Comments Add Comment

ऋषिङ महोत्सव: कोदोको ढिँडो, कोदोकै सेल

तस्वीर सौजन्य : स्टोरी साइकल

काठमाडौं । सामान्यतया सेल चामलको पिठोबाट बनाइने परिकार हो । तर के सेल भन्नेबित्तिकै चामलकै बन्नुपर्छ भन्ने छ र ? कोदोको सेल बनायो भने त्यसको स्वाद कस्तो हुन्छ होला ? यो नयाँ परिकारलाई तनहुँको ऋषिङ गाउँपालिकाले भने ब्राण्ड बनाउने तयारी गरेको छ ।

खाद्य बालीमध्ये ऋषिङ गाउँपालिकामा सबैभन्दा धेरै उत्पादन हुने कोदो नै हो । तर यो अहिलेसम्म ‘गरिबको खाना’ भनेर चिनिने हुँदा आर्थिक स्थिति सुधार भएकाहरूले कोदोको उपभोग छाड्दै गए । त्यसपछि गाउँपालिकाले यसैलाई ब्राण्ड बनाउनको लागि पाँचौं ऋषिङ महोत्सवमा कोदोको ढिँडो र कोदोको सेललाई मुख्य खानाको रूपमा विकास गर्‍यो ।

सांस्कृतिक पुनर्जागरणसँगै पर्यटन विकासको लक्ष्य

पाँचौं ऋषिङ सांस्कृतिक महोत्सव फागुन २८ गतेदेखि चैत १ गतेसम्म तनहुँमा जारी छ । ‘सांस्कृतिक संरक्षण, प्रतिभा प्रोत्साहन र पर्यटन प्रवद्र्धनको लागि पाँचौ ऋषिङ साँस्कृतिक महोत्सव’ भन्ने नाराका साथ सुरु भएको यो महोत्सवले सिंगै गाउँपालिकाको जीवनशैलीलाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य लिइएको उल्लेख गरेको छ ।

वडा नं ७ को कोटदहमा आरनमा फलामबाट हँसिया बनाउनेदेखि सोही वडामा परम्परागत भेषभुषा र बाजागाजामा नाच्न तयार रहेका स्थानीयको प्रस्तुतिलाई प्रदर्शनीको मुख्य आकर्षणको रुपमा राखिएको थियो । वडा नं ८ मा रहेको कटुवाल प्रथा होस् या त बिँडीको सर्काे तान्ने बुढाबालाई समेत आकर्षणको रुपमा देखाएको छ । यी सबै सांस्कृतिक प्रस्तुतिकरणलाई ‘डिजिटाइज’ गर्ने काम भने स्टोरी साइकलले गरेको छ ।

जातीय परिकारसँगै गाउँपालिकामा धेरै उत्पादन हुने कोदोको ढिँडो र कोदोकै सेल रोटीलाई मुख्य आकर्षणको रूपमा अघि सारिएको गाउँपालिकाका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । ऋषिङ सांस्कृतिक महोत्सव यो वर्ष अघिल्ला वर्षको तुलनामा केही भिन्न देखियो । विभिन्न युवा जनशक्तिलाई परिचालन गर्नेदेखि त्यहाँको सांस्कृतिक विशेषतालाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नु नै महोत्सवको मुख्य विशेषता रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसवर्षको महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, स्थानीय जातजातिका पराम्परा अनुसारका नाच, राष्ट्रिय र स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, रोटे पिङ, स्थानीय खानाका परिकार र स्थानीय उत्पादनको बजारीकरण मुख्य आकर्षणका रूपमा रहेको आयोजकले जनाएको छ । यही महोत्सवमा ढिकीमा साग कुटेर गुन्द्रूक बनाउने कला, परम्परागत तानको प्रयोगबाट गलबन्दी बुन्ने महिला, बाजागाजासहित परम्परागत भेषभुषामा कौरा नाच समेत देखाइएको छ ।

विभिन्न जातजातिका सांस्कृतिक नाचहरु ज्यानै, ओहोली, झ्याउरे, चुड्का, लाखे, घाटु, पञ्चैबाजा तथा लोकदोहोरी कार्यक्रमहरु मुख्य आकर्षणको रुपमा रहेको गाउँपालिकाले जनाएको छ । यस्तै, मगरजातिको लोपोन्मुख रोदीको झलक, रोटेपिङ, मगरजातिको खानाको परिकार पनि महोत्सवका आकर्षणका रुपमा रहेको आयोजकले जनाएको छ ।

ऐतिहासिक महत्वको क्षेत्र
प्राचीन किंवदन्ती अनुसार ऋषिङ गाउँपालिका श्रृङ्ग ऋषिले तपस्या गरेकोले यो ठाउँको नाम नै ऋषिङ राखिएको बताइन्छ । ऋषिङ गाउँपालिकामा रानीपोखरी, गढीदरबार, कोटदरबारजस्ता ऐतिहासिकस्थलहरू रहेका छन् । कोटदरबार मुकुन्द सेनका भतिजा समसेनले राज्य गरेको ठाउँ हो भन्ने मान्यता छ । अन्य विभिन्न पुराना मठमन्दिरहरुको यो क्षेत्र ऐतिहासिक एवं सांस्कृतिक क्षेत्रमा समेत महत्वपूर्ण मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment