Comments Add Comment

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

७ फागुन, काठमाडौं । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहभागीतामा आयोजना गरिएको समारोहमा साँस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको थियो ।

यसैगरी नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०७७’ लेखिएको ब्यानर फहराइएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोकतन्त्रको बाटोलाई नबिराउने बताए ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठलगायतले बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलन भयो । जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भएको थियो ।

त्यसपछि तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष सैनिकमञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरी प्रजातन्त्र दिवस मनाउँदै आएको छ । सबै जिल्लाहरुमा पनि यो दिवस मनाउने गरिन्छ ।

तीन दिनसम्म दिवस मनाउने क्रममा बिहीबार साँझ काठमाडौं महानगरपालिकाको आयोजनामा दरबारमार्गमा साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

फोटाहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment