Comments Add Comment

‘स्वार्थको द्वन्द्व सार्वजनिक पदमा रहँदा मात्रै हैन, बाहिरिएपछि पनि हुन्छ’

प्रजातन्त्रको विस्तारसँगै स्वार्थको द्वन्द्वको मामिला पनि झांगिँदै छ । यो नैतिकतासँग मात्रै जोडिएको हुन्न, यो कानुन नै जोडिएको विषय हो । कोही व्यक्तिले स्वार्थको द्वन्द्वका बीच फाइदा उठाउँछ भने त्यो भ्रष्टाचार नै हो । पश्चिमा देशहरुले यही मूल्य मान्यतालाई आधार बनाएर स्वार्थको द्वन्द्व हुन नदिन विभिन्न काम गरेका छन् । नेपालमा भने अहिलेसम्म यसलाई भ्रष्टाचार मान्ने गरी बलियो कानुनी प्रबन्ध र संरचनाहरु तयार गरिएका छैनन् ।

विकसित देशमा यसलाई व्यवस्थापन गर्न छुट्टै कानुन नै बनाइएको हुन्छ । यसलाई नियन्त्रण गर्नेगरी छुट्टै संस्थागत संरचनाहरु नै बनाइएका हुन्छन् । हामी कहाँ यसलाई समेट्न सक्ने केही कानुन छन्, तर ती कानुनले यसलाई रोक्न सक्ने व्यवस्था गरेको छैन ।

जस्तो कि संसद् नियमावलीले सांसहदरु स्वार्थ बाझिने काममा संलग्न हुनुहुँदैन त भन्छ, तर के–के हुँदा स्वार्थ बाझिन्छ, के–के कुरा गर्नुहुँदैन भनेर ब्याख्या गरिएको छैन । यो विषयलाई मोटो रुपमा बोलिए पनि त्यसलाई मसिनो गरी कतै पनि व्याख्या गरिएको छैन । स्वार्थ बाझिने गरी हुने काम गर्दा हुने सजाय र कानुनी कारबाहीका बारेमा पनि अहिलेसम्म नेपालमा कुनै पनि व्यवस्था छैन ।

हाम्रोमा सेवा निवृत्त हुनासाथै सचिवहरु पनि कन्सल्टेन्सीमा परामर्शदाता भएर जाने प्रचलन छ, यो पनि स्वार्थको द्वन्द्व हुने विषय नै हो

अमेरिकाको कानुनलाई हेर्नुहुन्छ भने त्यहाँ यसबारे विशेष व्यवस्थाहरु छन् । सार्वजनिक पद धारण गरेकाले सित्तैमा कसैले खुवाएको खान नहुने, उपहारहरु लिन नहुने, अरुको प्रायोजनमा भ्रमण गर्न नहुने, स्वार्थ बाझिने गरी कम्पनीहरुको सेयर होल्डर हुन नहुने लगायतका व्यवस्थाहरु छन् । तर, यस्तो सुविधा लिने हो भने पूरा गर्नुपर्ने प्रक्रिया र नियम उल्लंघन गर्दा हुने कारबाहीबारे पनि पनि स्पष्ट व्यवस्था छन् । कसैसँग भावनात्मक रुपमा नजिक भएर निर्णय लिन नहुने कुरा कानुनबाटै निर्देशित छन् । बेलायत र अमेरिकामा यस्ता कुरालाई हेर्न र व्यवस्थित गर्न स्थायी संयन्त्र नै खडा गरिएको छ ।

स्वार्थको द्वन्द्वको कुरा सार्वजनिक पदमा रहँदा मात्रै हैन, पदबाट बाहिरिएपछि पनि हुन्छ । हाम्रोमा सेवा निवृत्त हुनासाथै सचिवहरु पनि कन्सल्टेन्सीमा परामर्शदाता भएर जाने प्रचलन छ । यो पनि स्वार्थको द्वन्द्व हुने विषय नै हो । कतिपय राज्यका गोप्य सूचना बाहिर चुहाउने पक्ष पनि यही विषयसँग जोडिन्छ ।

देशमा भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गराउने हो भने स्वार्थको द्वन्द्व नहुने वातावरण तयार गर्नुपर्छ । हाम्रो संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तले पनि निष्पक्षता सहितको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको परिकल्पना गरेको छ । सुशासन राज्यको दायित्व हो ।

स्वार्थको द्वन्द्व निवारण गर्नु हाम्रो अन्तर्राष्ट्रिय दायित्व पनि हो । नेपालले २०११ मा हस्ताक्षर गरेको भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिमा पनि यी विषयहरु छन् । यसले त झन् सार्वजनिक मात्रै हैन, निजी क्षेत्रमा पनि स्वार्थको द्वन्द्व हुनुहुन्न भनेको छ । यसलाई कार्यान्वयन गर्न भनेर २०६९ सालमा कार्ययोजना तथा रणनीति बनाइए पनि स्वार्थको द्वन्द्वबारे अझै पनि स्पष्ट कानुनी व्यवस्था छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरुमा पनि स्वार्थको द्वन्द्वबारेका प्रतिबिम्बहरु छन् । यसलाई नियन्त्रण गर्न विभिन्न प्रावधानहरु जरुरी भइसकेको अख्तियारको पनि बुझाइ छ ।

तर, स्वार्थको द्वन्द्व अन्त्य गर्न समग्र राजनीतिक वृत्त नै प्रतिबद्ध हुनुपर्छ । स्वार्थको द्वन्द्वलाई ‘प्रिन्सिपल’मा मात्रै होइन, ‘रुल बेस’ व्यवस्थामा लैजान नितान्त जरुरी छ । यसैका माध्यमबाट देशमा भ्रष्टाचार नियन्त्रण गर्ने आधार तयार हुन्छ ।

यो पनि पढ्नुहोस नेपालमा ‘स्वार्थको द्वन्द्व’ रोक्ने कानुन छैन, स्वार्थ बाझिनेहरू नीति निर्माता छन् यो पनि पढ्नुहोस ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्टको विषय नैतिक मात्रै हैन, कानुनी पनि हो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment