
२ चैत, काठमाडौं । ललितपुरको वाग्मती गाउँपालिका–७, गिम्दीमा पढ्ने १५ वर्षीया बालिकालाई करणी गरेको भन्दै पक्राउ परेका व्यक्तिविरुद्ध किटानी जाहेरी परेको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविनको हेल्पलाइनले संरक्षकका रुपमा किटानी जाहेरी दिएको हो ।
जाहेरी नपरेका कारण प्रहरीले पक्राउ परेका व्यक्तिलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो ।
प्रहरी परिसर, ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार जाहेरीपछि करणी सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान थालिएको छ । बालिकाको प्रारम्भिक स्वास्थ्य परीक्षणले उनी गर्भवती भएको खुलिसकेको छ । तर, दबावका कारण उनले प्रहरीमा जाहेरी नदिएको भनिएको थियो ।
‘पीडितलाई अहिले काउन्सिलिङका लागि एउटा संस्थामा राखेका छौं’, बज्राचार्यले भनिन्, ‘प्रहरी अनुसन्धान जारी छ ।’ बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले पनि सिविनबाट जाहेरी दिएर कानुनी प्रक्रिया अघि बढाउने निर्णय बताएको बताए ।
पक्राउ परेका व्यक्ति करणीमा परेकी बालिकाको आफन्त भएकाले प्रहरीले परिचय गोप्य राखेको छ ।
प्रतिक्रिया 4