Comments Add Comment

प्रचण्ड-माधव समूहले देशैभर खुसियाली सभा गर्दै

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-माधव समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको छ ।

संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड-माधव समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सो समूहले त्यो प्रदर्शनको स्वरुप परिवर्तन गरी आज देशैभर खुसियाली मनाउन लागेको हो ।

संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

सरकारविरुद्ध संघर्षमा सक्रिय युवा संघका सहसंयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आज शान्तिवाटीकामा भेला भएर संसद पुनर्स्थापनाको स्वागत गरिने बताए ।

‘सर्वोच्चले संसद पुनर्स्थापना गर्ने फैसलाले जनताको जीत भएको छ, जनता विजय भएको खुसियालीमा शान्तिवाटीकामा कार्यक्रम गर्दैछौं,’ दीपशिखाले भने । कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल पनि सहभागी हुने उनले बताए । प्रचण्ड र नेपाल चितवनमा छन् । उनीहरु आजै काठमाडौं आउँदैछन् ।

उपत्यका संघर्ष समितिको नेतृत्व गर्दै आएकी नेकपा नेतृ पम्फा भुसालले जनवर्गीय संगठनका नेताहरुलाई मंगलबार बेलुकी नै टेलिफोन गरी शान्तिवाटीकामा भेला हुन भनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment