Comments Add Comment

चितवनको सभालाई सम्बोधन नगरी काठमाडौं फर्किए प्रचण्ड र माधव नेपाल

१२ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । उनीहरु बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् ।

बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलवार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि उनीहरुले विरोध सभालाई विजयसभा बनाउने बताएका थिए ।

काठमाडौं पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले प्रचण्ड र नेपाल चितवनको सभालाई सम्वोधन नगरी काठमाडौं फर्किएको नेकपा चितवनले जनाएको छ ।

प्रचण्ड–माधव समूहले आज अपराह्न संसदीय दलको बैठक समेत आह्वान गरेको छ । त्यसअघि सो समूहले काठमाडौंको शान्तिवाटीकामा विजय सभा आयोजना गर्दै छ ।

प्रचण्ड र नेपालको अनुपस्थितिमा चितवनको सभालाई पूर्वमन्त्री सुरेन्द्र पाण्डेलगायतका नेताले सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment