Comments Add Comment

श्रीमती हत्या आरोपमा एक व्यक्ति पक्राउ

११ फागुन, वीरगञ्ज । घरायसी विवादमा श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा तेह्रथुमबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले तेह्रथुमको छथर गाउँपालिका– १ बस्ने ५२ वर्षीय तेन्जे शेर्पालाई पक्रेको हो ।

०७७ फागुन ३ गते राति घर व्यवहारको विषयमा विवाद हुँदा शेर्पाले ५६ वर्षीया श्रीमती छिरिङ डोमा शेर्पालाई कुटपीट गरी हत्या गरेको दाबी प्रहरीले गरेको छ । प्रहरीले छिरिङको शव फागुन ५ गते साँझ ७ बजे घरकै कोठामा फेला पारेको थियो ।

घटनापछि फरार तेन्जेको प्रहरीले खोजी गरिरहेको थियो । सोही क्रममा फागुन ९ गते दिउँसो ३ बजे मेचीनगर नगरपालिका– ६ काँकडभिट्टा बजारबाट तेन्जेलाई पक्राउ गरिएको थियो ।

झापाबाट इलाका प्रहरी कार्यालय बसन्तपुर, तेह्रथुम झिकाई फागुन १० गते सोमबार उनी विरुद्ध कर्तव्य ज्यान मुद्धामा तेह्रथुम जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले प्रारम्भिक अनुसन्धानका क्रममा दुवैजनाले मादक पदार्थ सेवन गरी आपसमा वादविवाद गरेको र कुटपिटको क्रममा छिरिङको मृत्यु भएको तथ्य बाहिर आएको जानकारी दिए । ‘दुवैजना मादक पदार्थ सेवन गरी पटक पटक झैझगडा गर्ने गर्दो रहेछन् । सोही क्रममा कुटपिट हुँदा भोलिपल्ट बिहान मात्रै श्रीमतीको मृत्यु भएको थाहापाएपछि भागेको उनले स्वीकार गरेका छन्,’ उनले भने, ‘ मृतक महिलाको शरीरभर निलडाम थियो । खोजतलास गरेर तेन्जेलाई पक्राउ गर्न सफल भएका छौं । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

आमाबुबाबीच झै झगडा भइरहने गरेकोले छोराहरु समेत घरमा नबस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment