
७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेकी छिन् । प्रदेश प्रमुख बन्नुअघि नेकपाका नेता रहेका परियार ओली समूहमा नलागेका कारण उनलाई हटाइएको हो ।
परियारलाई हटाएलगत्तै शुक्रबार नै मधेस मिडिया हाउसका पत्रकार डा. राजेश अहिराजलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रदेश प्रमुखको सपथ ग्रहण गराएकी छन् ।
प्रदेश प्रमुखको सपथ ग्रहण कार्यक्रम उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले भने बहिस्कार गरेका छन् ।
तर उक्त सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भए ।
संसद विघटन गर्ने सरकारको कदमप्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति राख्दै आएका छन् । प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णयप्रति असन्तुष्ट रहेकाले उनीहरु सहभागी नभएको स्रोतको भनाइ छ ।
संविधानको धारा १६३ मा नेपाल सरकारको प्रतिनिधिका रुपमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने प्रावधान छ । राष्ट्रपतिले पदावधि समाप्त हुनुअगावै पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि ५ वर्षको हुने संवैधानिक व्यवस्था छ ।
पत्रकार अहिराज पछिल्लो समय मधेस केन्द्रित दलहरुको खरो आलोचना गर्दै केपी ओलीको कदमको समर्थनमा खुलेर लागेका थिए ।
प्रतिक्रिया 4