Comments Add Comment

मेघराज केसी अब फ्रेन्चाइज फुटबल टिमको प्रशिक्षक

२ चैत काठमाडौं । घरेलु फुटबलमा ए डिभिजनका विभिन्न क्लब सम्हालिसकेका मेघराज केसी अब फ्रेन्चाइज फुटबलको प्रशिक्षक हुने भएका छन् ।

मेघराजले केही समयअघि अब क्लबको प्रशिक्षक नबन्ने बताएका थिए । तर उनी फेरि क्लब फुटबलमा फर्कने भएका हुन् । आगामी वैशाख ११ देखि सुरु हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग एनएसएलमार्फत मेघराजले टोली सम्हाल्न लागेका हुन् ।

एनएसएलमा प्रशिक्षक बन्ने पक्का भएपछि उनले फेसबुकमा एनएसएलमा अनुबन्धित भएको सार्वजनिक गरेका छन् । तर कुन टिममा भन्ने खुलाएका छैनन् ।

पछिल्लो पटक मेघराजले ए डिभिजन क्लब थ्री स्टार हेरेका थिए । त्यसपछि उनले क्लब फुटबल नै छाड्ने घोषणा गरेका थिए । उनी आफ्नै एकेडेमी खोल्ने अभियानमा समेत लागिरहेका छन् ।

तर फुटबलसँगको नाता र पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबलमा मेघराज प्रशिक्षक बन्न लागेका हुन् । उनलाई धेरै टिमबाट अफर आएपनि एक टिममा ‘फिक्स’ गरेको बताए । अब छिट्टै उक्त क्लबले सार्वजनिक गर्ने उनले बताए ।

‘फुटबलमा धेरै नाता जोडिएको छ । त्यसैले एनएसएलबाट प्रस्ताव आयो । यसमा म पनि एउटा टिममा जोडिँदै छु ।’ मेघराजले अनलाइनखबरसँग भने । उनले घरेलु फुटबलमा धेरै सफलता हात पारिसकेका छन् । यस्तै मेघराज राष्ट्रिय टिमको सहायक प्रशिक्षकसमेत भइसकेका छन् ।

मेघराज केसी

पीएलए स्पोर्ट्स क्लबबाट कोचिङ करियर सुरु गरेका मेघराजले मछिन्द्र क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, फ्रेण्ड्स क्लब र त्रिभुवन आर्मी क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

मेघराजबाहेक अन्य नाम चलेका प्रशिक्षकको नाम पनि एनएसएससँग जोडिएको छ । तर फ्रेन्चाइजले प्रशिक्षकको नाम घोषणा गर्न बाँकी छ ।

राष्ट्रिय टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनदेखि एन्फा महिला फुटबल विभाग प्रमुख हरि खड्कासम्मको नाम एनएसएलको लागि प्रशिक्षकमा जोडिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment