+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

स्वदेशमै फलाम उत्पादन गर्ने सरकारी योजना कहाँ पुग्यो ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ फागुन २० गते १२:१९
धौवादी फलाम उद्योग

२० फागुन, काठमाडौं । चालु आर्थिक वर्षको बजेट भाषण गर्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को वर्षदेखि स्वदेशमै व्यवसायीक फलाम उत्पादन थाल्ने बताएका थिए । उनले नवलपरासीको धौवादीमा रहेको खानीमार्फत फलाम उत्पादन गर्न चालु आर्थिक वर्षको बजेटमार्फत एक अर्ब रुपैयाँ बजेट विनियोजन पनि गरे ।

तर हालसम्म भएको प्रगतिलाई हेर्ने हो भने स्वदेशमै व्यवसायीक फलाम उत्पादन हुन अझै तीन वर्ष लाग्ने देखिएको छ । सबै प्रयासहरु लगाएर काम गरिए पनि व्यवसायीक रुपमा फलाम उत्पादनका लागि सरकारी लक्ष्यअनुसार काम हुन नसकेको धौवादी फलाम कम्पनीले जनाएको छ ।

धौवादी फलाम कम्पनीको कार्यकारी निर्देशकमा हालै नियुक्त भएका डा. जनक बहादुर चन्दले भने, ‘काम गर्दैछौं, यही गतिले फलाम उत्पादनको व्यवसायीक काम सुरु हुन अझै तीन वर्ष लाग्ने देखिन्छ ।’ सार्वजनिक खरिद ऐनअनुसार उपकरण खरिद प्रक्रिया निकै झन्झटिलो हुँदा समयमै काम गर्न कठिन भएको उनको भनाइ छ ।

अहिलेसम्म के–के भयो ?

व्यवसायीक रुपमा फलाम उत्पादन गर्न हाल प्रारम्भिक चरणको काम भइरहेको कम्पनीले जनाएको छ । सरकारले यो वर्ष व्यवस्था गरेको बजेटमार्फत फलाम कम्पनी स्थापना, कर्मचारी भर्ना तथा फलाम उत्खननका लागि आवश्यक पर्ने मेशिनहरुको खरिद गरिएको कम्पनीले जनाएको छ । खानी विभागको परिसरमा फलाम कम्पनीको कार्यालय सञ्चालनमा ल्याइएको र कार्यकारी अधिकृत लगायतका कर्मचारीहरु नियुक्त गरिएको उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले बताए ।

खानी क्षेत्रको फिजिबिलिटी अध्ययन सकिएको र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

खानी क्षेत्रभित्र ड्रिल गरेर फलाम उत्पादन हुने कच्चा पदार्थसम्म पुग्ने प्रयासका कामहरु तीव्र रुपमा अघि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. चन्दले बताए ।

कुल ड्रिलिङ गर्नुपर्ने ५ वटा होल (प्वाल) को १३ सय मिटरमध्ये अहिले दुई वटा होलको ड्रिलिङ उत्साहजनक ढंगबाट भएको उनले बताए । एउटा होलमा ड्रिलिङ १८५ मिटरसम्म पुगेको र त्यसमा १३८ मिटरदेखि फलाम उत्पादनका लागि चाहिने गुणस्तरीय हेमटाईडेवर भेटिएको चन्दले बताए ।

यस्तै दोस्रो होलमा ७३ मिटरसम्म ड्रिलिङ सकिएको छ । थप तीनवटा होल ड्रील गर्ने उपकरण आइपुगेको र जडानको कार्य सुरु भएको कम्पनीले जनाएको छ ।

खानी विभागकाअनुसार पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ को धौवादी डाँडामा रहेको फलाम खानी १० किलोमिटर क्षेत्रमा फैलिएको छ । २०६८ सालमा खानी विभागले पत्ता लगाएको उक्त फलाम खानीको कच्चा पदार्थ चीनको सिचुवान इन्ष्टिच्युट अफ मेटालजिकल जिओलोजी एण्ड एक्स्प्लोरेसनमा गरिएको परीक्षणमा फलाम उत्पादन गर्न योग्य रहेको पुष्टि भएको थियो । खानीमा ७ देखि ८ करोड टन फलामको धाउ रहेको अनुमान खानी तथा भूगर्भ विभागले गरेको छ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?