Comments Add Comment

पोर्ट आर्थर : बेलायती बन्दीहरुलाई पाल्ने स्थलबारे एक चर्चा

तास्मानिया । करिब एक साताको छुट्टी थियो । यही समयको सदुपयोग गर्ने सोच आयो । अचानक साथीहरुसँग तास्मानियाको पोर्ट आर्थर घुम्न जाने सोच बन्यो । ३ मार्चमा हामीले सबैजनाको समय मिलाएर अष्ट्रेलियाको उत्तर तास्मानियास्थित लन्चेस्टनबाट दिउँसोको करिब ३ बजेतिर पोर्ट आर्थरतिर हुँइकियौं । साथीहरुले उक्त ठाउँको पर्यटकीय आकर्षणहरुमध्येको एक क्रुज चढ्ने र समयमै फर्कने हिसाबले योजना बनाएका रहेछन् । तर प्रतिकूल मौसमका बाबजुद तय भएको क्रुज कार्यक्रम रद्द भएपछि त्यहाँको सामाजिक अध्ययनतर्फ हामी लाग्यौं ।

हुन त एउटा ठाउँ घुम्न गएको कुरालाई यो पत्रकारले के के न लेख्यो भन्ने पनि पर्न सक्छ कतिपयलाई, त्यसलाई मैले अस्वभाविक ठान्दिन । तर त्यहाँको समाज, इतिहास बारेमा अध्ययन गर्दा पाठकहरुलाई करिब दुई शताब्दी पहिलाको अस्ट्रेलियाको इतिहास, ब्रिटिस उपनिवेशकालको राज्य व्यवस्था, त्यतिबेलाका शासकहरुको मनोविज्ञान, औपनिवेशिक कालका जनताले पाएका दु:ख पीडाका विषयमा जानकारी दिने उद्देश्यले मात्र लेखेको हुँ ।

 पोर्ट आर्थर : एक प्राकृतिक जेल 

सबैलाई थाह भएकै कुरा हो, सन् १७७०मै ब्रिटिस क्याप्टेन जेम्स कुक अष्ट्रेलिया आएपनि करिब ८ वर्षपछि सन् १७८८ बाट मात्रै अष्ट्रेलियामाथि ब्रिटिस उपनिवेश औपचारिकरुपमा सुरु भयो । भौगोलिक विशिष्टता, वायुमण्डलीय अवस्थाका कारण ब्रिटिस सरकारले अष्ट्रेलियाको भूमिलाई अन्य औपनिवेशिक मुलुकहरुमा विभिन्न अपराधमा दोषी ठहरिएका नागरिकहरुलाई सजाय दिने स्थलका रुपमा बढी प्रयोग गरेको थियो । वर्तमान वेस्टर्न अष्ट्रेलिया राज्यमा एक, न्यू साउथ वेल्स राज्यमा र तास्मानिया राज्यमा ५, ५ गरी जम्मा ११ वटा स्थलहरुलाई ब्रिटिस सरकारले दोषीहरुलाई सजाय दिने स्थलका रुपमा विकास गर्‍यो । ती ११ वटा स्थलहरुलाई युनेस्को कन्भिक्ट सेटलमेन्टको नाममा संरक्षित गरिएको छ । ११ स्थलहरु मध्येको एक हो पोर्ट आर्थर ।

तास्मानिया राज्यको तास्मान प्रायद्धिपमा पर्ने पोर्ट आर्थर राज्यको राजधानी होबार्टबाट करिब १०० किमलोमिटर दक्षिणपूर्वी भागमा अवस्थित छ । विविध इतिहास र साँस्कृतिक सम्पदाले भरिपूर्ण पोर्ट आर्थर भौगोलिक दृष्टिले पनि अत्यन्त सुन्दर पर्यटकीय स्थल हो । पर्यटकीय स्थल मात्र नभइकन अष्ट्रेलियाको इतिहास र करिब १६औं, १७औं शताब्दीमा प्रयोगमा ल्याइएको जबर्जस्तीको बसाइसराइ (फोर्स्ड माइग्रेसन)को बारेमा अध्ययनको लागि उपयुक्त ठाउँ हो । यो क्षेत्र ब्रिटिस सरकारले आफ्ना उपनिवेशमा रहेका राज्यका जनताहरुलाई गर्ने अकल्पनीय तुच्छ व्यवहारबारे पनि अध्ययन गर्ने एउटा स्थल हो ।

पोर्ट आर्थरलाई प्राकृतिक जेल पनि भनिँदो रहेछ । भूगोलका हिसबाले पनि तीनतिरबाट पानीले घेरिएको र अर्कोतर्फ घना जङ्गल, कतैबाट भागेर कहीँ जान पनि भौगोलिकरुपले असम्भव । त्यहीमाथि पौडिन जान्नेहरु पानीमा पौडिएर भाग्न सक्छन् भनेर समुद्रको पानी चिसो छ अथवा पानीमा घातक माछाहरु पाइन्छन् तथा जङ्गलमा हिंस्रक जनावहरु छन् भनेर ढाँटिएको थियो भनेर इतिहासमा पढ्न पाइन्छ ।

पोर्ट आर्थरको भ्रमणपछि तत्कालीन ब्रिटिस सरकारले उपनिवेशको समयमा औपनिवेशिक कुनै एक राष्ट्रका युवाहरुलाई सामान्यभन्दा पनि सामान्य अपराधमा दोषी ठहर्‍याएर सजायका रुपमा कुनै अर्को राष्ट्रमा नि:शुल्क मजदुरीमा प्रयोग गरेर आफ्नो हैकम टिकाउन कति हदसम्म प्रयास गरेको रहेछ भन्ने स्पष्ट हुन्छ । उदाहरणका लागि, अर्को कुनै राष्ट्रको करिब ९ वर्षीय युवालाई आफ्नै सहकर्मीको रुमाल चोरेको अभियोगमा दोषी ठहर गरी पोर्ट आर्थरमा सजायका लागि ल्याइएको पाइयो । यसबाट प्रष्ट हुन्छ, त्यतिबेलाका ब्रिटिस शासकहरुका आफू नियन्त्रित मुलुकका जनताहरुलाई कसरी आफ्नो हिंस्रक रुप देखाउँथे । त्यतिमात्र होइन, उनीहरुलाई आफ्नो मौलिक हक अधिकार प्रयोग गर्नबाट समेत बञ्चित गरिन्थ्यो ।

त्यहाँ उल्लेखित डाटाअनुसार करिब ८ महिनाको सामुद्रिक यात्रापछि अपराधीहरु पोर्ट आर्थरमा आइपुग्थे । त्यति पीडादायी र कष्टपूर्ण यात्रामा बाँचेका पुरुष अपराधीहरुलाई काठ मिलका लागि काठ काट्ने काममा लगाइन्थ्यो भने महिलाहरुलाई महिला फ्याक्ट्रीमा कपडा सिलाउने काममा लगाइन्थ्यो । ती अपराधीहरुको सजाय अपराधको प्रकृति हेरेर ८ वर्षदेखि २० वर्षसम्म हुन्थ्यो । तर उनीहरुले गरेको अपराधको सजाय सकिएपछि पनि उनीहरु कहिल्यै आफ्नो घर फर्कन पाएनन् ।

को थिए त अपराधीहरु

सन् १७८८ देखि १८६८ को अवधिमा करिब १ लाख ६५ हजार नागरिकहरुलाई व्रिटेन, आयरल्याण्ड, भारत, वहमासलगायतका मुलुकहरुबाट त्यही प्रकृयामा अष्ट्रेलिया लगिएको इतिहासमा पढ्न पाइन्छ । तीमध्ये ८० प्रतिशत पुरुष तथा बाँकी २० प्रतिशत महिला थिए । सीप भएका अपराधीहरुलाई सरकारी कार्यालयमा र सीप नभएका अपराधीहरुलाई शारीरिक मजदुरी गर्न लगाइन्थ्यो । त्यस्तै महिला अपराधीहरुलाई महिला फ्याक्ट्रीहरुमा लगिन्थ्यो जहाँ उनीहरुले कपडा सिलाउने लगायतका कामहरु गर्ने गर्थे । आखिर को थिए त यिनीहरु ?

सन् १७७६ मा १३ भिन्न उपनिवेशहरुले ब्रिटिस उपनिवेशविरुद्ध युद्ध छेडे । १३ उपनिवेशहरुले स्वतन्त्रताको लडाइ जितेपछि संयुक्त राज्य अमेरिका घोषित भयो । यसपछि ब्रिटिस शासकले आफ्ना कैदीहरुलाई अमेरिकामा राख्न पाएन र कैदी बन्दी राख्ने ठाउँको अभाव भयो । त्यही मौकामा अष्ट्रेलियाका सामुद्रिक सहरहरुमाथि ब्रिटिसहरुले हैकम जमाए अनि बन्दी व्यवस्थापनको रुपमा धेरै स्थानहरुलाई प्रयोग गरे ।

अष्ट्रेलियामा ल्याइएका अपराधिहरु साना-साना अपराधमा सजाय पाएर ल्याइएका बन्दीहरु थिए । जस्तै, राजनैतिक आस्थाका आधारमा कैद भएका बन्दीहरु, अल्प संख्यक समूहका बन्दीहरु । साथीको रुमाल चोरेको अभियोगलगायत यस्ता साना अपराधमा सजाय पाएर आएका बन्दीहरु पनि अष्ट्रेलिया आउने बन्दीहरुमा थिए । अष्ट्रेलियाको इतिहासमा ब्रिटिस उपनिवेशबाट ल्याइएका बन्दीहरुबोकेको अन्तिम पानीजहाज सन् १८६७ मा वेस्टर्न अष्ट्रेलियामा आएको थियो । १० अक्टोबर १८६७ मा ब्रिटिसबाट हिँडेको होगुमोन्ट पानीजहाज ९ जनवरी १८६८ मा अष्ट्रेलिया आएको थियो, जसमा करिब २८१ बन्दीहरु थिए ।

यसरी अष्ट्रेलियामा वन्दीहरुको आगमनलाई आधुनिक नोकरशाहीतन्त्रको सुरुआतको रुपमा व्याख्या गरियो । सुरु-सुरुमा नि:शुल्क श्रमिकको रुपमा काम गर्ने बन्दीहरुले ज्यालाको माग गर्न थालेपछि यो परिघटनालाई अष्ट्रेलियाको इतिहासमा अन्यायका विरुद्धमा गरिएको संघर्षको थालनीको रुपमा पनि व्याख्या गरिन्छ । यिनै बन्दीहरुलाई वर्तमान अष्ट्रेलियाको प्रजातन्त्रका प्रतीकको रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment