+
+
Shares

आयल निगम भन्छ- १३०० ट्यांकर इन्धन चोरीमा संलग्न

ढुवानीकर्ता भन्छन्- आरोपपूर्ण प्रचारबाजी

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ फागुन २५ गते ९:३४

२५ फागुन, काठमाडौं । नेपाल आयल निगमका डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १३ सय ट्यांकर पेट्रोलियम चोरीमा संलग्न रहेको पाइएको छ । ती ट्यांकर भारतदेखि नेपालका केन्द्रीय र प्रादेशिक डिपोसम्म इन्धन ढुवानी गर्दा अपचलनमा संलग्न भएको निगम बताउँछ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार, ती ट्यांकरले फल्स च्याम्बर बनाएर तेल चोर्ने, सर्भिस ट्यांकमा पाइप जडान गरेर तेल झिक्ने, मिसावट गर्ने लगायतका अपचलन गरेका थिए । ती सबै ट्यांकरलाई कारबाही गरेको दाबी पनि उनले गरे ।

पौडेलका अनुसार, निगमले इन्धन ढुवानी गर्न १८ सय ट्यांकरसँग करार गरेको छ । यीमध्ये ७२ प्रतिशतभन्दा बढी ट्यांकर तेल चोरीमा संलग्न देखिएका छन् ।

चोरीका तीन जुक्ति

भारतको बरौनी डिपोबाट पेट्रोल उठाएका दुईवटा ट्यांकर गत मंसिर ३ गते निगमको बागमती प्रादेशिक डिपो, थानकोट आइपुगे । वीर बेताल आशिर्वाद कम्पनीको ना७ख ३९९६ र ना७ख २९९५ नम्बरको ती ट्यांकरले नियमित जस्तैगरी निगमको भण्डारण केन्द्रमा पेट्रोल खन्याए ।

बरौनी डिपोबाट जुनसुकै ट्यांकरले २० हजार लिटर पेट्रोल बोक्छन् । तर, ती दुई ट्यांकरले एक-एक हजार लिटर कम पेट्रोल थानकोट डिपोमा खन्याए । उनीहरुले करिब एक-एक लाख रुपैयाँको तेल बाटैमा गायव पारेका थिए । निगम र नापतौल तथा गुणस्तर विभागका प्राविधिकहरुले फल्स च्याम्बर बनाएर ती ट्यांकरले पेट्रोल चोरेको पत्ता लागेको थियो ।

मंसिरदेखि माघ अन्तिसम्म ट्यांकरहरुले तीन किसिमले चोरी गरेको पाइएको निगमका अधिकारीहरु बताउँछन् । फल्स च्याम्बर बनाएर ट्यांकरभित्रै इन्धन लुकाउने, पेट्रोल झिकेर मट्टीतेल मिसाउने र ठूलो परिमाणको चोरी नदेखिनेगरी थोरै-थोरै झिक्ने गरेको पाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

पेट्रोलियम अपचलन गर्ने पाँच जना चालक तथा सहचालकलाई कालोबजारी मुद्दा चलाएको निगमको दाबी छ । यीमध्ये दुई जना धरौटीमा छुटेका छन् । अन्य दर्जनौं ढुवानीकर्तालाई जरिवानासहित दुई सातासम्म प्रतिबन्ध लगाएको निगमका प्रवक्ता उपाध्याय बताउँछन् ।

ढुवानीकर्ता भन्छन्- आरोपपूर्ण प्रचारबाजी गरियो

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वप्रसाद अर्याल कानुनीरुपमा चलेका पेट्रोलियम ट्रक-ट्यांकरहरुलाई निगमले चोरीको आरोप लगाएर प्रचारमुखी काम गरेको बताउँछन् ।

यति धेरै ट्रक-ट्यांकर अपचलनमा नलागेको, लागेकै भए त्यसमा निगमका कर्मचारी संलग्न रहेको उनले बताए । निगमका कर्मचारी संलग्न नभइ ट्याङ्करका चालकले मात्र अपचलन गर्नै नसक्ने अर्यालको भनाइ छ ।

‘निगम एकातिर नोक्सानी सुधार भयो भनेर कर्मचारीलाई पुरस्कृत गर्छ’, उनी भन्छन्, ‘अर्कातिर १३ सय ट्यांकरले तेल चोरे भन्दै प्रचार गर्छ । यत्रो चोरी हुँदा नोक्सान कसरी घट्यो भन्ने प्रमाणचाहिँ सार्वजनिक गर्दैन ।’

मेकानिकल लकिङ फेल !

निगमले पेट्रोलियम चोरी रोक्न भन्दै करोडौं खर्च गरेर मेकानिकल लकिङ प्रणाली अपनाएको छ । यही प्रणाली तोडेरै चालकहरुले धमाधम तेल चोरेको निगमकै भनाइ छ ।

निगमका इन्जिनियर तथा थानकोट डिपो प्रमुख प्रदीपकुमार यादव अपचलनमा मुछिएका ढुवानी ट्रक र ट्यांकर चालकहरुले कुनै न कुनै रुपमा मेकानिकल लकिङ तोडेको ‘हुन सक्ने’ बताउँछन् । ‘मेकानिकल लकिङ सुरु भएको दुई महिनासम्म त चोरी ठप्पै भएको थियो’, उनी भन्छन्, ‘तर, त्यसपछि यो प्रणालीबाट चोर्न भारतमा सिकेजस्तो देखिन्छ ।’

अब मेकानिकल लकिङ प्रणाली विस्थापित गर्न जिपीआरएस ट्र्याकिङसहितको नयाँ प्रविधि अपनाउन निगमले काम गरिरहेको यादवले बताए ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?