Comments Add Comment

अन्तर वडा टेबलटेनिसको तयारी पूरा 

१ चैत, काठमाडौं । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुने भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई गंगादेवी वस्त्रालयले सह–प्रायोजन गर्ने भएको छ ।

त्यससम्बन्धी सम्झौता पत्रमा स्पिनका अध्यक्ष सुमन शाक्य र वस्त्रालयका प्रोप्राइटर निम जोशीले आइतबार आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर गरे । सम्झौता अनुसार वस्त्रालयले आयोजकलाई ५ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराउने छ ।

कुल लागत १९ लाख ५० हजारमा वस्त्रालयले ३० प्रतिशत रकम उपलब्ध गराउन लागेको हो । यसअघि आयोजकले मुख्य प्रायोजकका रुपमा भ्याली कन्स्ट्रकसनसँग सम्झौता गरिसकेको छ । भ्यालीले आयोजकलाई ९ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउनेछ ।

सोही अवसरमा डीएचएस स्पोर्ट्स नेपालले प्रतियोगिताका लागि अफिसियल बल प्रदान गर्ने पनि जानकारी दिइयो । डीएचएसका प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक एवं प्राविधिक निर्देशक विनोद शाक्यलाई बल हस्तान्तरण गरे ।

प्रतियोगिता सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ । प्रतियोगितामा पुरुषतर्फ २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता रहनेछ भने महिलातर्फ ८ टिमका ९० खेलाडी सहभागी हुनेछन् ।

पुरुष-महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

पुरुष-महिला सिंगल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । शीर्ष १६ वरियतामा रहेका खेलाडीले सहभागिताको अवसर पाउने छैनन् । भेट्रानमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पाउनेछन् । टिम च्याम्पियन वडालाई ५० हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिता चैत ७ गतेसम्म चल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment