Comments Add Comment

काठमाडौं मेयर्स कप क्रिकेटमा बागमतीको पहिलो जित

२५ फागुन काठमाडौं । विभागीय टिम एपीएफलाई हराउँदै बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेटमा पहिलो जित निकालेको छ । नन्दन यादव र ज्ञानेन्द्र मल्लको अर्धशतक र सोनु देवकोटाले शानदार बलिङ गरेपछि बागमती प्रदेशले एपीएफलाई पराजित गरेको हाे ।

यसअघि मूलपानी क्रिकेट मैदानमा लगातार दुई खेल हारेको बागमतीले मंगलबर कीर्तिपुरस्थित टीयू मैदानमा एपीएफलाई २७ रनले पराजित गरेको हो । अघिल्लो दुई खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबलाई समान १ विकेटले पराजित गरेको एपीएफको यो पहिलो हार हो ।

बागमतीका सोनु देवकोटाले ६ विकेट लिएपछि २३४ रनको लक्ष्य पछ्याएको एपीएफ ४४.५ ओभरमा सबै विकेट गुमाएर २०३ रनमा अलआउट भयो ।

एपीएफका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले ३८ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा ५० रन बनाएका हुन् । यस्तै शंकर रानाले २९, अमर रउटेलाले २७ र सन्दीप जोराले २५ रन जोडे ।

एपीएफलाई अलआउट गर्न बागमतीका सोनु देवकोटाले १० ओभरमा ४१ रन खर्चेर ६ विकेट लिए । यस्तै रामनरेश गिरीले ८ ओभरमा १ मेडन राख्दै २८ रन खर्चेर २ विकेट लिए । अरियो पौडेलले ५.५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवले अर्धशतक मद्दतमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २३३ रन बनाएको थियो ।

बागमतीका लागि नन्दन यादवले सर्वाधिक ६० रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका नन्दनले ५६ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ६० रन जोडे ।  नन्दनले छैटौं विकेटका लागि आदिल खानसँग ७३ रनको साझेदारी गरे ।

यस्तै कप्तान ज्ञानेन्द्रले ५७ रन बनाए । उनले ८४ बल खेल्दै ७ चौका प्रहार गरे । आदिल खानले ३४ र पारस खड्काले २९ रन जोडे ।

बलिङमा एपीएफका किशोर महतो र अमर रउटेलाले २-२ विकेट लिए । यस्तै अभिनाश बोहरा र वसन्त रेग्मीले समान १ विकेट लिए ।

पहिलो हार व्यहोरेको एपीएफको ३ खेलबाट ४ अंक छ । यस्तै मंगलबारै आर्मीलाई पराजित गर्दै दोस्रो जित हात पारेको नेपाल पुलिसको पनि ३ खेलबाट ४ अंक नै छ । आर्मी र बागमतीको समान २ अंक छ । काठमाडौं मेयर्स ११ को पनि ३ खेलबाट २ अंक नै छ ।

प्रतियोगिता अन्तर्गत बुधबार एक खेल हुनेछ । टीयू मैदानमा हुने खेलमा नेपाल पुलिस क्लब र काठमाडौं मेयर्स ११ बीच प्रतिस्पर्धा हुनेछ । दुवैको यो अन्तिम लिग खेल हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment