Comments Add Comment

नेपाली अर्थतन्त्रको आकार : ३९ खर्ब ४३ अर्ब ६६ करोड

२० फागुन, काठमाडौं । नेपालको अर्थतन्त्रको आकार साढे ३९ खर्ब पुगेको छ । तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्षमा परिमार्जन गरी सार्वजनिक गरेको आकडा अनुसार नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुगेको हो ।

नेपालमा यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्कहरु तयार पार्ने गरिएको थियो । चालु आवबाट सरकारले उक्त वर्षमा परिमार्जन गर्दै नयाँ आधार वर्ष तय भएको छ । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार नेपालमा अब राष्ट्रिय लेखा तथ्याङ्कको गणनाका लागि सन् २०१०/११ लाई आधार वर्षका रुपमा मानिनेछ ।

यसअघि नेपालले आधार मानेको वर्षका आधारमा नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँको रहेको थियो । नयाँ आधार वर्ष अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १४.०७ प्रतिशतको वृद्धि देखिएको छ । १० वर्षभित्र थप भएका अर्थतन्त्रका अवयव र राष्ट्रिय लेखामा छुटपुट भएका तथ्याङ्कहरु समेत राख्दा कुल गार्हस्थ्य उत्पादनको आकार बढेको उनले जानकारी दिए । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आवको अर्थतन्त्रको आकारको वृद्धिदर भने मात्र ५ प्रतिशत हो ।

तर, आधार वर्षमा गरिएको परिवर्तनका कारण अर्थतन्त्रको आकार भने ठूलो बनेको रेग्मीले बताए । ‘पछिल्लो तथ्याङ्क अझ बढी यकिन हो,’ उनले भने, हामीले अन्तर्राष्ट्रिय स्तरमा प्रचलित मान्यताअनुसार नै आधार वर्षमा परिमार्जन गरेका हौं ।’

उनका अनुसार नेपालले हरेक १०/१० वर्षमा आधार वर्ष परिवर्तन गर्दै आएको छ । नेपालले विगतमा सन् १९६४/६५, सन् १९८४/८५, सन् १९९४/९५ र २०००/२००१ मा आधार वर्ष मानेर लेखा तयार पारेको छ । अहिले भएको परिवर्तन पाँचौं हो । नेपालमा जनगणना, कृषि गणनादेखि अधिकांश गणना १०/१० वर्षको अवधिमा हुने र नयाँ तथ्याङ्क आउनासाथ आधार वर्षमा परिमार्जन गर्न समेत सहज हुने रेग्मीको भनाइ छ ।

यस परिवर्तनबाट राष्ट्रिय लेखा तथ्याङ्कलाई समय सापेक्षा, भरपर्दो, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरका तथ्याङ्कसँग तुलनायोग्य बनाएको विभागको दावी छ । अर्थतन्त्रमा देखिएका नयाँ आर्थिक क्रियाकलाप वा छुट भएका क्रियाकलापलाई समावेश गरिएको छ ।

पछिल्लो गणना तथा सर्वेक्षणबाट प्राप्त नतिजाको उपयोग गरिएको समेत विभागले जनाएको छ । अहिलेका तथ्याङ्कमा उपभोक्ता समितिदेखि ट्यूसन तथा कोचिङ सेन्टरसमेत अब अर्थतन्त्रको आकारमा समेटिएका छन् ।

आकार किन बढ्यो ?

विभागका अनुसार आधार वर्षमा गरिएको परिवर्तनका कारण अर्थतन्त्रका नयाँ-नयाँ गतिविधिहरु पनि राष्ट्रिय लेखामा आवद्ध हुन पायो । यसबीचमा अघिल्लो आधार वर्षको तुलनामा रियल इस्टेटको वृद्धि ४७.९७ प्रतिशत देखिएको छ । शिक्षा क्षेत्रमा समेत वृद्धि भएको छ । तर, स्वास्थ्य क्षेत्रमा भने जीडीपी ऋणात्मक देखिएको छ ।

खानी तथा उत्खनन क्षेत्रमा २२.५५ प्रतिशत, इलेक्टिङसिटी, ग्यास र पानीमा ४६.८२, होलसेल तथा रिटेल व्यापारमा २३.१४ प्रतिशत र होटेल क्षेत्रमा १६.४० प्रतिशत वृद्धि देखिएको छ ।

कतिपय छुटपुट भएका क्षेत्र लेखाको दायरामा आउनु र कतिपय संरचनात्मक परिवर्तनका कारण पनि आकारमा वृद्धि देखिएको उपमहानिर्देशक रेग्मीले बताए ।

आर्थिक वृद्धिदर घट्यो, प्रभाव आयमा

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक (ऋणात्मक) भएको छ । यसको प्रभाव कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरदेखि प्रतिव्यक्ति आयसम्म देखिएको छ । यसो हुनुमा कोरोना भाइरसको महामारी मूख्य कारण मानिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेँलका अनुसार गत आव लकडाउन शुरु हुने समयमा यसको प्रभाव लामो समय जान्छ भन्ने आंकलन गरिएको थिएन । तर, गत आवको अन्तिम त्रैमास र चालु आवको पहिलो त्रैमास अर्थतन्त्रमा गतिविधिहरु करीव ठप्प भएको अवस्थामा पुगे । यसले आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पार्‍यो । तथ्याङ्क अनुसार गत आवको वाषिर्क आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम भएको हो ।

यो वर्ष सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने बताएको थियो । तथ्याङ्क विभागले वैशाख २०७७ मा गरेको अनुमानमा यस्तो वृद्धिदर २.२७ प्रतिशतमा झार्‍यो । योजना आयोगले कोभिडको प्रभाव आंकलन गर्ने समयमा शून्य प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर रहने अनुमान गरेको थियो । तर, अन्ततः माइनसमै पुगेको तथ्याङ्क आंकडामा देखिएको छ ।

अघिल्लो आवको अन्तिम त्रैमासमा -१५.४ प्रतिशतको वृद्धिदर रहेकोमा चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासकको आर्थिक वृद्धि -४.६ प्रतिशत रहेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. कँडेलका अनुसार यो ‘पी सेप’ सुधार भने हो ।

तर, आर्थिक वृद्धिदरमा आएको संकुचनको प्रभाव प्रतिव्यक्ति आयमा परेको छ । यो वर्ष नेपालको प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर पुगेको छ । यो अघिल्लो आव २०७५/७६ को तुलनामा कम हो । सो आवमा प्रतिव्यक्ति आय ११५९ डलर रहेको थियो ।

कोभिडको असर उत्पादनशील क्षेत्रमा बढी

तथ्याङ्कविभागका अनुसार कोभिड १९ को असर उत्पादनशील क्षेत्रमा परेको छ । कोभिड १९ को असर सबैभन्दा बढी आवास तथा भोजन, यातायात तथा भण्डार क्षेत्रमा परेको देखिएको छ । गत आवमा यी क्षेत्रमा २५.७ प्रतिशत र १३.४ प्रतिशत सङ्कुचन देखिएको छ ।

थोक तथा खुद्रा व्यापार १०.७ प्रतिशत, औद्योगिक उत्पादन ९.१ प्रतिशत, निर्माणमा ५.६ प्रतिशत, खानी तथा उत्खननको वृद्धिदरसमेत २.२ प्रतिशतले ऋणात्मक भएको छ । तर, विद्युत तथा ग्यास क्षेत्रमा भने २५.६ प्रतिशत सकारात्मक वृद्धि भएको छ ।

सार्वजनिक प्रशासन ६.२ प्रतिशत, मानवस्वास्थ ५.२ प्रतिशतले सकारात्मक वृद्धि प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment