१२ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले यसवर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत प्रणालीमा करिब एक हजार मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन् । सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले बाढीपहिरोका कारण जलविद्युत् प्रणालीमा ठूलो असर परेको र प्रसारण, वितरण तथा उत्पादन संरचनामा क्षति पुग्दा राष्ट्रिय विद्युत् प्रणालीमा करिब एक हजार मेगावाट उत्पादन अवरुद्ध भएको बताए ।
पछिल्लो वर्षाका कारण कालीगण्डकी कोरिडोर प्रसारणलाइन अवरुद्ध हुँदा १३ आयोजनाका करिब ३७० मेगावाट उत्पादन प्रभावित भएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए । उनले विद्युत उत्पादनसंगै प्रसारण पूर्वाधार नहुँदा विद्युत् प्रवाह गर्न समस्या देखिएको उल्लेख गरे ।
हेटौंडा–ढल्केवर प्रसारण लाइन चार्ज भएपछि पूर्वको विद्युत् पश्चिम र पश्चिमको विद्युत पूर्व लैजान सहज हुने र यसले पूर्व–पश्चिम जोड्ने समस्या समाधान गर्ने मन्त्री श्रेष्ठले बताए । उनले प्रणाली व्यवस्थापनका लागि आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदै अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन भइरहेको जानकारी दिए ।
प्रतिक्रिया 4