Comments Add Comment

वाणिज्य विभागका तीन कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा

१६ फागुन, काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियाेगमा वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका तीनजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

फर्म दर्ता प्रमाणपत्र लिन सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले विभागको वाणिज्य व्यवसाय तथा नियमन शाखाका अधिकृत अर्जुन सुवेदी, नायब सुब्बा नरेन्द्रबहादुर चन्द र सोही विभागका लेखापढी व्यवसायी रामबाबु दाहालमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीहरुलाई व्यवसाय फर्म दर्ताको प्रमाणपत्र लिनका लागि सेवाग्राहीसँग रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी अख्तियारले नापी कार्यालय कञ्चनपुरका सर्वेक्षकसहित दुई जनामाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख तथा सर्वेक्षक हरिचन्द्र ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादवमाथि १५ हजार बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

जग्गाको कित्ताकाट गर्न भन्दै उनीहरुले सेवाग्राहीबाट उक्त रकम घुस लिएको अख्तियारको दाबी छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुने गरी मागदाबी गरिएको अख्यियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment