+
+

पैसा संख्या मात्रै हो, यसैलाई मूल गन्तव्य बनाउँदा प्रगति गर्न सकिन्न : विनोद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते २०:२०

२८ फागुन, नवलपुर । ‘राजनीतिज्ञहरू धनाढ्य हुन खोजिरहेका छन्, धनाढ्यहरू भने राजनीतिज्ञ बन्ने धूनमा छन् । यस्तो किन ?’ पत्रकार उमेश चौहानले उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीलाई यो प्रश्न गर्दा ‘फाइनपि्रन्ट फिभर’का दर्शकहरूले ताली पिटे ।

प्रश्न सुनेर चौधरी पनि मुसुमुसु हाँसे । दशकौं लामो व्यावसायिक यात्रालाई समानान्तर रूपमा राजनीतितिर जोडेका चौधरीले हाँस्दै उत्तर दिए, ‘यो देशमा कुनै पनि दीर्घकालीन नीतिगत परिवर्तन ल्याउनु छ भने त्यो राजनीतिबाट मात्रै सम्भव छ । विषयगत संगठनहरूबाट यो सम्भवै छैन । म यो देशका मूलभूत समस्या समाधान गर्न राजनीतिमा आएको हुँ ।’

यसो भनिरहँदा उनले आफ्नो विगत सम्झिँए । ‘सरकारी विद्यालयमा पढेर पनि ठूला सपना देख्न सकें । मुलुककै ठूलो सम्मानजनक व्यावसायिक घराना बनाउने सपना देखें । कालान्तरमा त्यो सम्भव पनि भयो । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ नेतृत्व पनि गरें । तर, त्यत्तिले मात्रै नीतिगत परिवर्तन ल्याउन सकिएन । नीतिनिर्माता स्वयं संवेदनशील बन्न सकेनन् । इमानदार राजनीतिले मात्रै यी सबै गर्न सक्छ ।’ नेताहरूले १० वटा निर्णय गर्नुभन्दा एउटा सही निर्णय गर्ने हो भने देश आफैं प्रणालीमा जाने उनले बताए ।

आफैंले बनाएको ‘सीजी उन्नति कल्चरल भिलेज’को प्रांगणमा आयोजित घुम्ती साहित्य महोत्सवको ‘अथनीति र राजनीर्ति’ सत्रमा बोलिरहँदा चौधरीले बारम्बार व्यवस्थित स्रोत परिचालनमा जोड दिए । मुलुक स्रोत-साधनमा सम्पन्न भए पनि तिनको व्यवस्थापन नहुँदा गरिबको गरिब नै रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

चौधरीले यति भनिसकेपछि पत्रकार चौहानले अर्को प्रश्न गरे, ‘तपाईं विदेशमा लगानी गर्न जुन विमानमा गइरहनुभएको हुन्छ, त्यसमा अरबमा काम गर्ने नेपाली पनि उत्तिकै हुन्छन् । कस्तो विरोधाभाष है ?’

चौधरीले यसको जवाफ रोचक पारामा दिए, ‘नेस्ले कम्पनीले नेपालमा उत्पादन गर्न हुने अनि मैले विश्वभर वाइवाइ पुर्‍याउन नहुने ?’ दर्शकले ताली बजाएर नसक्दै उनले थपे, ‘नेपालमा ठूलाठूला व्यवसायले शाखा खोल्न हुने अनि मैले दुबईको ताजमा नेपाली झन्डा फहराउन नहुने ?’

विदेश जाने नेपाली कामदारको सन्दर्भमा बोल्दै चौधरीले पढेलेखेका युवा पनि उत्तिकै देशबाहिर गएको स्मरण गराए । ‘म उनीहरूलाई देश र्फक भन्दिनँ । सबैभन्दा पहिले आफनो क्षमता बढाउनुस्, विश्वबजारमा प्रतिस्पर्धी भएर निस्किनुस् भन्छु,’ चौधरीले भने, ‘नेपालबाहिर हुर्किंदै गरेको सीप र पुँजीले अब देश बनाउने हो । त्यस्ता नेपालीलाई मतदानको अधिकार दिनुपर्छ भनेर लडेको व्यक्ति पनि म हुँ ।’

यही सन्दर्भमा चौधरीले मागिखाने र ठगीखाने प्रवृत्तिविरुद्ध आफूहरूले सञ्चालन गरेको ‘गरिखाने’ अभियानको चर्चा गरे ।

पत्रकार चौहानले ‘वाइवाइ’लाई सेयर बजारमा सूचीकृत गर्ने योजनाबारे सोध्दा चौधरीले त्यो दिन टाढा नरहेको बताए । ‘चौधरी ग्रुपअन्तर्गतका थुप्रै कम्पनी जनतामा गएका छन् र तिनले कहिल्यै घाटा पुर्‍याएका छैनन् । कुनै नेपालीको लगानी डुबेको छैन । वाइवाइ पनि कुनै दिन जनतामा जान्छ ।’

आर्थिक विकास र राजनीतिको सम्बन्धबारे सोधिएको प्रश्नमा चौधरीले नेतृत्वमा दूरदृष्टि अभाव रहेको औंल्याए । ‘मैले आत्मविश्वासी उद्यमी, उपभोक्ता, कर्पोरेट हाउस तथा क्षेत्रगत संगठनका दृष्टिले धेरैथोक देखें । देश बनाउन गाह्रो छैन । नेपालको मूल समस्या भनेको स्रोत खर्चिन नसक्नु हो,’ उनले भने, ‘विकास बजेट १५ प्रतिशत पनि खर्च गर्न नसक्ने नेतृत्वबाट ठूलो समृद्धिको सपना देख्न सकिँदैन । केही सजिला नीतिगत परिवर्तन गर्ने हो भने मात्रै पनि मुलुकको कायापलट हुन सक्छ ।” सफल व्यक्तिलाई अघि बढ्न नदिने प्रवृत्तिका कारण पनि धेरै मानिस उद्यमशीलताबाट निराश भएर हराएको उनले बताए ।

‘तपाईंको नजरमा पैसा के हो ?’ पत्रकार चौहानको यो प्रश्नमा उत्तर दिँदै चौधरीले पैसालाई आफूले कहिल्यै बढ्ता महत्व नदिएको बताए । ‘मेरा लागि पैसा साध्य होइन, साधन हो । उद्देश्य भयो भने स्रोतहरू जुटदै जान्छन्। पैसा संख्या मात्रै हो । यसैलाई मूल गन्तव्य बनाउने हो भने प्रगति गर्न सकिँदैन ।’

पुस्तक प्रकाशन संस्था फाइनपि्रन्टद्वारा आयोजित यो साहित्य महोत्सव शनिबारसम्म चल्नेछ । चौधरी ग्रुप (सीजी)अन्तर्गतको सामाजिक जिम्मेवारी वहन गर्ने एकाइ चौधरी फाउन्डेसनद्वारा निर्मित ‘उन्नति कल्चरल भिलेज’ आजै (शुक्रबार)बाट विधिवत् सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?