
१७ फागुन, काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दाका एकजना फरार प्रतिवादी ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका-१३ का ४८ वर्षीय गुरुदत्त पौडेल रहेका छन् ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ साल माघ १७ गतेको फैसला अनुसार वैदेशिक रोजगार ठगी मुद्दामा पौडेलविरुद्ध १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक समेत रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार साँझ काठमाडौंको बागबजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । व्युरोका अनुसार फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंमा उनलाइ पेस गरिएको छ ।
सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर उनले पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिएर दुबई पठाएर ठगी गरेको कसुरमा उक्त सजाय भएको व्युरोले जनाएको छ ।
प्रतिक्रिया 4