Comments Add Comment

फुटबलमा राष्ट्रिय महिला लिगले देखाएको सम्भावना

११ फागुन काठमाडौं । पहिलो पटक डबल राउन्ड रोविनको आधारमा खेलाइएको राष्ट्रिय महिला फुटबल लिग एपीएफले उपाधि जित्दै सकिएको छ ।

विगतमा छोटो समयमा सकिने महिला लिग यस पटक एक महिनासम्म सञ्चालन भयो । एपीएफसँगै नेपाल आर्मी, नेपाल पुलिस गरी तीन विभागीय टोली र विभिन्न ४ वटा नगरपालिकाका टोली गरी ७ टिमले ४२ खेल खेलेको लिगमा केही विदेशी खेलाडी पनि सहभागी थिए ।

स्याङ्जाको वालिङ नगरपालिकाले ४ जना क्यामरुनी खेलाडी ल्याएको थियो, जसमा १७ वर्षमुनिको विश्वकप खेलिसकेका खेलाडी समेत सामेल थिए । विराटनगर महानगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाले ४/ ४ जना भारतीय खेलाडी सामेल गरेको थियो । झापाको चन्द्रपुर नगरपालिकाले चाहिँ विदेशी खेलाडी राखेको थिएन ।

लिगको संरचना, टिम छनोट,  डबल लिग, प्रतिस्पर्धा, पुरस्कार राशी, विदेशी खेलाडी आदिका कारण महिला लिग पनि यो वर्ष विशेष रह्यो । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा भन्छन्, ‘लिगमा नयाँ-नयाँ खेलाडीहरु आए, जो आए उनीहरुले स्तरीय खेल खेले । अहिले महिला खेलाडी अभाव छ त्यो अभाव अब कम हुने महसुस भएको छ ।’

यो लिगले राष्ट्रिय महिला फुटबल टिमका लागि खेलाडी छनोट सहज बनाएको शेर्पाले ताए ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड बनेकी एपीएफकी खेलाडी सावित्रा भण्डारी महिला खेलाडीले खेलमा सुधार गर्ने अवसर पाएको बताउँछिन् । ‘पहिला थोरै समय लिग हुन्थ्यो । विभागीय टिमहरु अरु टिममाथि हावी हुन्थे । अहिले सबैले बल पोसेसन राखेर खेल्न थाले । एउटा खेलमा नराम्रो भएपनि अर्को खेलमा सुधार गर्ने अवसर पाए’ लिगमा सर्वाधिक ४३ गोल गरेकी उनले भनिन् ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी सरु लिम्बु विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दा खेलमा सुधार्ने अवसर मिलेको बताउँछिन् । ‘अरु टिमले विदेशी खेलाडी ल्याउँदा हामीले पनि सिक्ने अवसर पायौं, हामीलाई अन्तर्राष्ट्रिय खेल खेल्दा सहयोग पुग्छ’ उनले भनिन् ।

एन्फा अध्यक्ष शेर्पाले महिला फुटबल पनि अब व्यवसायिकतातर्फ उन्मुख भएको बताए । उनले अब अझै प्रतिस्पर्धात्मक र व्यापक बनाउने एन्फाको उद्देश्य रहेको बताए । ‘अब यही सिस्टममा जान्छौँ । नगरपालिका समावेश लिग नै मुख्य लिग हुन्छ । क्लब लाइसेन्सिङ लागु भएपछि त्यही अनुसार अघि बढ्ने छौँ’ उनी भन्छन् ।

एन्फाले २०७६ मै महिला लिग सञ्चालन गर्ने तयारी गरेको थियो । तर कोभिड-१९ महामारीका कारण स्थगित भएको थियो । एन्फा महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले खेल नहुनुभन्दा हुनु राम्रो भएको बताइन् ।

‘हामीले ६ महिना गर्ने तयारी गरेका थियौँ । तर कोभिडले गर्दा सम्भव भएन । करिब एकवर्ष स्थगित भएर लिग सुरु भयो । यस पटक केही परिवर्तन पनि भयो, खेलाडीहरु पनि उत्साहित भए’ लामाले भनिन् । उनले आगामी वर्षमा अझै राम्रो लिग सञ्चालन गर्न सकिने आशा बढेको बताइन् ।

लिगबाट राम्रो प्रतिभा देखिएको लामाले बताइन् । ‘अब राष्ट्रिय टिमदेखि उमेर समूहको टिम बनाउन यस लिगबाट खेलाडी छनोट गर्न सहज हुनेछ’ उनले भनिन् ।

एन्फाका अध्यक्ष शेर्पा ०७८ को राष्ट्रिय महिला लिग तीन चरणमा गर्ने योजना रहेको बताउँछन् । एन्फाले यसअघि नै सार्वजनिक गरेको क्यालेन्डर अनुसार उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ मा हुनेछ । जसको पहिलो चरण साउन र भदौमा हुनेछ भने दोस्रो चरण कात्तिक र मंसिरमा हुनेछ । यस्तै अन्तिम चरण पुस, माघ र फागुनमा हुनेछ । यसरी लिग सञ्चालन गरेमा महिला फुटबलमा अझै प्रतिस्पर्धा बढ्ने शेर्पा बताउँछन् ।

हाल ७ वटा रहेको टिम संख्या अर्को संस्करणमा बढाएर ८ पुर्‍याउने एन्फाको योजना छ । पहिलो चरणमा राष्ट्रिय स्तरको उपमेयर कप फुटबल प्रतियोगिता गर्ने, त्यसबाट ८ टिम छनोट गरी दोस्रो चरणको प्रतियोगिता सञ्चालन गर्ने र त्यसबाट उत्कृष्ट २ टिम राष्ट्रिय लिगको लागि छनोट गर्ने शेर्पाले बताए ।

उक्त २ टिम राष्ट्रिय महिला लिगमा सहभागी हुन पाउनेछन् । ‘चौदण्डीगढी बाहेक अरु ६ टिम अहिलेकै यथावत हुनेछन् । अरु दुई टिम छनोट चरणबाट आउनेछन्’ शेर्पाले भने ।

यस वर्ष विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिकाले छनोट खेल खेलेर लिगमा स्थान बनाएका थिए । जसमा उदयपुरको चौदण्डीगढी खेलेको १२ वटै खेलमा हार व्यहोर्दै अन्तिम स्थानमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment