
१४ फागुन, ललितपुर । जनयुद्धका पहिलो सहिद गोरखाका दिलबहादुर रम्तेलको २६ औं स्मृति दिवसको सन्दर्भमा पूर्वमाओवादीहरुले आज विविध कार्यक्रम आयोजना गरेका छन् ।
प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूले आज दिलबहादुर रम्तेल स्मृति दिवस र आफ्ना पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा वाग्मतीसहित सातवटै प्रदेशमा स्मृति सभा आयोजना गरेको छ ।
आज ललितपुरको पाटन संयुक्त क्याम्पसमा सहिद स्मृति तथा सम्मान कार्यक्रम राखिएको थियो । कार्यक्रममा सहिद रम्तेल लगायतका सहिद तथा वेपत्ता योद्धाहरुको सम्झना र योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा सहिद तथा वेपत्ता योद्धा परिवारका सुरेन्द्र बस्नेत, श्याम रोक्का, जेविन सर्वहारा लगायतलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत, विजय गौतम, दिपेश पुन, आरती लामा, पवन कार्की, हिरेन्द्र शाही लगायतको उपस्थिति थियो ।
वि.सं. २०५२ सालमा गोरखाको पुन्द्रुङस्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । तत्कालीन माओवादीले रम्तेललाई जनयुद्धकै प्रथम सहिद मान्दै आएको छ ।
प्रतिक्रिया 4