Comments Add Comment

करेसा बारीमा मेवा रोप्ने सिजन : के–के कुरामा ध्यान दिने ?

मेवा समुद्री सतहदेखि करिब १००० मिटरको उचाइ आसपासमा फल्ने एउटा बहुउपयोगी फलफूल हो । फागुनको अन्तिम र चैतको पहिलो साता घरमै मेवा रोप्न सकिने मौसम हो । यसका अलावा असार र असोज महिना पनि मेवा रोप्नको लागि उपयुक्त समय मानिन्छ ।

त्यसो त मेवाको बिरुवा मौससमले साथ दिएसम्म वर्षभरि रोप्न सकिन्छ । मेवा तेज तातो वा सुक्खा बतास लाग्ने क्षेत्रमा रोप्नु हुँदैन । फल पाक्ने समयमा मौसम सुक्खा भएमा फल स्वादिलो हुन्छ । फल बढ्नको लागि उपयुक्त तापक्रम २५ देखि ३० डिग्री सेन्टिग्रेडको बीचमा हुनु उपयुक्त हुन्छ ।

अधिक जाडो हुने महिनाबाहेक फागुन, असार, असोज महिनाहरु मेवाको बिरुवा रोप्नको लागि उत्तम हुने डा. शान्ता कार्की र डा. गोविन्द रिजालले राष्ट्रिय फलफूल विकास केन्द्रलाई बुझाएको प्राविधिक पुस्तकमा उल्लेख छ ।

मेवाको महत्व

बहुउपयोगी मेवाको फल अत्यन्त स्वादिलो हुन्छ । पाकेको फल सोझै खाने गरिन्छ त कलिला फलहरूबाट तरकारी, अचार वा क्यान्डी बनाउन प्रयोग गरिन्छ । यसरी मेवाले खाद्य तथा पोषण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ । एक कप (१४५ ग्राम) मेवाको चानाबाट १६ ग्राम कार्बोहाइड्रेटस, २.५ ग्राम फाइबर, ११ ग्राम चिनी, सोडियम ११.६ मिलीग्राम, भिटामिन सी ८८.३ मिलीग्राम, प्रोटिन १ ग्राम र चिल्लो पदार्थ १ ग्राम भन्दा कम हुन्छ । मेवा कम क्यालोरी भएको फल हो, १०० ग्राम मेवाले ४३ क्यालोरी दिन्छ, यसैले मेवा ज्यादै स्वस्थकर खाना मानिन्छ ।

मेवामा पाइने खनिज, पोटेसियम, तामा र म्याग्नेसियम फाइबर, फ्लाभोनोइड जस्ता एन्टिअक्सिडेन्ट पोषक तत्वले शरीरमा विभिन्न रोग प्रतिरोध क्षमता बढाउँछ । मेवामा भएको पोषक तत्वले हृदय प्रणालीको स्वास्थ्यलाई बढावा दिनु, पेटको क्यान्सरविरूद्ध संरक्षण प्रदान गर्नु, पाकेको फल जन्डिसका रोगीहरुले सेवन गर्नु राम्रो हुने र यसको नियमित सेवनले आँखाको दृष्टि शक्ति बढाउने समेत चिकित्सकहरु बताउँछन् ।

के हो मेवाको विरुवा रोप्ने विधि ?

नर्सरीमा तयार गरिएका बिरुवालाई जरा नचुँडिने गरी उखेलेर एउटा खाल्डामा रोप्नुपर्छ । आफैँले उत्पादन गरेको बीउ हो भने एउटा खाल्डोमा ३ वटासम्म बिरुवा राखेर रोप्नुपर्छ । तर लिङ्ग परीक्षण गरिएको भनि मान्यता प्राप्त वा विश्वासिलो निकायबाट प्राप्त बीउलाई भने एउटा खाल्डोमा एउटा मात्रै राख्न सकिन्छ ।

प्लास्टिक थैलामा तयार गरेको बिरुवालाई प्लास्टिक हटाई प्लास्टिकमा ल्याएको माटोसहित रोप्नुपर्छ । प्लास्टिकको साटो माटोमा सजिलै कुहिने अर्गानिक थैलो प्रयोग गरेको भए थैलोसँगै रोप्न सकिन्छ । बिरुवा रोपेपछि बोट सोझो राखेर वरिपरिबाट माटोले राम्ररी थिच्नुपर्छ र रोपेको एकघण्टा भित्रै पहिलो सिँचाइ दिनुपर्छ ।

बीउको लागि राखिएको फलको बोक्रा ९० प्रतिशत पहेँलो भएर पाकेको हुनुपर्छ । फल टिपेपछि हल्लाउनु हुँदैन । धारिलो छुरीले फल ठाडो गरी दुई फ्ल्याक पारेर घाम लाग्ने, सिँचाइको सुविधा भएको, पानी नजम्ने, तुषारो नपर्ने जमिनमा लगेर रोप्नुपर्छ । मेवा रोप्न छानिएको जमिनको झारपात हटाएर सफा गर्नुपर्छ र राम्ररी जोतेर माटो तयार पार्नुपर्छ । मेवा रोप्न छानिएको जमिन हावाहुरी नलाग्ने खालको हुनुपर्छ । आफ्नो करेसाबारीमा मेवा रोप्दा हुरीको बेग रोक्ने बार निर्माण गर्नुपर्छ ।

आफैँले बिरुवा उत्पादन गर्न के गर्ने ?

आफैँले मेवाको बिरुवा उत्पादन गर्न चाहनेले प्लास्टिकको थैलामा बिरुवा उत्पादन गर्न सक्छन् । यसको लागि सुरुमा एकै ठाउँमा धेरै बिरुवालाई एकैपटक हुर्काउन सकिन्छ । बिरूवा बढ्दै जाँदा दुरी कायम गर्दै जानुपर्छ । प्लास्टिकको थैलामा चौडाइ १५ सेमि र उचाइ २० सेमि भएको प्लास्टिकको थैला प्रयोग गर्नुपर्छ । प्लास्टिक थैलामा स–साना प्वाल बनाउनुपर्छ । राम्ररी कुहेको गोबर मल, माटो र बालुवा बराबर मात्रामा मिसाएर थैलोमा भर्नुपर्छ । प्रत्येक थैलोमा ४–५ ओटा बीउ रोप्नुपर्छ । बीउहरु उम्रेपछि ३ ओटा बिरुवा राखेर अरु अर्को खाली थैलोमा सार्न मिल्छ । नियमित रूपमा मल, जल दिनुपर्छ । नर्सरीको बिरुवा ओइलाउने रोगको लक्षण देखिएमा १ प्रतिशत बोर्डो मिक्चर वा ०.२ प्रतिशत कपर अक्सिक्लोराइड छरेर रोकथाम गर्न सकिन्छ । बिरुवाहरु २५–३० सेमि अग्ला वा दुई महिना पुगेपछि सार्न योग्य हुन्छन् ।

बीउदेखि बीउसम्म १० सेमिको दुरी र १ सेमि गहिराइमा बीउ रोपेर पराल वा पातपतिङ्गरले मल्चिम्ग गरी, माटोको चिस्यान निरीक्षण गरी आवश्यकता अनुसार हल्का सिँचाइ गर्नुपर्छ । जात अनुसार बोट रोपिने भएकाले सोही अनुरुप बिउको मात्रा हिसाब गरिन्छ । सामान्यता एक हेक्टर जमिनको लागि ४००–५०० ग्राम बीउको आवश्यकता पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment