Comments Add Comment

चीनबाट रासायनिक मल ल्याउन गरिएको परीक्षण सफल

शनिबार तातोपानी नाकामा चार हजार मेट्रिकटन युरिया आइपुग्ने

२१ फागुन, काठमाडौं । सरकारले चिनियाँ नाकाबाट पहिलो पटक रासायनिक मल ल्याउन गरेको परीक्षण सफल भएको छ ।

चिनियाँ बजारबाट खरिद गरिएको चार हजार मेट्रिक टन यूरिया मल आगामी शनिबार तिब्बतको सिगात्सेबाट तातोपानी आइपुग्ने निश्चित भएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

साल्ट ट्रेडिङको ग्लोबल टेण्डरबाट मल ल्याउने जिम्मा पाएको नेपाली कम्पनी शिल्क मार्केटले शनिबारसम्म मल तातोपानी आइपुग्ने जनाएको छ । सिगात्सेको गोदामबाट चार हजार मेट्रिकटन युरिया मल तातोपानीतर्फ ल्याउन थालिएको कम्पनीका प्रमुख सञ्चालन अधिकृत कल्याण सिलवालले बताए । ‘मल सिगात्सेबाट तातोपानी ल्याउने चरणमा छ, शनिबार मल आइपुग्छ । उत्तरी नाकाबाट पहिलो पटक रासायनिक मल ल्याउन सफल भएका छौं,’ सिलवालले भने ।

पहिलो पटक उत्तरी नाकाबाट मल तातोपानी नाका हुँदै नेपाल आइपुग्ने निश्चित भएको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले पनि पुष्टि गरे । ‘चार हजार मेट्रिकटन युरिया अहिले सिगात्सेको गोदाममा आइपुगेको छ, अर्को सातासम्म तातोपानी नाका भएर नेपाल आइपुग्छ,’ सूचना अधिकारी राजभण्डारीले भने । चीनमै उत्पादन भएको युरिया शिल्क मार्केट कम्पनीले खरिद गरेको र नेपाल ल्याउने प्रक्रियामा रहेको उनको भनाइ छ ।

सिगात्सेबाट तातोपानी नाका हुँदै युरिया मल कन्टेनरमा नेपाल आइपुग्ने साल्ट ट्रेडिङले जनाएको छ । चीनमै खरिद गरिएको मल पनि हालसम्म भारततर्फको जलमार्ग भएर नेपाल भित्रिने गरेको र अहिले पहिलो पटक परीक्षणको रुपमा उत्तरी नाकाबाट पनि मल ल्याउन प्रयास गरेको कर्पोरेसनले जनाएको छ । कुल १८ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको (प्रतिमेट्रिकटन ३८९.९० अमेरिकी डलर) ४ हजार मेट्रिकटन मल उत्तरी नाकाबाट भित्रिने जनाइएको छ ।

कर्पोरेसनकाअनुसार लागतमा खासै फरक नपरे पनि दुरीका कारण छिटो मल ल्याउन सकिन्छकी भनेर मल ल्याइएको हो । उत्तरको बाटो भएर पहिलो पटक मल ल्याउने पहल सफलताउन्मुख रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले पहिलो पटक उत्तरबाट मल ल्याउने काम नतिजाउन्मुख रहेको बताए ।

तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले परीक्षणको रुपमा ९ हजार मेट्रिकटन मल उत्तरी नाकाबाट ल्याउन पहल गरेका थिए । जसअनुसार ५ हजार मेट्रकटन डीएपी मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र ४ हजार मेट्रिकटन युरिया मल ल्याउने जिम्मा साल्ट ट्रेडिङले पाएको थियो, जसमध्ये कृषि सामग्रीले खोलेको टेण्डरमा कुनै पनि आवेदन परेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment