Comments Add Comment

रोनाल्डोको कीर्तिमान, पेलेको बधाई

२ चैत, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा युभेन्ट्सले इटालियन सिरी मा काग्लियारीमाथि सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।

रोनाल्डोले ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए । खेलको १०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै अग्रता दोब्बर पारे । ३२औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरे भने पहिलो हाफमा युभेन्ट्सले ३-० को अग्रता बनायो ।

६१औं मिनेटमा जियोभानी सिमिओनीले काग्लियारीका लागि एक गोल फर्काए ।

काग्लियारीविरुद्धको ह्याट्रिकपछि रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।

रोनाल्डोले आधिकारिक खेलमा ७७० गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७६७ गोल रहेको छ । कीर्तिमान तोडेपछि ब्राजिलियन लिजेण्ड पेलेले रोनाल्डोलाई बधाईसमेत दिएका छन् ।

पेलेले जीन्दगी एक्लो फाइट भएको र हरेकले आफ्नो यात्रा तय गर्ने भन्दै रोनाल्डोको यात्रा सुन्दर रहेको बताए । उनले रोनाल्डोको प्रशंसा गर्दै उनको खेल हेर्न मन पराउने बताए । साथै पेलेले आफ्नै कीर्तिमान तोडेकोमा रोनाल्डोलाई बधाई दिए ।

जितपछि युभेन्ट्सले २६ खेलबाट ५५ अंक जोडेको छ र दोस्रो स्थानको एसी मिलानसंग अंकदूरी १ मा झारेको छ । एसी मिलान नापोलीसँग पराजित भएको थियो ।

युभेन्ट्सले झै उक्त खेल कम खेलेको छ ।

काग्लियारी २७ खेलबाट २२ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment