनप्रतिनिधि, महिला अधिकारकर्मी र दुवै परिवारका सदस्यहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको नेतृत्वमा घटनाको सत्यतथ्य छानविनको माग गर्दै रेसुङ्गा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, महिला अधिकारीकर्मी, दुवै परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । नाराबाजी गर्दै गएको टोली र प्रहरीबीच केही समय तनावको स्थिति सिर्जना भएको थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठ र रेसुंगाका मेयर डिल्लीराज भुसालसहितका जनप्रतिनिधि, राजनीतिक दल र अधिकारकर्मीबीच बिहीबार यस विषयमा छलफल भएको थियो ।

छलफलले मृत फेला परेकी खत्रीको शबको पोस्मार्टम गर्ने, अनुसन्धानलाई फराकिलो बनाएर लैजाने निष्कर्श निकालेको एक सुरक्षा अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment