Comments Add Comment

सपनालाई धम्की दिने विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा

थप ५ दिन हिरासतमा राख्न अनुमति

१३ फागुन, काठमाडौं । बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ ।

विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । यद्यपि, त्यो तस्वीर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ ।

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गर्दै तस्वीरबारे बताएनन् । यद्यपि, साइबर अपराधमा मुद्दा अघि बढाइएको उनले स्वीकारे । भन्छन्, ‘बिहीबार साइबर अपराध सम्बन्धी कसुरमा कारबाहीका लागि ५ दिन म्याद थप गरिएको छ ।’ जिल्ला अदालत, काठमाडौंले कार्कीविरुद्ध अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यसअघि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भएको थियो । बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा प्रहरीले काठमाडौंको गोंगबुस्थित बसपार्कबाट उनलाई ४ फागुनमा पक्राउ गरेको थियो ।

बस्नेतले केही युट्युब च्यालनमा अन्तर्वार्ता दिँदै ‘मेरो मोबाइलमा सपनामा नग्न तस्वीरहरू छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएका थिए । बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए र, काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे ।

तर सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुबीचको सम्बन्धमा फाटो आएको थियो । सपनाले अहिले आफ्नै अगुवाइमा छुट्टै संस्था समेत दर्ता गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment