Comments Add Comment

भारतमा फेरि कोरोना कहर : महाराष्ट्रमा सार्वजनिक भेला हुन रोक

१० फागुन, काठमाडौं । कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ ।

मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘महामारीले हाम्रो राज्यमा फेरि टाउको उठाउँदै छ । लकडाउनबाट मात्र कोभिड-१९ समाधान हुँदैन तर भाइरसको फैलावटलाई रोक्न यो एक मात्र विकल्प हो ।’

बढ्दो संक्रमणका कारण भारत एकपटक फेरि कोरोनाको एक्टिभ केस भएका विश्वका देशहरुको सूचीमा १५ औं स्थानमा पुगेको छ

मुख्यमन्त्री ठाकरेले कोरोना संक्रमणबाट जोगिने नियमहरुको पालना नगर्नेहरुलाई सजायँ दिने चेतावनीसमेत दिएका छन् ।

भारतको महाराष्ट्र कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने राज्यमध्ये एक हो । अहिले फेरि संक्रमणको लहर देखिएपछि सरकारले प्रतिबन्धात्मक उपायहरु पालना गर्न आम नागरिकलाई अनुरोध गरेको छ । यो कोरोना संक्रमणको अर्को लहर हो कि होइन भन्ने कुरा ८ देखि १५ दिनभित्रै थाहा हुने मुख्यमन्त्री ठाकरेको भनाइ छ ।

भारतको महाराष्ट्रमा कोरोना संक्रमण बढ्दै गएपछि अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन सुरु गरिँदै छ । लकडाउन एक मार्चदेखि लागु हुने छ । संक्रमण बढ्दै गएपछि पुणेमा रात्रीकालीन कर्फ्यु लगाइएको छ ।

भारतका ९१ जिल्लामा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । तीमध्ये ३४ जिल्ला महाराष्ट्रका र १६ जिल्ला कर्नाटकका छन् ।

यसैगरी हरियाणा, पन्जाब, छत्तीसगढ, गुजराज र बिहारका ४–४ जिल्ला तथा केरलाका दुई जिल्लामा पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ ।

यी जिल्लाहरुमा दिनहुँ कोरोना संक्रमणबाट मुक्त हुनेहरुको भन्दा नयाँ संक्रमितको संख्या धेरै देखिएको छ । बढ्दो संक्रमणका कारण भारत एकपटक फेरि कोरोनाको एक्टिभ केस भएका विश्वका देशहरुको सूचीमा १५ औं स्थानमा पुगेको छ ।

भारतको केन्द्र सरकारले कोरोना संक्रमण दिनहुँ बढ्दै गएका राज्यहरुलाई कडा निगरानी, परीक्षण र कोरोना खोपमा ध्यान केन्द्रित गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment