Comments Add Comment

अस्ट्रेलियाको समाचारमा प्रतिबन्ध लगाएकोमा फेसबुकको चौतर्फी आलोचना

७ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा समाचार कन्टेन्टमा प्रतिबन्ध लगाएसँगै अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ । अस्ट्रेलियाको सरकारले ल्याएको नयाँ नियममा आपत्ति जनाउँदै फेसबुकले अस्ट्रेलियामा समाचार कन्टेन्टमा रोक लगाउने निर्णय गरेको थियो ।

सरकारले ल्याएको नयाँ नियमअनुसार फेसबुकले समाचारका कन्टेन्टको लागि पैसा बुझाउनुपर्ने हुन्छ । फेसबुकले यो नियममा आपत्ति जनाएको हो । फेसबुकले यो नियमले सम्बन्धमा ‘आधारभूतरुपमा गलत बुझाइ’ हुन सक्ने भन्दै आलोचना गरेको छ । यद्यपि विश्वभरका नेता, प्रकाशक र अधिकारवादी समूहले फेसबुकको यो कदमलाई अनुचित र मानिसहरुलाई सूचनाबाट वञ्चित राख्ने कदम भएको बताएका छन् ।

फेसबुकको नयाँ नियमअनुसार अस्ट्रेलियाका प्रयोगकर्ताले स्थानीय र अन्तर्राष्ट्रिय समाचार फेसबुकमा शेयर गर्न र हेर्न पाउँदैनन् । साथै स्थानीय प्रकाशकले आफ्नो पेजमा कुनै पनि कन्टेन्ट शेयर वा पोस्ट गर्न पाउँदैनन् । यसै क्रममा केही सरकारी स्वास्थ्य र आपतकालीन सेवाका पेजहरु पनि बन्द भएको थियो । फेसबुकले अन्य पेजहरु बन्द हुनु गल्ती भएको भन्दै अहिले पुनः त्यस्ता पेजहरु खुल्न थालेको बताएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अस्ट्रेलियामा आफ्नो सेवा नै बन्द गर्ने निर्णय अहंकारपूर्ण तथा दुःखद् रहेको बताएका छन् । अन्य अस्ट्रेलियाली अधिकारीहरुले पनि फेसबुकको आलोचना गरेका छन् । यसले अस्ट्रेलियाको समुदायमा ठूलो असर पार्न सक्न उनीहरुले चिन्ता व्यक्त गरेका छन् । अस्ट्रेलियाले यस विषयमा सहयोगको लागि अन्य मुलुकसँग पनि कुरा भइरहेको बताएको छ । वेस्टर्न अस्ट्रेलियाका प्रिमियर मार्क म्याकगोवानले फेसबुकले उत्तर कोरियाका शासकले जस्तो व्यवहार देखाएको आरोप लगाएका छन् । धेरैले फेसबुकमा समाचार कन्टेन्टलाई प्रतिबन्ध लगाउँदै धेरै गलत सन्देश र बनावटी मिथ्या सूचनाहरु फैलिनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment