Comments Add Comment

पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जमा साइकल यात्रा

२७ फागुन, वीरगञ्ज । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जभित्र साइकल यात्रा गरिएको छ । ‘स्वच्छ देश, स्वस्थ मधेस’ भन्ने नाराका साथ प्रदेश सरकार, नेपाली सेना, पर्सा राष्ट्रिय निकुञ्ज लगायत सरोकारवाला निकायले बिहीबार साइकल यात्राको आयोजना गरेका हुन् ।

साइकल यात्रामा १९५ जना साइकलयात्री सहभागी थिए । निकुञ्ज परिसरबाट सुरु भएको साइकल यात्रामा यात्रीहरुले निकुञ्जको सबैभन्दा उचाइमा रहको रामहोराई भाटा र मुख्य प्राकृतिक सिमसार क्षेत्र हलखोरिया दह हुँदै ५५ किलोमिटर यात्रा पूरा गरेका थिए ।

बिहान ९ बजेदेखि सुरु भएको साइकल यात्रामा सहभागीहरु अपरान्ह ४ बजे निकुञ्जको कार्यालयमा आइपुगेका थिए । साइकल यात्रामा १३ जिल्लाबाट ७ वर्षदेखि ६५ वर्ष उमेर समूहका महिला–पुरुष, विश्व साइकलयात्री पुष्कर शाहदेखि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरालगायत सहभागी थिए ।

५५ किलोमिटर साइकल यात्रा पूरा गरेका ७ वर्षीय बालक रविन चौधरीलाई प्रोत्साहन स्वरुप प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको तर्फबाट ५१ हजार रुपैयाँ दिने घोषणा गरे । यस्तै नेपाली सेनाका पूर्वसहायक रथी बाबुकृष्ण कार्कीले १८ हजार आर्थिक सहयोग गरे ।

कार्यक्रममा मुख्यमन्त्री राउतले भारतीय पर्यटकलाई मात्रै आर्कषित गर्न सकेपनि पर्यटन क्षेत्र माथि उठ्ने बताए । त्यसका लागि प्रदेश २ का महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको विकास गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री राउतले पर्सा राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुको संरक्षणका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment