Comments Add Comment

१०-० ले विजयी हुँदै पुलिस तेस्रो, १२ वटै खेलमा हार्‍यो चौदण्डीगढी

७ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगमा तेस्रो भएको छ । शुक्रवार भएको आफ्नो अन्तिम खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० को फराकिलो अन्तरले पराजित गर्दै पुलिसले तेस्रो स्थान पक्का गरेको हो ।

१२ खेलबाट पुलिसले १८ अंक जोड्यो । चौदण्डीगढीले भने सबै १२ खेलमै हार व्यहोर्‍यो । यसअघि नै एपीएफले उपाधि पक्का गरिसक्दा आर्मी दोस्रो बनिसकेको छ । एपीएफ र आर्मीबीच शुक्रवारै लिगको अन्तिम खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसलाई जित दिलाउन निरु थापाले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै निर्मला विकले ह्याट्रिक गरिन् । सुनकली राई र अमृता जैसीले एक गोल गरिन् । एक गोल उदयपुरका खेलाडीले आत्मघाती गरेका थिए । निरुले खेलको तेस्रो छैटौं र ११औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । उनले २८औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् । यस्तै निर्मला विकले ३६औं, पहिलो हाफको इन्जुरी टाइम र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

यस्तै ६१औं मिनेटमा सुनकला राईले गोल गरिन् । ३०औं मिनेटमा चौदण्डीगढीकी सुजाता राईले आत्मघाती गोल गरेकी थिइन् । अमृता जैसीले इन्जुरी टाइममा गोल गरिन् ।

पहिलो चरणमा पुलिसले चौदण्डीगढीलाई ६-० ले पराजित गरेको थियो ।

१२ खेलबाट ५ जित, ३ बराबरी र ४ हारसहित १८ अंक जोडेको पुलिसले वालिङ नगरपालिका र विराटनगर महानगरपालिकालाई पछि पारेको हो । १७ अंकसहित वालिङ चौथो र विराटनगर १६ अंकसहित पाँचौ भएको छ । पुलिस एपीएफसँग दुवै खेलमा पराजित भएको थियो भने वालिङ र विराटनगरसँग एक-एक खेलमा हार व्यहोरेको थियो । यस्तै आर्मीलाई भने दुवै खेलमा बराबरीमा रोकेको थियो ।

तेस्रो बनेको पुलिसले ५ लाख पुरस्कारसमेत पक्का गरेको छ । यस्तै चौथो भएको वालिङले ३ लाख पाउनेछ ।

चन्द्रपुर ९ अंक जोड्दै छैटौं स्थानमा रह्यो । यस्तै लिगको सबै खेल हारेको चौदण्डीगढीले अंकविहीन हुँदै लिग सकायो । चौदण्डीगढीले १२ खेलमा जम्मा ४ गोल गर्दा १०६ गोल व्यहोर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment