Comments Add Comment

कथा : खै समानता !

हामी दुवैको योग्यता पनि एकै र जागिरको तह पनि एकै छ । श्रीमान-श्रीमती एक रथका दुई पाङ्ग्रा भनिन्छ । हामी एकै जीवनसाथी त हौं तर भिन्नता, उनी पुरूष म महिला । उनी बिहान ढिलो उठ्छन् । ब्रस गरेर फ्रेस हुन्छन् अनि मैले पकाएको चिया पिउँछन् । एकछिन टेलिभिजनमा समाचार हेरेर चोकतिर डुल्न लाग्छन् । अफिस जाने बेला भएपछि पत्रपत्रिका लिएर घर फर्किन्छन् ।

म झिसमिसेमै उठ्छु- घरको व्यवस्थापनतिर लाग्छु । सरसफाई गर्ने, नुहाईधुवाई सकेर पाठपूजा गर्ने । चौरासी वर्षका सासु-ससुरालाई चिया र तातोपानी, चिसोपानी दिन्छु । परको दुध डेरीमा गएर दुध किनेर ल्याउँछु । दुध तताएर दुध र कन्फ्लेक्स दिन्छु बच्चाहरूलाई । यतिकैमा बिहानको सात बजिहाल्छ । बच्चाहरू पढ्न बस्छन् । म भान्सामा खान पकाउँदै बच्चाको पढाइमा सहयोग गरिरहेकी हुन्छु ।

पालैपालो बच्चाहरू मम्मी-मम्मी भनी बोलाउँछन् । म खाना पकाउँदै हजुर-हजुर भन्छु । छोरीले होमवर्क सिकाइदिनु भन्छिन् । म्याथ निक्कै गाह्रो छ भन्छे । भ्याइनभ्याइ म उनीहरूको होमवर्कतिर नजर पुर्याउन बाध्य हुन्छु ।

हिजोआजको पढाइमा हाम्रोभन्दा भिन्नै छ कति कुरा । कति ठाउँमा त आफूलाई पनि निकै सकस हुन्छ । तरकारी चलाउँदै छोरीलाई हिसाब सिकाइदिन्छु । सिकाएको छोरीले मजाले लेख्छिन् । फेरि छोराले मम्मी-मम्मी भन्दै इङ्ग्लिस बुक लिएर आउँछ भान्सामा । दाल चलाउँदै उसलाई अङ्ग्रेजी सिकाइदिन्छु ।

वृद्ध सासुससुरा पहिलेको आफ्नो नियम खोज्नुहुन्छ । टाइम टाइममा उहाहरूलाई तातो-चिसो दिनुपर्छ । पहिले आफूले भोगेको बुहार्तनजस्तै सासु खोज्नुहुन्छ । उहाँले चाहेजस्तो हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । भुरालाई भन्दा बुढाबुढीलाई चित्त बुझाउन झनै गाह्रो । उहाँहरूले चाहेको नभए बलिन्द्रधारा आँसु बग्छन् । अरू काम छोडेर पनि पहिलो प्राथमिकता उहाँहरूलाई दिनुपर्छ ।

हतारहतार गर्दागर्दै खाना पाक्दा समयले बिहानको नौ बजायो । बच्चाहरूको स्कुलको गाडी आउने बेला भयो । छिटोछिटो बच्चाहरूलाई स्कुल ड्रेस लगाइदिएँ । खाना दुवैलाई खुवाएँ । अहिलेका बच्चाहरू आफैँ खाना खाँदा राम्रोसँग नखाने । भोक्कै हुने । चम्चाले फकाईफुलाई खुवाउनुपर्ने । छिटोछिटो गर्दागर्दै ९:३०भयो । बच्चाहरूको स्कुलबस घरअगाडि अडियो ।

आफूलाई दस बजे अफिस भेट्नुछ । हतार भइसक्यो । छिटोछिटो सासु-ससुरा र श्रीमानलाई खाना पस्केर खाना खान बोलाएँ । तीनै जाना डाइनिङमा खाना खान बस्नुभयो ! श्रीमानले बोलाउनु भयो लक्ष्मी ! मैले हजुर भनेँ । आज तरकारीको स्वाद हराएछ खोज्न जानुपर्छ कि क्या हो भन्दै व्यङ्ग्य गर्नुभयो । म मौन रहेँ । आफूलाई अफिस ढिला हुन्छ भन्ने टेन्सनले सताइरहेछ ।

फेरि सासुले भन्नुभयो, दालमा नुन चर्को भयो । आज प्रेसर बढ्ने भयो । फेरि ससुराको कम्प्लेन आयो, ‘आज बुहारीले अचार नै बनाउन बिर्सेछिन् ।’ तर बिर्सेको त कहाँ हो र बुवा हतारले अचार बनाउने समय नै भएन भनेँ । उहाँहरू खाना खाएर उठ्नुभयो ।

दस बज्न लागिसक्यो । हतारहतार गरेर दुई गाँस भात खाएँ । छिटोछिटो अफिसको ड्रेस सारी-ब्लाउज लगाउँदै थिएँ ।

श्रीमानले फेरि व्यङ्ग्य गर्नुभयो, ‘मेरी बुढी मसिनभन्दा पनि छिटी छिन् ।’

त्यो थियो उहाँको व्यङ्ग्यात्मक ढिलो भयो भन्ने भनाइ । मलाई बोल्ने पनि समय थिएन । कपाल अलिकति सम्याएँ । उहाँ बाइक लिएर आफ्नो अफिसतिर लाग्नुभयो । घरधन्दा जुठोभाँडो छोडेर म पनि ट्याम्पू चढेर आफ्नो अफिसतिर लागेँ ! अफिस पुग्दा दस मिनेट ढिलो भयो ।

बैंकको जागिर क्यास काउन्टरको वरिपरि मानिसहरूको भीड । म नपुगेकाले काम अवरूद्ध भइरहेको । पुग्दापुग्दै ‘मेनेजर साबले बोलाउनुभा’को छ लक्ष्मी म्याम !’ गार्डले भन्यो । म म्यानेजरको अफिस कोठामा गएँ । म्यानेजरले भने’ ‘लक्ष्मी जी किन ढिला आउनुभएको ?’

मेनेजरको प्रश्नको उत्तर नदिएरै मौन बसिरहेँ । उत्तर दिऊँ पनि कसरी ! घरको कामले ढिला भयो कसरी भनूँ ! मेनेजरले हाम्रो बैंकले ग्राहकहरूलाई राम्रो सेवासुविधा दिन सक्नुपर्छ । यसरी ढिला आएर काम चल्दैन लक्ष्मी जी ! भन्नुभयो । हुन पनि सही हो मेनेजरको कुरा । अफिस समयमा ठीक दश बजे पुग्नुपर्थ्यो । सरी सर भनेँ ।

ठिकै छ भोलिदेखि समयमै आउनुहोला म्यानेजरले भने । हवस् भन्दै म काउन्टरतिर लागेँ । दिनभरि बैंकको जागिर भीडभाड । क्यासमा बस्नुपर्ने । सानु तलवितल भयो भने आफैँले त्यसको घाटा बेहोर्नुपर्ने । कैयौंपटक त मिस्टेकको सामना गर्नुपरेको थियो । जागिर खानु पनि सजिलो त कहाँ छ र !

काउन्टरमा बसेर पैसाको बिटोमा दुवै हातहरू चल्दै थिए । काउन्टरबाहिर मानिसहरूको लाइन निकै लामो थियो । कोही बैंकमा पैसा राख्ने । कोही बैंकबाट पैसा निकाल्ने । हरेक दिन यस्तै व्यस्ततामै बित्थ्यो । चिया पिउने पनि फुर्सद नहुने । कहिले त कामको चापले टाउको दुख्थ्यो । दिनभरिको व्यस्तताले पाँच बजेको पत्तै भएन । अफिसटाइम सकियो ।

घर फर्किंदा जुठोभाँडो घरभरि बिहान खाना खाएको । स्कुलबाट आएका बच्चाहरू स्कुलको किताबको झोलाहरू एकातिर फालेका । बच्चाहरू स्कुलको ड्रेस लगाएरै लाबारिस जस्तो खेलिरहेका । बुढा भएका सासुससुरा छरछिमेकीसँग कुरा गर्नुहुँदोरहेछ- आफ्ना हातखुट्टा बसेर गाह्रो छ । दिनभरि खाजा छैन । भोक्कै बसियो, अहिलेका छोराबुहारी यस्तै हुन् । बरू देवघाटतिर जानुपर्छ कि जस्तो लाग्छ !’

घर आएर बच्चाहरुको ड्रेस फेरिदिएँ । फालिएका पुस्तकका झोलाहरू समेटेर राखेँ । जुठोभाँडा माझिसकेँ । भान्सा सफा गरेँ । सासु-ससुरालाई चियाखाजा बनाएर खान दिएँ । बेलुकाको सन्ध्या भयो । सन्ध्याको दियो बाल्दै थिएँ । बल्ल श्रीमानको सवारी भयो । उहाँ आफिसको कपडा खोलेर टिभी हेर्न बस्नुभयो । भान्सामा खाना पकाउन थालेँ । श्रीमान बैठकमा टिभी हेर्दै भन्नुभयो, ‘लक्ष्मी बिहानको जस्तो खानामा स्वाद हराउला है अलि होसियार हुनू ।’

कताकता मेरो दिल दुखेर आयो । उनीजस्तै म पनि दिनभरिको अफिसको काममा व्यस्त भएर थाकेर आएकी छु । उनीभन्दा पनि म धेरै कमाउँछु । के यो घरधन्दा मेरोमात्र प्यावा हो ? निक्कै चित्त दुख्यो । हरे छोरीको जिन्दगी । जागिर नगरौँ पनि यो महंगीमा एकजनाको कमाइले खान पुग्दैन । जागिर गरौँ यो हाल छ ।

सानुमा माइत छँदा पनि आमाले मलाईमात्र काममा लगाउनुहुन्थ्यो । सँगैका दाजुभाइहरू स्कुलबाट घर फर्केपछि खेलेर बस्थे । म बिहान-बेलुका घरधन्दा भ्याएर स्कुल जान्थेँ । स्कुलको होमवर्क राति गर्नुपर्थ्यो । अहिले पनि श्रीमानको अफिसको मात्र काम छ । छोरा मान्छेले घरको काम गर्‍यो भने जोइटिङ्ग्रे भनिन्छ । मेरो अफिससँगै सबैको चित्त बुझाउनै पर्ने । सुत्ने समय पनि आफ्नो इच्छा अनुसार चल्दैन ।

थकित मुडमा पनि श्रीमानको यौनइच्छा तृप्त पार्नुपर्ने बाध्यता । के छोरी मानिसको शरीर होइन ? अहिले नारीपुरुष समानताको बहस चलिरहेछ पाँचतारे होटलहरूमा । तर हरेक घरहरूमा अहिलेका मजस्ता कैयौँ कामकाजी महिलाहरू च्यापुवामा छन् ।

व्यस्त जिन्दगीबाट केहीबेर फुर्सद निकालेर सोच्छु- खै कहाँ छ समानता !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment