Comments Add Comment

अमेरिकामा बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउँदै ‘ककाकि’

चितवनकी सरिता रेग्मीले आफ्नै घरमा रहेको सेतोपाटीमा कोरेको कप, कलम, घर, नङ जस्ता शब्दलाई अमेरिकामा रहेका मिलन सैजु, अनिका रौनियार, सौर्य र मिफुने गुरुङले एकसरो सर्सर्ती सुनाउँछन् । नेपाली सिक्दै गरेका विद्यार्थीलाई पढाइने सो कक्षामा हिजो आज नेपाली सिकाउन अँग्रेजी शब्दलाई अनुवाद गर्नुपर्दैन । शिक्षिका रेग्मी खुसी हुँदै भन्छिन् ‘हामी केहीबेर पढाउँछौं, केही बेर गीत गाउँछौं बच्चाहरूले यसैमा मनोरञ्जन लिने गरेका छन् ।’ एकछिन पढाएपछि ‘रेसम फिरिरि… भाकामा विद्यार्थीसँगै गीत गुनगुनाउन थाल्छिन् सरिता ।

हप्तामा एक दिन हुने उक्त तहका विद्यार्थीको कक्षा नेपालमा झिसमिसे बिहानीमा नै सुरु हुन्छ र एक घण्टासम्म चल्छ । अमेरिकामै जन्मिएर यी ४ जना विद्यार्थीहरू स्पष्ट नेपाली बोल्न जान्दैनन् । तर उनीहरूलाई रेसम फिरिरिको धुनले भने लोभ्याउन थालिसकेको छ । सरिताले गाउन सुरु गरेपछि उनीहरू पनि खुसीहुँदै रेसम फिरिरिको भाकामा ताली बजाउन थाल्छन् ।

यो दृश्य ककाकिद्वारा अमेरिकामा रहेका नेपालीका छोराछोरीको लागि सञ्चालन गरिएको नेपाली भाषा शिक्षण कक्षाको एउटा दृश्य हो । आफ्ना छोराछोरीलाई नेपाली भाषा र संस्कृतिको बारेमा जानकारी दिन चाहनेहरूले झण्डै छ महिनाअघिदेखि यसरी अनलाइन कक्षाबाट नेपाली पढाउन थालेका छन् ।

तस्वीर : सौजन्य ककाकि

त्यसो त अमेरिकामा नेपाली पढाउने यो पहिलो कक्षा भने होइन । यसअघि पनि अमेरिकाका २० वटाभन्दा बढी राज्यमा स्वयंसेवकको रूपमा नेपालबाट गएका शिक्षक शिक्षिकाहरूले नेपाली पढाउने गरेका थिए । तर त्यो एकातर्फ स्वयंसेवी काम भएकोले त्यसमा स्थायित्वको चुनौती थियो भने अर्काेतर्फ कोरोनाका कारण भौतिक उपस्थिति सम्भव नभएपछि ती सबै कक्षाहरू बन्द भए ।

क्यालिफोर्नियामा बसोबास गर्ने प्रदीप खनाल भन्छन् ‘नेपालीहरू धेरै बस्ने ठाउँमा त यसअघि नेपाली कक्षाहरू भौतिक रूपमा नै हुने गरेका थिए । तर ती सबै स्वयंसेवी काम भएकोले यसको स्थायित्वबारे चुनौती थपिएको थियो । त्यसैले पहिलेदेखि नै नेपाली भाषासँगै संस्कृति समेत सिकाउने छुट्टै ‘प्लेटफार्म’को आवश्यकता भने धेरैले महसुस गरिरहेका थिए ।’

अमेरिकामै बस्नेलाई किन आवश्यक पर्‍यो नेपाली ?

फेरि अर्काे प्रश्न आउँछ, अमेरिकामै बस्ने र उतै जन्मिएका बच्चालाई नेपाली सिकाउनुपर्ने आवश्यकता के रह्यो ? खनाल भन्छन् ‘हामी अमेरिकामा नै बसे पनि अमेरिकन बन्न सक्दो रहेनछौं । त्यसैले हामी जहाँ बसे पनि हाम्रो पहिचान र संस्कृति भनेको नेपाली नै रहेछ ।’

अहिले पनि अमेरिकामा नेपाली भेट हुँदा ‘तिमी नेपाली हौ ?’ भनेर नसोधी सिधै ‘पहाड घर कहाँ हो ?’ भनेर सोध्ने चलन रहेको सुनाउँदै प्रदीप भन्छन् ‘हाम्रा बच्चाहरू अमेरिकन पनि बन्न नसक्ने र नेपाली पनि बन्न नसक्ने अवस्था नआओस् भनेर नै नेपाली भाषा र संस्कृति सिकाउन थालेका हौं ।’

उनले नेपाल आउँदा नेपाली नजान्ने, भाषा नजानेकै कारण नेपालमा बस्ने हजुरबुबा हजुरआमासँग कुरै गर्न नसक्ने जस्ता समस्या धेरैमा देखिएकोले पनि बच्चालाई नेपाली सिकाउन लागिएको उनी बताउँछन् ।

ककाकिको योजनालाई कोरोनाको साथ !

क्यालिफोर्नियामा बस्ने प्रदीप खनाल, उत्तर क्यारोलिन बस्ने सुशील सुवेदी र पेन्सिलभेनिया बस्ने वत्सल देवकोटालाई झण्डै एक वर्षअघि एउटा कुराले चसक्क मनमा छोयो – ‘हामी अमेरिकामा बस्न थालेको पहिलो पुस्ता हौं । हामी त अझै पनि नेपाली संस्कारसँग परिचित छौं । तर हामीभन्दा पछिको पुस्ता ? आखिर उनीहरूको संस्कृति के होला ?’

ककाकिका योजनाकारत्रय क्रमश: वत्सल देवकोटा, प्रदीप खनाल र सुशील सुवेदी

भनिन्छ, कुनै पनि मान्छे एउटा भूगोलबाट अर्काे भूगोलमा जाँदा ३ पुस्तासम्म उसको शारीरिक बनोटमा बदलाव आउँदैन । यस्तो अवस्थामा अहिले अमेरिका पुगेकाहरूको नाती पुस्तासम्मले अमेरिकी संस्कृतिलाई आफ्नो मान्न सक्दैनन् । कतै दुई पुस्ता संस्कृतिविहीन बन्ने त होइन ? भन्ने चिन्ताले सताउन थालेपछि ३ जना मिलेर संस्कृति र नेपाली भाषा सिकाउने एउटा ‘प्लेटफार्म’को परिकल्पनामा लागे ।

सोच्न जति सजिलो थियो, कार्यान्वयन त्यति नै कठिन पनि थियो । अमेरिकाको ५० वटा राज्यमा बस्ने नेपालीका बच्चालाई कसरी भेला गराउने ? नेपाली भाषा र संस्कृति सिकाउने गुरु कहाँबाट खोज्ने ? यिनै कठिन प्रश्नहरूको उत्तर खोज्दै गर्दा कोरोना भाइरसको महामारी सुरु भयो ।

कोरोनाको महामारीसँगै मान्छेले भौतिक रूपमा भन्दा पनि नयाँ प्रविधिमार्फत् सिक्न खोजे । २० भन्दा बढी राज्यमा पठनपाठन गरिँदै आएको स्वयंसेवी नेपाली अध्यापन कक्षाहरू पनि कोरोनाका कारण बन्द भए । साथमा, अमेरिकाको कुनाकाप्चाका विद्यार्थीलाई पनि एउटै प्लेटफार्ममा जोड्न सकिने र नेपालबाट शिक्षकलाई पढाउन पनि सहज हुने भएपछि गत असारतिर ककाकिले एउटा परीक्षणात्मक अनलाइनकक्षा सञ्चालनमा ल्यायो ।

पहिलो कक्षामा विद्यार्थीहरूबाट राम्रो प्रतिक्रिया आयो । उनीहरूको सिकाइ प्रक्रिया प्रभावकारी लागेपछि त्यसलाई व्यवस्थित ढंगले अघि बढाउने निष्कर्षमा पुगे योजनाकारहरु, खनाल, देवकोटा र सुवेदी । अहिले ककाकि अन्तर्गत् ३ जना शिक्षक र १०० जना विद्यार्थीहरूले नेपाली भाषा सिक्दै आएका छन् ।

भाषासँगै संस्कृति सिकाउने लक्ष्य

ककाकिलाई यसका योजनाकारहरुले दुई तरिकाले परिभाषित गर्ने गर्छन् । पहिलो त नेपाली भाषाको पहिले सिकाइने बाह्रखरीको पहिलो ३ अक्षरको रुवमा त दोस्रो भनेको क भनेको कलम, का भनेको कापी र कि भनेको किताबको अर्थमा यसलाई परिभाषित गर्ने गरिन्छ ।

यसरी ककाकिको भाषा सिकाइ प्रक्रिया प्रभावकारी लागेपछि खनाल, देवकोटा र सुवेदीको टोलीले अब नेपाली संस्कृतिका विभिन्न पक्षलाई पनि यही प्लेटफार्मबाट सिकाउने तयारी गरेको छ । जसअन्तर्गत्, वाद्यवादनमा सारंगी, मुरली आदि सिकाउने, नेपाली संस्कृतिक नृत्य, कला आदि सिकाउने थप कार्यक्रम पनि गर्न लागिएको खनालले जानकारी दिए । अहिले नै ककाकि मार्फत् २० जनाले नेपाली परम्परागत नृत्य सिक्दै आएका छन् । यसलाई व्यापकता दिने तयारी रहेको खनाल बताउँछन् ।

सशुल्क कक्षा

यसअघि अमेरिकामा हुने नेपाली कक्षाहरू प्रायः स्वयंसेवीको रुपमा निःशुल्क हुने गरेका थिए । तर त्यसले स्थायित्व नपाउने भन्दै अहिलेको यो कक्षामा भने शुल्क उठाउने गरिएको छ । पाँच वर्षको बच्चालाई कम्तीमा ५ वर्षसम्म पढाउँदा उसले नेपाली सामान्यतया बोल्न सक्छ भन्ने उनीहरूको अनुमान छ । त्यसको लागि एक जनालाई व्यक्तिगत रूपमा पनि पढाउने विकल्प राखिएको छ । हप्तामा एकदिन पढाउने कक्षाको लागि महिनाको ३५ डलर तोकिएको छ भने व्यक्तिगत रूपमा पढाउन चाहनेको लागि मासिक १०० डलर तोकिएको छ ।

अहिले एक सातामा एकदिन अध्यापन गराउँदै आएकोमा समर सिजनमा ३ महिना स्कुल बन्द हुने भएकोले यो समयमा हरेक दिन कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment