Comments Add Comment

कला र संस्कृतिलाई अर्थतन्त्रसँग जोड्न नसक्दा गरिब भयौं

कला र साहित्य भन्नेवित्तिकै हामी भौतिक अस्तित्वभन्दा परको त्यस्तो संसार बुझ्छौं— जहाँ भावना, आकांक्षा र सिर्जनाजस्ता अवयवहरू गाँसिएर अर्को संसार बनेको हुन्छ । त्यस्तो संसार, जहाँ हामी आत्मिक शान्ति पाउँछौं । कला र साहित्य समाजका ऐनामात्रै होइनन्, जीवन बाँच्न सिकाउने उत्प्रेरक पनि हुन् ।

कुनै पनि समाजलाई समृद्ध र परिस्कृत बनाउन अर्थतन्त्रले मात्रै सम्भव छैन । कला र साहित्य जति समृद्ध हुन्छ, समाज उत्तिकै वैभवशाली हुन्छ । कला र साहित्य समाजको त्यस्तो मुटु हो, जसले हरेक अंगलाई चलायमान बनाउन रक्तसञ्चार गरिरहन्छ ।

आज मिथिला क्षेत्रमा पाइला टेक्नेवित्तिकै मलाई तपोभूमि पुगेजस्तो भान भयो । रामजानकी मन्दिरको दर्शन पाउँदा मैले आफूलाई उर्जावान महसुस गरेको छु । धार्मिक, सांस्कृतिक र मिथिला कला–साहित्यको यस्तो बेजोड संगममा पुग्ने जो–कोही नतमस्तक हुन्छ । म पनि भएँ ।

राजा जनकको दरबारमा शास्त्रार्थ प्रतियोगिता हुन्थ्यो । शरीर र पदभन्दा विचार र बुद्धिको पूजा गर्ने परम्परा अष्टावक्र ऋषिले अष्टावक्र गीताको रुपमा राजा जनकलाई दिएको उपदेश आज पनि मानवजीवनका लागि अत्यन्तै सान्दर्भिक छ । म यही पूण्यभूमिमा उभिएर यहाँहरूसँग आफ्ना भावना साटिरहेको छु ।

मिथिला कला, साहित्य र संस्कृतिको लहरो सन् १३४० पछि सुरु भएको मैथिली साहित्यको मध्यकालसम्म पुग्छ । त्यतिबेला भारतवर्षमा मुसलमान आक्रमण चर्किएपछि ओइनिवार वंश नष्ट भयो । मिथिलाका विद्वान, कवि, संगीतकारहरू काठमाडौं उपत्यकाका दरबारमा संरक्षण लिन आए ।

मल्लकालीन राजाहरूमा काव्य र नाटकप्रति धेरै झुकाव थियो । त्यसैले मध्ययुगीन मैथिली साहित्यको ठूलो अंश नेपालमा लेखियो । यहाँ लेखिएका साहित्यमा नाटकको अंश प्रमुख छ । नेपाली नाटककारको कर्मभूमि मुख्यतया तीन स्थानमा रह्यो— भक्तपुर, काठमाडौं र पाटन ।

भक्तपुरमा सबैभन्दा धेरै नाटक लेखिए । मुख्य नाटककार जगतज्योति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजित मल्ल थिए । यीमध्ये रणजित मल्लले अरूभन्दा धेरै नाटक लेखे ।

काठमाडौंमा सबैभन्दा प्रसिद्ध नाटककार वंशमणि झा थिए । पाटनमा त्यतिबेलाका सबैभन्दा ठूला कवि र नाटककार सिद्धिनरसिंह मल्ल थिए । नेपाली नाटकको परम्परा सन् १७६८ मा नष्ट भयो, जब पृथ्वीनारायण शाहले मल्ल राजाहरूलाई हराएर गोर्खा राज्य विस्तार गरे ।

नेपाल एकीकरणपूर्व सेन र मल्ल राजाहरूद्वारा राजभाषाका रूपमा मैथिली प्रयोग गरिन्थ्यो । कर्णाट र मल्लकालीन शासनकालमा मैथिली साहित्यको संरक्षण र संवर्द्धन भएको मल्लकालीन शिलालेख, वंशावली, पाण्डुलिपी आदिबाट देखिन्छ ।

महोत्तरी भगवतीपुरका राजा कीर्तिनारायणकी छोरी लालमतीको विवाह राजा प्रताप मल्लसँग भएको थियो । प्रताप मल्ल मैथिली भाषामा रचना गर्थे । तिरहुतका कर्नाटवंशी राजाहरूसँग मल्ल वंशबीच रक्तसम्बन्ध भएकै कारण कान्तिपुर, ललितपुर, भक्तपुर, मोरङ, मकवानपुर, पाल्पा, चौदण्डी, विजयपुर आदि ठाउँमा मैथिली भाषालाई राजकीय सम्मान थियो ।

नेपाली भाषाभन्दा पनि पुरानो मानिने मैथिलीको यो गौरवमय इतिहास अहिले मधेसमा मात्रै सीमित छ । परिमाणको हिसाबले भारतमा मैथिली साहित्य सिर्जनाको अवस्था राम्रो छ । त्यहाँ नागार्जुन, मणिकान्त, तारानन्द वियोगीको नाम सम्मानका साथ लिइन्छ ।

नेपालमा डा. राजेन्द्र विमल, महेन्द्र मलंगिया, रामभरोस कापडी, रमेशरञ्जन झा, धीरेन्द्र प्रेमर्षिको नाम अग्रस्थानमा छ । लेखनको अवस्था सन्तोषजनक भए पनि मैथिलीको प्रकाशन र पाठकको समस्या अद्यापि छ ।

नेपालीबाहेक अन्य भाषामा व्यावसायिक लेखन सुस्त छ । मैथिलीको उपस्थिति अरूभन्दा बलियो छ तर त्यही अनुपातमा गुणात्मक विकास हुन सकेको छैन । मैथिली साहित्य संरक्षणका लागि राज्यस्तरबाट पहल हुन सकेको छैन । राज्यले गरिदिएन भनेर चुप लागेर बस्ने बेला पनि छैन ।

हामीले अब गर्ने भनेको मैथिली कला, संस्कृति र साहित्यलाई बजारसँग जोड्ने हो । मैथिलीको गौरवमय इतिहासलाई ब्युँताउने हो । यसको रसलाई फेरि जनमानसको जिब्रोमा पुर्‍याउने हो ।

कला–साहित्य र संस्कृति

सन् २०१२ को जनगणनाअनुसार नेपालमा १२३ भाषा बोलिन्छन् । सबैभन्दा बढी ४४.६ प्रतिशत नेपाली बोलिन्छ । ११.७ प्रतिशत जनसंख्याले मैथिली बोल्छन् । यो नेपालको दोस्रो ठूलो राष्ट्रिय भाषा हो । नेपाल र भारतमा गरी झन्डै ६ करोड जनसंख्या मैथिली बोल्छ ।

मैथिली मुख्यतः नेपालको तराई क्षेत्र एवं उत्तर–पूर्व बिहारको भाषा हो । नेपालका सात जिल्ला— धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, सुनसरी र मोरङमा मैथिली बोलिन्छ । यसको फैलावट लगभग ३० हजार वर्गमिलसम्म छ । मैथिली भाषाको सांस्कृतिक केन्द्र भारतको दरभंगा र नेपालको जनकपुर हुन् ।

विश्वभर चिनिने ‘मिथिला आर्ट’ यो क्षेत्रको गहना हो । शहरको बीचमा अवस्थित यस भव्य रामजानकी मन्दिर विश्वका हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल हो । त्यसबाहेक जनकपुरमा ७० भन्दा बढी पोखरी छन् । रमाइलो मौसम, वर्षभरि भव्य र रंगीन उत्सवहरू, आश्चर्यजनक वास्तुकला र मित्रवत् स्थानीयले जनकपुरलाई पर्यटकको केन्द्रमा राखिरहेका छन् ।

मिथिला सीताको जन्मभूमि हो । मिथिला शिक्षा र ज्ञानको केन्द्र थियो, जहाँ अस्टावक्र, याज्ञवल्क्य, गौतम, कणाद, गार्गी, मैत्रेयी, लखिमा, भारतीजस्ता विद्वान् र विदूषीले मिथिलाको गौरव र मान बढाएका छन् । मैथिली संस्कृति समन्वयवादी हो, जहाँ एक जातको अर्को जातसँग परस्पर निर्भरताको चलन छ । यहाँ प्रत्येक अनुष्ठान, पर्व आदिमा टोल र समाजलाई निमन्त्रणा गरी मनाउने गरिन्छ ।

जनकपुर मन्दिर र स्मारकमात्र होइन, समृद्ध सांस्कृतिक इतिहास, कला, भाषा र साहित्यका लागि पनि उत्तिकै परिचित छ । यो मिथिला सभ्यताको राजधानी हो । त्यसैले यो क्षेत्रमा कला, संस्कृति, साहित्य र अर्थव्यवस्थालाई सँगसँगै लैजान सम्भव छ ।

यो सन्दर्भमा मलाई मिथिला चित्रकला बनाउने कलाकार सोनम कर्णको सम्झना आउँछ । सन् २०१८ मा नवलपुरको शाश्वतधाम बाहिर मिथिला चित्रकला बनाउने सोनमले पछि विश्व बैंकका भित्तामा आफ्नो कला प्रस्तुत गर्ने अवसर पाइन् । हुर्किंदै गर्दा हजुरआमाबाट सिकेको मिथिला कलालाई उनले अन्तर्राष्ट्रिय जगतमा पुर्‍याएकी छन् । उनको अनुहारमा खुशी र मनमा शान्ति छ ।

चौधरी फाउन्डेसनले शुरु गरेको ‘सीजी उन्नति कल्चरल भिलेज’मार्फत हामीले कला/संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएका छौँ । कला, संस्कृति, साहित्य र शिल्पलाई केन्द्रमा राखेर उन्नतिले थुप्रै अभियान सञ्चालन गर्दैछ । यी सांस्कृतिक अंगलाई अर्थतन्त्रसँग जोड्न सक्दा प्रतिफल पनि राम्रो निस्किने छ भन्ने हाम्रो विश्वास छ । हामी यसलाई राष्ट्रकै यस्तो फुलबारी बनाउन चाहन्छौँ जहाँ कला, साहित्य, संगीत, नृत्य, वेशभूषाका हजारौँ रंगीन फूलहरू फुलिरहून् ।

अर्थतन्त्रको ऐनामा

१५ औं देखि १६ औं शताब्दीको बीचमा युरोपले आफूलाई परिस्कृत गर्‍यो । पुनर्जागरण कालले कला र साहित्यको माध्यमबाट त्यो समाजलाई मध्यकालीन युगबाट आधुनिक युगमा पुर्‍याइदियो । विशेषगरी इटाली र उत्तरी युरोपले पुनर्जागरण कालबाट आभा पाए । किनकी यसको अन्तर्य मानवतावादसँग जोडिएको थियो । कला र साहित्य मानवतावादको दर्शनमा बाँधिएपछि यसले समाजको तल्लो तहसम्म जागरण ल्यायो ।

युरोप कला र साहित्यमा यति समृद्ध हुनुमा सम्भवतः त्यही दर्शनको जग बलियो भएर हो । सँगसँगै विज्ञानमा हुँदै गरेको क्रान्तिले यसलाई अर्थतन्त्रसँग पनि बलियो गरी जोड्यो । युरोपको संस्कृति कला र साहित्यका विभिन्न आयामसँग पत्रैपत्र भएर जोडिएको छ ।

कुनै पनि समाजको शिक्षा, विज्ञान, आर्थिक समुन्नती, सामाजिक विकास, कला, साहित्यको स्तर उस्तै उस्तै तहमा हुनुपर्छ । यी पक्षलाई बलियो बनाउने माध्यम भनेको समुन्नत राजनीति हो । त्यसैले जुन समाजको राजनीति नै समुन्नत, सुसँस्कृत बन्न सकेको हुदैन त्यो समाजका आयामहरू पनि कमजोर लाग्छन् । कुनै पनि समाजको शिक्षाको स्तर युरोपको जस्तो, सामाजिक विकास जापानको जस्तो तर आर्थिक विकासको अवस्था नेपालको जस्तो एकैसाथ हुनु सम्भव हुदैन । समृद्ध समाजका आयामहरू सँगसँगै दौडिन खोजिरहेका हुन्छन् ।

‘कल्चरल टाइम्स’ले संसारभर गरेको अध्ययनअनुसार कला–साहित्य क्षेत्रको वार्षिक कारोबार २५० अर्ब डलरभन्दा छ । यो क्षेत्रले करिव ३ करोड रोजगारी सिर्जना गर्छ । कतिपय मुलुक र शहर यही क्षेत्रको जगमा उभिएर आफ्नो वैभव प्रदर्शन गरिरहेका छन् ।

आजको विश्वमा कुल ग्रार्हस्थ उत्पादन (जीडिपी)मा खास योगदान गर्न सक्ने हैसियतमा ‘कल्चरल इन्डष्ट्री’ स्थापित भएको छ । जीडिपीमा यस इन्डष्ट्रीले फ्रान्समा ३.८ प्रतिशत, बेलायतमा ५.८ प्रतिशत, चीनमा ६.३७ प्रतिशत, अष्ट्रेलियामा ३ प्रतिशत, अमेरिकामा ३.३ प्रतिशत र भारतमा ०.९५ प्रतिशत योगदान पुर्‍याएको छ ।

विश्व व्यवस्थाको यो चक्रमा नेपाल पनि यहीँ कतै छ । यहाँका सांस्कृतिक सम्पदा विश्वमा अध्ययनका सामग्री बन्दै आएका छन् । यहाँका बहुआयामिक सांस्कृतिक धरोहरहरूले समयक्रममा आफूलाई परिस्कृत बनाउँदै लगेका छन् । भाषा, धर्म, दर्शन, चाडपर्व, नृत्य, संगीत, कला, हस्तकला आदिलाई मौद्रिक मापन गर्न मिल्थ्यो भने नेपाल धेरै अघि विश्व मानचित्रमा शक्तिशाली मुलुक भएर उदाइसक्थ्यो ।

नेपाल गरिब किन भयो भने यसले आफ्नो समृद्ध कला र संस्कृतिलाई अर्थतन्त्रसँग जोड्न सकेन । हामी कला, साहित्य, संस्कृतिमा समृद्ध छौं तर आर्थिक रूपमा कमजोर । यी दुई तत्वलाई जोडेर अघि बढ्ने हो भने हामी पनि रोम वा पेरिसजस्तै चित्ताकर्षक बन्न सक्छौं ।

पछिल्लो समय हाम्रो देशका सांस्कृतिक र सिर्जनात्मक उद्योगप्रति अन्तर्राष्ट्रिय चासो बढ्दो छ । यही चासोमा टेकेर हामीले दिगो विकास र समावेशी रोजगारी सिर्जनामा आफूलाई केन्द्रित गर्न सक्नुपर्छ ।

युनेस्कोले भर्खरै निर्देशिका सार्वजनिक गर्दै सांस्कृतिक र सिर्जनात्मक उद्योगका तथ्यांकलाई अर्थतन्त्रसँग जोड्न सकिने सम्भावनामा कदम चालेको छ । यही सम्भावनामा टेकेर मिथिला क्षेत्रलाई समुन्नत बनाउन सकिन्छ । किनभने कला, साहित्य, संस्कृति, आभूषण, भेषभूषामा मिथिला क्षेत्र शुरुदेखि नै समृद्ध छ ।

हाम्रो समस्या के हो भने हाम्रा आर्टस्/क्राफ्टस्लाई उपभोक्तामैत्री बनाउन सकिएको छैन । जबसम्म यी सिर्जनाहरु उपभोक्ताका रोजाई बन्न सक्दैनन्, यी सिर्जनाको भविष्य सुरक्षित हुदैन भनेर बुझ्नुपर्छ । कुनै समय थियो, नेपालमा उत्पादन भएको पश्मिनाको सल बेलायतकी महारानीको रोजाईमा परेको थियो । तर, पाल्पामा उत्पादित ढाका किन हाम्रो रोजाईमा परिरहेको छैन ? मिथिला आर्टस् किन घरघरमा फैलिन सकिरहेको छैन ? यी प्रश्नको जवाफ हामीले खोज्नु परेको छ ।

यसका लागि यी क्षेत्रलाई सायद डिजाइन सपोर्ट आवश्यक परिरहेको होला । बजारीकरणमा सहयोग आवश्यक होला । वा कपीराइटको सुनिश्चितता आवश्यक होला । आर्टस् र क्राफ्टका नाममा नेपालमा सञ्चालन हुने करोडौँ रूपैयाँका परियोजनाहरू किन सार्थक बन्न सकिरहेका छैनन् ? हामीले हाम्रा मौलिकताको संरक्षण गर्ने हो भने यी पक्षमा गम्भीर रूपमा घोत्लिन जरूरी छ । अन्यथा भारत बर्षमा लोप हुदै गएका हाम्रा मौलिकताको सूची लम्बिदै जानेछ ।

मेरो सपना न्यूयोर्क शहरमा पाल्पाली ढाकाको राम्रो बजार बनाउन सकियोस् भन्ने हो । पेरिस फेसन विकमा हाम्रो ढाका चमचम चम्किएको देख्न पाइयोस् भन्ने मेरो चाहना छ । विश्वब्यापी बजारमा भोजपुरको खुकुरी, चैनपुरको करूवालाई पुर्‍याउन सकियोस् भन्ने हो । मिथिला आर्टसको  माग युरोप र अमेरिकाबाट आउन सकोस् भन्ने हो ।

यसका लागि के के सपोर्ट चाहिन्छ ? केन्द्र सरकार, प्रदेश सरकारको काम त्यो सपोर्ट सिस्टम उपलब्ध गराउने हो । यसो गरियो भने हाम्रो कला, शिल्प फैलिदै जानेछ । र, यसमा जोडिएका मानिसको जीवनस्तर उन्नत हुनेछ । यसो गर्न सकिएन भने विस्तारै मानिसहरू यस कर्मबाट बाहिरिदै जानेछन् । र, हाम्रा बाबुबाजेले यस्तो यस्तो काम गर्थे भनेर ‘उहिलेका कथा’ आफ्ना सन्ततिलाई सुनाउने दिन आउनेछन् ।

म खुला आकाशमुनिको सारा संसार हामी नेपालीहरूको पनि बजार हो भनेर निर्धक्ककासाथ मनन गर्न आह्वान गर्दछु । विश्व चलचित्रलाई नै हेरौं– हलिवुडले बर्षमा २ अर्ब ६० करोड टिकट बिक्री गर्छ । बलिवुडले ३ अर्ब ५० करोड टिकट बिक्री गर्छ । विश्व चलचित्र बजारले बर्षमा पचासौँ अर्ब डलरको कारोबार गरिरहँदा हामी भने केही लाखको कारोबारमा सीमित छौँ । यो दुनियाँमा नेपाली चलचित्रको दर्शक बन्न सक्छन् भनेर हामीले कहिल्यै सोच्यौँ ?

युवा पिँढी उत्तरमा हिमालय श्रृङ्खला र दक्षिणमा भारतसँग जोडिने सीमामात्रै हाम्रो बजार हो भनेर नअलमलियोस् । दुनियाँका लागि नेपाल बजार हो भने नेपालको पनि यो सारा दुनियाँ बजार हो भन्ने सोंचेर आफ्ना सिर्जनालाई प्रष्फुटित गरोस् भन्ने मेरो चाहना छ । जसरी मैले आजको विश्वको आधा जनसंख्यासम्म वाइवाइलाई पुर्‍याएको छु भोलि नेपाली सिर्जना, नेपाली उत्पादन विश्वको सबै जनसंख्यासमक्ष पुग्न सकोस् । सोंचको दायरालाई देशको सीमामा कैद गर्ने गल्ती हामीले गर्नु हुदैन ।

विश्वमा केही यस्ता शहर छन्, जसले आफ्ना संस्कृतिलाई पर्यटनको सबैभन्दा पहिलो बुँदामा राखेर आफूलाई समृद्ध बनाएका छन् । लन्डन, वाराणसी, सांघाई, रोम, क्योटो, न्युयोर्क, इस्तान्बुल, पेरिस, जेरुसलम, फ्लोरेन्स, भियना, अलेक्जेन्ड्रिया, समरकन्ड, ग्रानाडा, इस्फाहान आदि शहर अहिले धेरैको ‘बकेट–लिस्ट’मा पर्छन् । यी शहरको विशेषता के रह्यो भने उनीहरूले आफ्ना सांस्कृतिक सम्पदालाई अर्थतन्त्रसँग जोडे । पर्यटक आगमनले मात्रै पनि यी शहर समृद्ध बनिरहन सम्भव भएको छ ।

राजस्थानको जयपुर शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिन बर्सेनि सयौं विदेशीहरू आउँछन् । ‘जयपुर लिट्रेचर फेस्टिबल’ अहिले हरेक साहित्यप्रेमीको मुकाम बन्न थालेको छ । यसले त्यहाँको पर्यटनमा उल्लेख्य परिवर्तन ल्याइदिएको छ । त्यहाँका स्थानीय कला र उत्पादनले विश्व शयर गर्न पाएका छन् । होटल व्यवसाय र पर्यटनले काँचुली फेरेका छन् ।

यसै पनि जयपुर सांस्कृतिक केन्द्र थियो, साहित्य सम्मेलनले त्यसमा सुगन्ध थपेको छ । हमिद कारजाई, बिल गेट्स, ओपरा विन्फ्रे, सलमान रुस्दी, गुल्जार, जाभेद अख्तर, ओर्हान पामुकजस्ता विख्यात व्यक्तित्वहरूलाई स्वागत गर्दा जयपुरले गर्ने अनुभवको आभास म पाउन सक्छु र अबका केही वर्षमा जनकपुरलाई पनि जयपुरजत्तिकै शिखरमा पुगेको देख्न चाहन्छु ।

पिकासोले भनेका छन्– कर्म नै हरेक सफलताको जग हो । कुनै पनि क्षेत्रमा सफल हुन त्यसप्रतिको लगावले सर्वाधिक ठूलो महत्व राख्छ । मैले जीवनकालमा जे–जति काम गरें— ती क्षेत्रप्रतिको हुटहुटीले गरें । युवावयमा प्रवेश गर्दै गर्दा म विभिन्न उत्पादनको बिक्री र बजारीकरणमा लागें । उमेर बढ्दै जाँदा चार्टर्ड एकाउन्टेन्टको रहर जाग्यो ।

ठूला सपना देख्न धनी परिवारमा जन्मिनु पर्दैन भन्ने तत्वबोध भएपछि मैले सधैं आफूलाई लगनशील र मेहनती बनाइरहें । पारिवारिक बाध्यताका कारण मैले सानै उमेरमा व्यापार–व्यवसायको बिँडो थाम्नु पर्‍यो । त्यतिबेलाको राजनीतिक स्थिति र हाम्रो आर्थिक अवस्था उस्तै थिए— एकदमै असुरक्षित ।

ढुंगाको कापबाट पनि पीपल उम्रिन्छ भनेझैं समस्याका भीमकाय पहाडबीच पनि दह्रो आत्मविश्वास, प्रतिबद्धता र केही गर्ने हुटहुटीले सीमित स्रोतका बाबजुद हामीलाई दह्रो गरी उभिन सक्ने बनायो । चाहे नेपालमै होस्, चाहे अफ्रिका या श्रीलंका वा भारतको नर्थइष्ट क्षेत्र— अप्ठ्यारो बाटोमा हिँड्ने मेरो जोस कहिल्यै घटेन । स्पष्ट सोच, सोचलाई कार्यान्वयन गर्ने प्रतिवद्धता, चुस्त संगठन र कार्य कुशलताबाट यी सम्भव भएका हुन् । कला–साहित्य र संस्कृतिको विकासमा पनि यी पक्ष पक्कै पनि आधारशिला हुन् ।

यहाँनेर म स्वामी विवेकानन्दलाई स्मरण गर्न चाहन्छु । उनले भनेका छन्– “कतिपय नदी सीधा बग्छन्, कति बांगोटिंगो भएर त कोही सिधै छहरा भएर खस्छन् । तर, ती सबै नदी एउटै समुद्रमा गएर मिसिन्छन् । त्यसैगरी, ईश्वरसम्म पुग्ने बाटा पनि फरक छन् तर ती हरेक बाटामा ईश्वरको उत्तिकै दिव्य उपस्थिति छ ।”

यही दर्शनमा टेकेर म नयाँ पुस्तालाई भन्न चाहन्छु— मुलुकका सातै प्रदेशका सांस्कृतिक, सामाजिक, धार्मिक समानताहरूलाई सम्मान गर्दै विविधताहरूलाई उत्साहका साथ स्वीकार्नुहोस् । अनेकतामा एकताको राष्ट्रिय मर्म मर्न नदिनुहोस् । सहअस्तित्वलाई सम्मान गर्नुहोस् । यसले समुन्नत राजनीतिक संस्कार र सफल उद्यमशीलताको जग बसाल्नेछ ।

जनकपुरमा पनि लियोनार्दो दा भिन्ची जन्मिन सक्छ र मोनालिसाका चित्रहरू कोरिन सक्छन्– यदि हामीले हाम्रा युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्न सक्यौँ भने । मलाई अविश्वास नगर्नुस्, मैले असम्भव कुरा गरिरहेको छैन । मलाई लाग्छ– मिथिला कलाका प्रत्येक क्यानभासहरूमा मोनालिसाको गर्भाधान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment